कसरी बच्ने कालाजारबाट ?
एक दिनअघि मृत्यु भएकी विपन्न मुसहर बस्ती ईश्वरपुर- २ राइटखोरकी रामदुलारीदेवी माझीको शव जिल्ला अस्पताल मलंगवामा अलपत्र रहेको खबर सञ्चारमाध्यममा आएको थियो । नातागोता १३ जना र परिवारै पाँचजना थलिएर अस्पताल शड्ढयामा छन् भने पति जानकी पत्नीको सद्गत तथा अन्य परिवारको उपचारका लागि गरिबीका कारण सरकारी सहयोगको प्रतीक्षामा थिए । १७ वर्षीय दिपेश एक्लिएका छन् । प्रजिअको निर्देशनमा मृतकको अन्तिम संस्कार त भएको छ, तर अन्यको बारेमा सबै मौन छन् ।
त्यसो त नौ दिनअघि नै नथुनीको कालाजारबाटै मृत्यु भएको थियो । नथुनीका पत्नी गंगादेवीले यस्तै रोगबाट आठजनाको मृत्यु भइसकेको बताउँछिन्, जुन तथ्य काठमाडौंबाट गएको टोलीले पनि पुष्टि गरिसकेको छ । नजिकैका स्वास्थ्य चौकी प्रायः बन्द रहने तथा उपकरण तथा दक्ष जनशक्तिबिनाका निजी क्लिनिकले रोग निकोभन्दा व्यथा बढी जटिल र मृत्यु भएको बताइन्छ । बस्ती जंगलछेउ छ, सरसफाइ र खानेपानीको अभाव छ, त्यसैमा स्वास्थ्य सचेतना शून्यप्रायः छ । संक्रमणबाट बच्न बाँडिएको झुल पनि पोखरीमा हाँसपालन र माछा मार्ने काममा दुरुपयोग भएको छ । जिल्ला अस्पतालका सबै शड्ढया कालाजारका बिरामीले भरिएपछि बिरामीलाई भुइँमै राखी उपचार गरिँदैछ र रोकथामको लागि गाउँमै शिविरको व्यवस्था पनि मिलाइएको बताइन्छ ।
विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार विश्वमा करिब ३५ करोड २० लाख मानिस कालाजारको जोखिम भएका क्षेत्रमा बसोवास गर्छन् । त्यसमध्ये पनि करिब एक करोड ३० लाख मानिस यो रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ । बर्सेनि १५ देखि २० लाख नयाँ रोगी थपिँदै जान्छन् । कालाजार विश्वको ७६ वटा विकासोन्मुख तथा १३ वटा अति कम विकसित मुलुकमा गरी ८९ देशमा पाइएको छ । कालाजारबाट बढी प्रभावित भएका मुलुकमध्ये नेपाल पनि एक हो । भारतसँग सिमाना जोडिएका पूर्वीतराईका बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर गरी जम्मा १२ जिल्ला कालाजारको जोखिममा छन् ।
भारतसँग सिमाना जोडिएका पूर्वीतराईका बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर गरी जम्मा १२ जिल्ला कालाजारको जोखिममा छन् ।
रोग : कालाजार एक किसिमको प्रजिवाणु लैसमनिया डेनोभनीको कारणबाट हुने रोग हो । यो प्रजिवाणु कुकुर, स्याल, फ्याउरो, दुम्सी, मुसा तथा अन्य स्तनधारी जनावरको शरीरमा विकसित हुन्छ । त्यहाँबाट फ्लेबोटोमिइस जातको पोथी स्यान्डफ्लाइ भुसुनामा सर्छ र उक्त भुसुनाले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । खेतबारीमा काम गर्दा, वनजंगलमा घाँस-दाउरा गर्दा, खोला, ताल, पोखरीवरिपरि काम गर्दा, माछा मार्दा यस भुसुनाले मानिसलाई टोक्ने सम्भावना अधिक हुन्छ ।
लक्षण तथा चिन्ह : रोग सबै उमेरकामा हुन सक्ने भए पनि प्रायः दस वर्ष मुनिकामा बढी पाइन्छ । महिलाभन्दा पुरुष दोब्बरले बढी पीडित रहेको देखिन्छ । साथै घरबाहिर खेतीपातीमा संलग्न मानिसमा बढी आक्रमण भएको पाइन्छ । कालाजारको लक्षण औलो रोगसँग पनि मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबिना यसको पहिचान हुन गाह्रै पर्छ ।
