एक्ली रिक्सा चालक

 एक्ली रिक्सा चालक

जनकपुरधामः अटो रिक्साको स्टेरिङ समातेर नगर क्षेत्रमा यात्री खोज्दै हिँड्ने लीलावती राम जनकपुर उपमहानगरपालिकामा रिक्सा चलाउने एक्ली महिला हुन् । नगर क्षेत्रमा सयौं रिक्सा चालक प्रतिदिन ओहोरदोहोर गर्दा केही विशेष नलागे पनि लीलावतीले चलाएको रिक्सा जुन बाटोबाट हिँड्छ एकपटक सबैको आँखा अवश्य पुग्ने गर्छ ।

तर, उनी सामान्य रूपमा यात्रीलाई कहाँ जाने, कहाँसम्म छाडिदिऊँ भन्ने प्रश्न सोध्दै रिक्सामा ओहोरदोहोर गरिराखेकी हुन्छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाभरिमा १२ सयभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । यति धेरै रिक्साको भीडमा महिला चालक लीलावती मात्रै रहेको ट्राफिक धनुषाका प्रमुख हरिनन्दन चौधरी बताउँछन् ।

यसरी रिक्सा चलाउने, यात्रुवाहक सवारीसाधन हाँक्ने मधेसी महिला निकै कम छन् । त्यसमा पनि जनकपुर बजारमा त कोही पनि नरहेको अवस्थामा लीलावतीले जीवनयापनका लागि यो पेसा रोजेकी हुन् । लीलावतीले यो पेसा रहरले चयन गरेकी भने होइनन् । मोरङ जिल्लाको दुहबीमा अति नै विपन्न परिवारमा जन्मिएकी मधेसी परिवारकी लीलावतीले घरमा छाक टार्नसमेत गाह्रो भएपछि ११ वर्ष पहिला साथीहरूसँगै कुवेत गएकी थिइन् । कुवेतमा काम गर्ने क्रममा उनको भेट धनुषा जिल्लाको लखौरी निवासी जमुना पण्डितसँग भयो । भेटघाट प्रेममा परिवर्तित भएर उनले पण्डितसँगै विवाह गरिन् ।

विवाह भइसकेपछि आफूले कमाएको पैसा पण्डितलाई नै दिन थालिन् । विस्तारै उनले आफ्नो कमाइको करिब ९ लाख रुपैयाँ पण्डितलाई सुम्पिइन् । पण्डितकै भनाइमा उनले लखौरीमा ४ कठ्ठा जग्गा पनि किनिन् । पण्डितले लीलावतीलाई कुवेतबाट धनुषा पठाए । पण्डितको कुरा मानेर जनकपुर आइपुगेकी लीलावती उनको ससुराली पुगिन् तर त्यहाँ पण्डितका बुबाआमाले उनलाई दलित र तल्लो जात भन्दै घरमा पस्नसमेत दिएनन् ।

वैदेशिक रोजगारीबाट कमाएको रकम पतिले कुम्ल्याएर छाडिदिएपछि सडकमा आइपुगेकी जनकपुरकी लीलावती रामले रिक्सालाई जीवनयापनको स्रोत बनाइरहेकी छन् ।


सानै छँदा आमा गुमाएकी लीलावतीले विदेशमै भएका बेला बुबाको मृत्यु भएको खबर पाएकी थिइन् । आफूले कमाएर दिएको रकम र जग्गासमेत पण्डितले ठगी गरेर राखेपछि १३ महिनाको दूधेबालकसहित लीलावती सडकमा आइपुगिन् । उनले जनकपुरमा कामको खोजी गर्न पनि निकै संघर्ष गर्नुपरेको सुनाइन् । सोही क्रममा उनलाई महिलाको हक अधिकारका लागि काम गर्ने संस्था ओरेक नेपालबारे जानकारी भएर त्यहाँ पुगेको र हाल ओरेक नेपालकै सहयोगमा रिक्सा चलाउने तालिम लिएर काम थालेको उनले बताइन् ।

 

अहिले रिक्सा चलाएर दैनिक ४ सयदेखि पाँचसयसम्म कमाइ गरिराखेकी लीलावती बिहान १० बजे रिक्सा लिएर हिँड्दा १३ महिनाका छोरा अनिशलाई ओरेक नेपालको कार्यालयमै छाड्ने गर्छिन् । बिहानदेखि बेलुका पाँच बजेसम्म रिक्सा चलाउने र त्यसपछि छोराको लालनपालन गर्ने गरेकी लीलावतीलाई मिहिनेत गरे केही पनि असम्भव छैनजस्तो लाग्छ ।

उनी भन्छिन्, ‘म धेरै पढेलेखेकी पनि छैन, श्रीमान्ले पनि छाडेपछि जीवन चलाउन निकै गाह्रो भएको छ । तर, आफूजस्तै अवस्थामा पुरुषले रिक्सा चलाएर, मजदुरी गरेर जीवन धान्न सक्छन् भने आफू किन नसक्ने भन्दै काम थालेकी हुँ ।' रिक्सा चलाउन सुरुमा केही कठिन लागे पनि आफूजस्तै समस्यामा परेका अन्य चार जना महिला पनि ओरेकबाट तालिम लिइराखेको र उनीहरू पनि चाँडै बजारमा निस्कने हुनाले साथीहरूको हौसला पाएर काम गर्न सहज हुँदै गएको उनले बताइन् ।

म्हिलाले सहयोग र हिम्मत पाए उनीहरू समाजमा आफ्नो जीविका चलाउने जति काम गर्नलाई जस्तोसुकै परिस्थितिमा सक्षम रहेको लीलावती बताउँछिन् । आफ्नो रिक्सामा बस्ने अधिकांश यात्रीले आफूलाई हौसला दिने गरेको र मधेसी महिला भएर पनि यति हिम्मतको काम गरेको भन्दै प्रशंसासमेत गर्ने गरेकाले यसबाट थप उत्साह पाएको लीलावतीले बताइन् ।

विदेशमा बिहे गरेर सबै कमाइ ठगी स्वदेश फर्किएपछि छाडेका श्रीमान् पण्डितविरुद्ध उनले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी छन् । आफ्नो छोरालाई बुबाको नाम दिलाउन तथा आफ्नो सम्पत्ति फिर्ता पाउन न्यायालय पुगेको उनले सुनाइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.