'भृकुटीमण्डप आसपास ध्वनि प्रदूषण नगर'
काठमाडौः सर्वोच्च अदालतले भृकुटीमण्डपभित्र र आसपासका क्षेत्रमा ध्वनि प्रदूषण हुने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस, नेपाल मानविकी क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि विद्यापीठ, काठमाडौं शिक्षा क्याम्पस, पद्मोदय माध्यमिक विद्यालय र काठमाडौं मोडल अस्पताल समेतमा अध्ययन, अध्यापन र उपचारमा असर पुगेको भन्दै विद्यार्थीद्वय सुलभ खरेल र समृत खरेलले हालेको रिटमा सर्वोच्चले विपक्षीका नाममा आइतबार यस्तो आदेश दिएको हो ।
नेपाल ल क्याम्पसमा दोस्रो वर्षमा अध्ययनरत खरेलद्वयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिकाको कार्यालय र समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिका १८ घर भई हाल काठमाडौं बस्दै आएका २० बर्से सुलभ र झापाको बाह्रदशी गाउँपालिका ५ घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षे समृतले नेपालको संविधान २०७२ को धारा १३३ (२) र (३) बमोजिम परमादेश वा प्रतिषेधलगायत आवश्यक आदेश जारी गरिपाऊँ भनी चैत ३० गते रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चले कारण देखाऊ आदेशसँगै भृकुटीमण्डप क्षेत्रको ट्राफिक अस्तव्यस्ता हुन नदिन पनि आदेश दिएको छ ।
उहाँहरूले १० हजारभन्दा बढी विद्यार्थी विभिन्न कार्यक्रम र तहमा अध्ययन गर्ने र धेरै बिरामी उपचारार्थ आउने गरेकाले ध्वनि प्रदूषणका कारण विविध समस्या भएको रिटमा उल्लेख गर्नुभएको थियो । राष्ट्रिय सभागृह र सामुन्नेको सडकमा नियमित महाधिवेसन, सभा, सम्मेलन, प्रदर्शनीजस्ता विभिन्न ठूला, साना कार्यक्रम भइरहने भएकाले विद्यार्थी, बिरामी र सरोकारवालाको अधिकारसमेत हनन भएको भन्दै रिट दायर गरिएको थियो ।
रिट निवेदक सुलभले आइतबार आइन्दा यस्तो काम रोक्नू भन्दै सर्वोच्चले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘रोक्नु मात्र होइन, विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी भएको छ । भृकुटीमण्डप क्षेत्रको ट्राफिक अस्तव्यस्त हुन नदिन पनि आदेश दिएको छ ।' अर्का निवेदक समृतले ती ठाउँमा गरिने विविध कार्यक्रममा जुट्ने भीडका कारण अत्यधिक चाप हुने गरेको, हुलहुज्जत हुँदा शान्ति सुरक्षा, सुव्यवस्था तथा शैक्षिक वातावरणमा खलल पुग्ने गरेको जानकारी दिनुभयो ।
‘सवारीसाधन शिक्षण संस्था र अस्पताल परिसरमा पार्किङ गर्नाले विद्यार्थी, अध्यापक, कर्मचारी, स्वास्थ्यकर्मी, बिरामीलगायतले पार्किङ गर्न नपाएको र ट्राफिक अव्यवस्था सिर्जना भएकाले रिट दायर गरेका थियौं', उहाँले भन्नुभयो, ‘पूर्वाधार र सञ्चालनका दृष्टिबाट जीर्ण बन्दै गएका शिक्षण संस्थाका शौचालयलगायतको दुरवस्था भएको र सार्वजनिक यातायातका सवारीसाधनको आवतजावतसमेत प्रभावित भएपछि उपचार खोजेका थियौं ।'
भृकुटीमण्डप क्षेत्रमा गरिने कार्यक्रममा ठूलो र चर्को आवाज प्रसारण हुँदा नजिकैका शिक्षण संस्थाको अध्यापन, अस्पताल सञ्चालन र बिरामीको उपचारसमेत नराम्ररी प्रभावित हुने गरेको निवेदकद्वयको भनाइ छ । उहाँहरूका अनुसार संविधानले प्रत्येक नागरिकलाई धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ (ङ) मा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने हक, धारा १८ (१) मा कानुनको समान संरक्षणको हक, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३१ मा शिक्षासम्बन्धी हक र धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक प्रत्याभूत गराएको सन्दर्भमा ध्वनि प्रदूषणले कक्षा र अस्पताल सञ्चालन एवं सवारी अव्यवस्थाका कारण आवतजावत प्रभावित र अवरूद्ध भएकाले मौलिक हक कुण्ठित भएको छ ।