मकवानपुरका नेताको चुनावी एजेन्डाः सुरुङमार्गदेखि समृद्ध मकवानपुरसम्म
हेटौंडाः १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा पार्टीको राष्ट्रिय मुद्दासँगै मकवानपुरका राजनीतिक दलहरूले जिल्लालाई समृद्ध बनाउने महत्वकांक्षी योजना अघि सारेका छन् । दलहरूले आफ्नो दलीय एजेन्डामा २० तले टावरदेखि सुरुङ मार्ग निर्माणसम्मको विषय समेटेका छन् ।
रेडियो थाहा सञ्चारले हेटौंडामा आयोजना गरेको ‘स्थानीय निर्वाचनमा दलहरूको एजेन्डा' विषयक अन्तत्र्रिmयामा आफ्नो दलको एजेन्डा सार्वजनिक गर्दै प्रमुख राजनीतिक दलका नेताले मकवानपुरलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसले एक गाउँ, एक प्राविधिक शिक्षा, जिल्लालाई पर्यटन नगरी बनाउने, सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, जग्गा प्लटिङ अन्त्य गर्ने र सडक सुविधा बढाउने एजेन्डा अघि सारेको छ । ‘हामीले सुन्दर र समृद्ध मकवानपुरको परिकल्पना गरेका छौं', कांग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले भन्नुभयो, ‘जिल्लाको पूर्वी क्षेत्रबाट सुरु भएको विकासको लहर जिल्लाभर फैलाउँछौं ।'
नेकपा एमालेले शिक्षा, पर्यटन, सडक र कृषिलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । एमाले मकवानपुरले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा, पढ्न नपाएकालाई गाउँमै पूर्ण निःशुल्क शिक्षाको व्यवस्था, सुविधासम्पन्न एकीकृत बस्ती विकास, हेटौंडालाई नमुना सहरको रूपमा विकास गर्नुका साथै उत्तरी मकवानपुरलाई नेपालकै सबैभन्दा ठूलो पर्यटकीय स्थल बनाउने एजेन्डा अघि सारेको छ ।
साथै महिलालाई स्थानीय तहको प्रमुख स्थानमा लैजाने, प्रत्येक गाउँपालिकामा आन्तरिक पर्यटन उद्योग स्थापना गर्ने, जिल्लाभर सुविधा सम्पन्न सडक विस्तार र एक गाउँ एक उत्पादनलाई प्राथमिकता दिने एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । ‘समृद्ध मकवानपुर हाम्रो एजेन्डा हो', उहाँले भन्नुभयो, ‘हामी स्थानीय निकायमा नहँदा पनि जिल्लाको विकासमा लागि परेकै थियौं, अब थप जिम्मेवारीका साथ काम गर्छौं ।'
नेकपा माओवादी केन्द्रले युवालाई रोजगारी र बेरोजगारलाई भत्ता दिने एजेन्डा अघि सारेको छ । माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामीले युवा पलायन हुने क्रम रोकी जिल्लाको विकासमा अघि बढ्ने बताउनुभयो । साथै भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण, किसानलाई कृषि पेन्सन, फ्रि वाईफाई तथा आन्तरिक पर्यटनको प्रवद्र्धन र जिल्लाभर सुविधा सम्पन्न सडक सञ्जाल विस्तार गर्ने एमाओवादीको प्रतिबद्धता छ । ‘माओवादीकै एजेन्डा माओवादी नेतृत्वकै सरकारमा कार्यान्वय हुँदैछ', उहाँले भन्नुभयो, ‘सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुग्दै गर्दा माओवादीले देखेका सपना पूरा गर्न जनताले साथ दिन्छन् भन्ने विश्वास छ ।'
राप्रपाले भने हेटौंडामा चक्रपथ निर्माण, तीन सय सय शड्ढयाको अस्पताल, औद्योगिक क्षेत्र विस्तार, गाउँपालिकामा प्राविधिक शिक्षा, सुविधा सम्पन्न सडक विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । ‘हामी भन्ने मात्र होइन गरेर देखाउँछौं', राप्रपाका जिल्ला अध्यक्ष रामहरि न्यौपानेले भन्नुभयो, ‘कांग्रेस र कम्युनिस्टले गरेको विकास जनताले देखेका छन्, अब हामी मकवानपुरको नेतृत्व गर्छौ ।'
भ्रष्टाचार र सुशासनको पक्षमा वकालत गर्दै आएको नेकपा मालेले भ्रष्टाचार र सुशासनयुक्त मकवानपुर निर्माण गर्ने एजेन्डा अघि सारको छ । साथै मालेले हेटौंडा नगरलाई पर्यटकीय विकासका लागि २० तले भ्यू टावर निर्माण, राप्ती खोलाको चौकीटोलबाट बसामाडी लेबटसम्म बाँध बाँधेर उक्त क्षेत्रमा एकीकृत बस्ती र पर्यटकीय क्षेत्र बनाउने, जिल्लाको पर्यटकीय क्षेत्र विस्तारका लागि गुरुयोजना निर्माण गरी काम गर्ने, गुम्बाडाँडालाई कलाको पर्यटकीय स्थाल बनाउने र हेटौंडामा सुविधा सम्पन्न अन्डरग्राउन्ड पार्किङ स्थल बनाउने जनाएको छ । माले मकवानपुरका सचिव भीमसेन महतले उक्त एजेन्डा निर्वाचन लक्षित मात्र नरहेको भन्दै जिल्लाको समग्र विकासमा माले लागि पर्ने बताउनुभयो ।
नयाँ शक्ति मकवानपुरले जिल्लामा ठूलो प्रोजेक्ट सुरुवात गर्ने जनाएको छ । नयाँ शक्ति पार्टी मकवानपुरका सहसंयोजक विवेक वाइवाले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विशेष प्याकेज लागू गर्ने, मकवानपुरलाई औद्योगिक जिल्ला बनाउन पहल गर्ने बताउनुभयो ।