संक्रमित स्यान्डफ्लाईले स्वस्थ व्यक्तिलाई टोकेपछि लगातार ज्वरो आउनु ९९ प्रतिशतमा यसको प्रमुख लक्षण हो । तर भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र प्रायः देखिन्छ, तर दुईदेखि आठ महिनापछि र केहीमा त दस÷बाह्र वर्षमा मात्र रोगको लक्षण देखा पर्न सक्छ । भुसुनाले टोक्नासाथ सबैलाई कालाजार रोग लाग्छ भन्नेचाहिँ छैन र यो प्रत्येक व्यक्तिको रोग-प्रतिरोधात्मक क्षमतामा भर पर्छ ।
कालाजारका लक्षण : दुई हप्ताभन्दा बढी समयदेखि मन्द ज्वरो आइरहन्छ र एकै दिनमा बढ्ने र घट्ने हुन्छ । पसिना आउँछ । छालामुनि फोका उठी छालाको तहमा घाउ बन्छ । घाँटी तथा काखीका ग्रन्थि सुन्निन्छ । फियो र कलेजो ठूलो भई पेट पनि घैंटोजस्तो ठूलो हुने र दुख्ने गर्छ । कमजोरी र आलस्य महसुस हुन्छ ।
शरीर निकै दुब्लो भई पातलो हुन्छ । कुपोषणले प्रतिरोधात्मक शक्तिमा ह्रास ल्याई अवसरवादी जीवले पटकपटक संक्रमण गर्ने गर्छ । टाउकोका रौं झर्न थाल्छन् । खान मन लाग्दैन । तौल घट्दै जान्छ । रगतको कमी हुने र रक्तअल्पताले बिरामी फुस्रो, पहेंलो देखिने गर्छ । अनुहार, हात, खुट्टा तथा पेटको छाला सुख्खा हुने, खस्रो देखिने र कालो हुँदै जाने गर्छ । झाडाबान्ता हुन्छ । खोकी लाग्छ । बिरामी साह्रै कालो, दुब्लो र कमजोर भई क्षयरोग, निमोनिया, आउँ जस्ता संक्रमणले जटिल अवस्था निम्तिन सक्छ ।
उपचार : भुसुनाको टोकाइबाट रोग लागिसकेको अवस्था छ र कालाजार पोजिटिभ देखिए पनि फियो सुनिएपछि मात्र उपचार थालिने भएकाले तत्कालै स्वास्थ्य संस्था लैजानुपर्छ । रोगले ठूलो रूप लिएको अवस्थामा विशेष किसिमको उपचार आवश्यक पर्छ । कालाजारविरुद्ध दिइने सुई सोडियम एन्टिमोनी स्टिबो ग्लुकोनेट एक महिनासम्म लगातार दिइन्छ । पहिलोले निको नभएमा दोस्रो प्रकारको सुई फन्जिजोन लगातार चौध दिनसम्म दिइन्छ । यी दुवै सुई सरकारले निःशुल्क उपलब्ध गराएको छ ।
बच्ने उपाय : रोग सार्ने भुसुना अँध्यारो र फोहोर ठाउँमा बस्ने हुनाले घरवरपर सरसफाइ गर्नुपर्छ । सधैं झुल टाँगेर मात्र सुत्नुपर्छ । साँझ परेपछि घरबाहिर बस्दा हातखुट्टासहित पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । घरगोठमा भएका मुसाका प्वाल र भित्तामा भएका चिरा (दरार) हरूलाई लिपपोत गरी राम्रोसँग टाल्नुपर्छ । घरवरपर गोठमा डीडीटी छर्कनुपर्छ ।
सकेसम्म गाई-भैंसी भएको गोठमा नसुत्ने र सुत्नैपरे झुल लगाएर सुत्नुपर्छ । सम्भव भएसम्म माथिल्लो तलामा सुत्नुपर्छ किनभने स्यान्डफ्लाई भुसुना भुइँतलामा बढी बस्ने र नौ फिट भन्दामाथि राम्रोसँग उड्न सक्दैन । साँझ वा राति सुत्दा या बस्दा शरीरका खुला भागमा निम या तोरीको तेलमा मिसाई बनाइएको तेल लगाउँदा पनि स्यान्डफ्लाई भुसुनाले टोक्दैन । घरभित्र जनावरहरू राख्नु हुँदैन । घरवरिपरि चारैतिर सफासुग्घर राख्नुपर्छ । वनजंगलमा घाँस, दाउरा गर्न जाँदा, खेतबारीमा काम गर्दा, ताल तथा नदीकिनारमा माछा मार्दा भुसुनाको टोकाइबाट जोगिनुपर्छ । दैनिक खानपान, जीवनशैली र व्यवहारमा पनि संयमता अपनाउनु त्यत्तिकै जरुरी छ ।