जागिर खोज्न सामाजिक सञ्जाल
फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल अहिले नेपाली युवामाझ लोकप्रिय छन् । आफ्ना साथीसंगीसँग सम्बन्ध बनाइराख्न, कुनै घटनाबारे विचार व्यक्त गर्न र आफ्ना गतिविधि जानकारी गराउन सामाजिक सञ्जालको बढी प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाललाई तीबाहेक अन्य कामका लागि पनि उपयोग गर्न सकिन्छ । त्यसमध्ये एक जागिर खोज्न हुन सक्छ ।
कहाँ, कुन पोस्टको निम्ति जागिर खुलेको छ भन्ने थाहा दिन सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ । अहिले अधिकांश रोजगारप्रदायक आफूलाई आवश्यक कर्मचारी खोज्न सामाजिक सञ्जाल प्रयोग गर्छन्, त्यसैले यो रोजगार खोज्ने राम्रो माध्यम हुन सक्छ । त्यसबाहेक सामाजिक सञ्जालले तपाईंको सीप अभिवृद्धि गर्न र क्षमता प्रदर्शन गर्न पनि सघाउ पुर्याउन सक्छ । विभिन्न सामाजिक सञ्जाललाई रोजगार खोज्न आफ्नै ढंगले उपयोग गर्न सकिन्छ ।
ट्विटर
ट्विटर छोटा सन्देश प्रवाह र प्रसार गर्ने प्लेटफम हो । मानिस यो प्लेटफमलाई अरू व्यक्ति र संघसंस्थासँग सम्पर्क कायम गर्न, रुचिका विषयबारे जानकारी पाउन प्रयोग गर्छन् । उद्यमीले आफ्नो सेवा र उत्पादनको प्रचार गर्न र मानिसलाई आकर्षण गर्न ट्विटर प्रयोग गर्छन् । यदि, तपाईं ट्विटरमा जागिर खोज्दै हुनुहुन्छ भने व्यावसायिक बन्नुहोस् । ट्विटर एकदमै अनौपचारिक मञ्च हो तर यदि तपाईं ट्विटरमार्फत रोजगार प्रदायकको ध्यान आफूतिर आकर्षित गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस् । तपाईंले आफूलाई जति आकर्षक र व्यावसायिक ढंगले प्रस्तुत गर्न सक्नुहुन्छ त्यति नै जागिर पाउने सम्भावना बढी हुन्छ ।
तपाईंले ट्विट नै गर्नुपर्छ भन्ने पनि छैन । केवल कम्पनी र आवश्यक विषय फलो गरेर रिट्विट गरे हुन्छ । आफ्नो रुचिको क्षेत्र त्यसबारे भइरहेका घटनाबारे अद्यावधिक भएको जनाउन ट्विट गरे झन् राम्रो हुन्छ । तपाईंको ट्विटर प्रोफाइलमा आकर्षक फोटो, सटीक बायो र तपाईंको बायोडाटाको लिंक हुनु राम्रो हुन्छ ।
फेसबुक
फेसबुकले सन् २०१६ को मध्यमा जारी गरेको एक रिपोर्टअनुसार डेढ अर्ब जति मानिसले फेसबुक प्रयोग गर्छन् । यो अति लोकप्रिय सामाजिक सञ्जालमा व्यक्तिगत प्रोफाइल बनाउन, अरू प्रयोगकर्तालाई साथीका रूपमा जोड्न र आवश्यक सन्देश प्रवाह गर्न सकिन्छ । तपाईं यसमा मन परेको समूहमा आबद्ध हुन सक्नुहुन्छ ।
एकदमै अनौपचारिक माध्यम भए पनि ठूलो संख्याले प्रयोग गर्ने भएकाले संस्थाले फेसबुकलाई व्यावसायिक उद्देश्यका लागि प्रयोग गर्छन् । धेरै संस्थाले आफ्ना कर्मचारी र उपभोक्तासँग सम्पर्क कायम गर्न यसको उपयोग गर्छन् । कतिपय संस्थाले त फेसबुकबाटै कर्मचारी छनोट पनि गर्छन् । फेसबुकमा मानिसबीचका सीमा निकै कमजोर हुन्छन्, त्यसैले तपाईंलाई जो-कोहीले जुनसुकै बेला पनि ख्याल गर्न सक्छ भन्ने ध्यान दिनुहोस् ।
तपाईंले फेसबुकबाटै आवश्यक जागिर खोज्न सक्नुहुन्छ । त्यसका लागि रोजगारप्रदायकसँग सम्पर्क पनि गर्न सक्नुहुन्छ ।
सबैभन्दा ध्यान दिनुपर्ने, यदि कुनै रोजगारप्रदायकले फेसबुकबाट जागिर उपलब्ध गराइरहेछ भने ऊ पक्कै पनि आफ्ना जागिरेको सामाजिक सञ्जालमा भएको उपस्थितिबारे गम्भीर छ । त्यसैले फेसबुकमा केही पोस्ट गर्नुअघि गम्भीर बन्नुहोस् ।
(एजेन्सीको सहयोगमा)