अम्रिसोखेतीमा किसानको आकर्षण

अम्रिसोखेतीमा किसानको आकर्षण

बनेपा : खेर गइरहेको भीरपाखा र कान्लामा लगाएको अम्रिसोको फूलको कुचो बनाएर काभ्रेका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । थोरै लगानी र कम मेहनतमै अम्रिसोबाट लाखौं रुपैयाँ कमाउन थालेसँगै किसान आकर्षित भएका हुन् ।माहाभारत गाउँपालिकाका ४७ वर्षे किसान रामप्रसाद तिमल्सिना राम्रो आम्दानी गरेको बताउनुहुन्छ ।

'कम लागानी र थोरै मेहनत गरे पुग्ने भएकाले बाँझो पाखा र बारीमा अम्रिसो लगाइ वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्छु । अम्रिसोको फूलबाट कुचो सँगसँगै बोट र पात गाईभैसीको लागि घाससमेत हुने भएकाले पशुपालनबाट पनि आम्दानी राम्रो छ', तिमल्सिनाले भन्नुभयो, 'यसैबाट मेरो घरखर्च र छोराछोरीको पढाइ चलाउँदै आएको छु ।' वर्षमा दुई चार दिनमात्र खटे पुग्ने र बाँकी रहेको अन्य समय विभिन्न क्षेत्रमा काम गर्ने गरेको तिमल्सिनाले बताउनुभयो । तिमल्सिनाले उत्पादित अम्रिसोको पूmललाई कुचो बनाइ काडमाडौं, भक्तपुर, ललितपुर जिल्लाका विभिन्न स्थानमा ५० देखि ७० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।

 

तिमिल्सिनाजस्तै सन्देम तामाङ पनि कुचोको व्यापार गरेर वार्षिक चार लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । 'ग्रामीण भेगमा उत्पादन भएको अम्रिसोको फूललाई किसानबाट संकलन गरी कुचो बनाइ बिक्री गर्ने गरेको छु ।' उनले थपे, 'यसबाट सबै खर्च कटाएर वार्षिक चार लाखभन्दा बढी मुनाफा हुने गरेको छ ।' तामाङका अनुसार कुचोको बजारमा प्रसस्त माग रहेको तर मागअनुसारको उत्पादन हुन नसकेका कारण समस्या हुने गरेको छ । तामाङले उपत्यकालगायत विभिन्न जिल्लाका बजारमा कुचो पुर्‍याउने गरेका छन् । उक्त व्यवसायबाट तमाङको परिवारसँगै चार जनालेसमेत रोजगारी पाएका छन् ।

अम्रिसोको बोटबाट फूल थुतेर एक हप्ता सुकाएपछि बिक्रीका लागि तयार हुन्छ । कम लागत र परि श्रमबाट उत्पादित अम्रिसोको फूलले राम्रो मूल्य पाएपछि जिल्लाका विभिन्न स्थानका किसान यस खेतीतर्फ आर्कर्षित हुँदै गएका छन् । भीरपाखामासमेत पाइने अम्रिसो भिरालो पाखाबारीमा भूक्षय नियन्त्रणका लागि राम्रो मानिएको बनस्पती हो । बहुउपयोगी अम्रिसो यतिखेर स्थानीय कृषकका लागि घरखर्च टार्ने राम्रो आम्दानीको स्रोत बन्न सफल बनेको छ ।

सबै क्षेत्रमा एउटै मूल्य नभई व्यापारीअनुसार फरक फरक मूल्य भए पनि कुचो नबिक्ने समस्या नभएको कृषक छविलाल तामाङको भनाइ छ । व्यपारीले किसानको घरबाट नै कुचो संकलन गरेर लाने भएकाले बिक्री गर्न कुनै समस्या छैन । गाईभैसीको घाँसका लागि प्रयोग हुने हुनाले बजार मूल्यले अम्रिसोखेतीमा खासै प्रभाव नपर्ने किसान बताउँछन् । न्यून लगानीबाट राम्रो आम्दानी लिन सकिने कुचोको मूल्य गत वर्षको तुलनामा यस वर्ष उच्च भएको कुषकको भनाइ छ ।

बारीको कान्लामा लगाइने अम्रिसो भूक्षय नियन्त्रणका लागि पनि अति उपयोगी मानिन्छ । कृषकले अम्रिसोखेती प्रवद्र्धनका लागि कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् । अम्रिसोखेतीमा लागेका कृषकलाई विभिन्न तालिम तथा निःशुल्क बिरुवा उपलब्ध गराउने हो भने पनि भिराला पाखाबारीको भूक्षय कमी हुनुका साथै पशुपालनमार्फत थप आम्दानी हुने किसानको भनाइ छ । जिल्लाका महाभारत क्षेत्रको पहाडी भूभाग, डाँडापारी क्षेत्र, च्याम्राङबेसी, मिल्चे, साल्धारा, बनखु बुढाखानी फोक्सीङटार, कलाती भूमिडाँडालगायतका क्षेत्र अम्रिसोका लागि पकेट क्षेत्रका रूपमा रहेको जिल्ला पशु विकास कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा वार्षिक ४० टनभन्दा बढी अम्रिसोको कुचो बिक्री हँदै आएको छ ।


 



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.