जरामा कला
हुन त पेसाले उनी राजनीतिज्ञ र कानुन व्यवसायी हुन् तर उनको लुकेको परिचय भने बेग्लै छ । सिन्धुली कमलामाई नगरपालिका-४ ढकाल गाउँका विश्वम्भर लामिछानेले जरामा कला भरेर कलाकारको छुट्टै पहिचान बनाएका छन् । उनले रूखको जरालाई खोपेर/ताछेर विभिन्न आकृति बनाई सजाउन थालेको २३ वर्ष भइसक्यो ।
सुकेका रूखका जरालाई आफ्नो कलामार्फत जर्बुटा कला संरक्षण केन्द्र नाम दिई उनले आफ्नै घरको कोठामा दुई सय ५० भन्दा बढी आकृति सजाएर राखेका छन् । २३ वर्षअघि थालेको कला रोप्ने अभियान अविराम चलिरहेको छ । उनको कलाको प्रशंसा सिन्धुलीमा मात्र सीमित छैन । स्वदेश तथा विदेशमा समेत फैलन थालेको छ । सिन्धुली घुम्न र काम विशेषले आउने जो-कोही उनको कला केन्द्र जाने गरेका छन् । सिन्धुलीमा आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि सिन्धुलीगढी र जुर्वटा कला केन्द्र नै मुख्य आकर्षणका केन्द्र हुन् ।
लामिछाने माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् । उनी राजनीति र कानुन व्यवसायभन्दा रूखका जरामा कला उतार्न पाउँदा मन प्रफुल्लित हुने बताउँछन् । मानवीय रोदन, क्रन्दन, दुःख, पीडा, अभाव, माया , प्रेम सबै कुरा उनले जराका मूर्तिमा उतारेका छन् । एक छोरा र दुई छोरीका बाबु विश्वम्भरले श्रीमती प्रसिद्धालाई देखाउँदै भने, ‘उनले जन्माएका सन्तानलाई व्यवस्थापन गरिसकिन् तर मैले जन्माएका सन्तान व्यवस्थापन गर्न सकेको छैन ।' ५५ वर्षीय लामिछानेको यो कलायात्रालाई उनकी धर्मपत्नी र परिवारले निकै साथ दिएका छन् ।
केही वर्षअघि काठमाडौं कला प्रदर्शनी र सिन्धुली महोत्सवमा उनले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए । उनको कलालाई सबैले तारिफ गर्छन् । दर्जन बढी स्थानीय स्तरका पुरस्कार तथा सम्मानबाट सम्मानित उनले आफ्ना कलालाई संरक्षण गरिदिन सरकारसँग माग गरेका छन् ।
पेसा बेग्लै भए पनि सिन्धुली कमलामाईका विश्वम्भर लामिछानेले जरामा भरिएका कलामार्फत प्रतिभा देखाइरहेका छन् ।
भविष्यमा यी जराका कृतिको संरक्षण नहुने हो कि भन्ने उनमा चिन्ता छ । ‘मेरा सिर्जना हेर्न आउनेलाई चिया खुवाएर पठाउने गरेको छु । शुल्क लिने गरेको छैन । हालसम्म ७ लाख जतिले मैले सिर्जना गरेका कला अवलोकन गरिसकेका छन्', उनले भने, ‘म कानुनको विद्यार्थी तर मैले अन्तरमनले नै यी सिर्जना गरेको हुँ ।
मलाई यसबाट निकै आत्मसन्तुष्टि मिलेको छ ।' एउटा जरालाई आकृतिमा ढाल्न कम्तीमा एक हप्ता लाग्छ सबैभन्दा नेपालको गरिबी झल्किने मूर्ति बनाउन ६ महिना लागेको उनले अनुभव सुनाए । ‘जराले पहिल्यै केही आकृति दिएको हुन्छ, त्यसैलाई मैले फिनिसिङ गर्ने मात्र हो', उनले भने, ‘जरा नकुहियोस् भनेर चप्रा, स्प्रिड र इनामेल लगाउने गरेको छु । जरामा कला भर्न पाउँदा छुट्टै आनन्द लाग्दो रहेछ ।' जुर्वटा कला संरक्षण केन्द्रलाई प्रतिष्ठानका रूपमा विकास गर्ने उनको योजना छ ।
कलाकार लामिछानेले सिर्जना गरेका आकृति निकै मन छुने र कलात्मक भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति अशोक श्रेष्ठ बताउँछन् । चैत २७ र २८ गते सिन्धुलीमा सम्पन्न नेपाल रेडक्रसको ४६ आं
महाधिवेशनमा ७५ जिल्लाबाट आएका प्रतिनिधिलाई जर्वुटा कला केन्द्रको अवलोकन गराएको सभापति श्रेष्ठले बताए । जिल्लाभित्र र बाहिरबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटक कलाकेन्द्र नपुगेर फर्किए सिन्धुलीको भ्रमण अपुरो हुने समाजसेवी शकुन्तला श्रेष्ठ बताउँछिन् । ‘लामिछाने सरको कलाकृति साँच्चिकै मर्मस्पर्शी छन्', उनले भनिन्, ‘यसको व्यवस्थित संरक्षण र प्रचारप्रसार गर्न सके भावी पुस्ताका लागि पनि सम्पत्ति हुनेछ ।'