पोखरामा कविता कन्सर्ट
पोखराः ‘तपाईंहरू सबै गम्भीर देख्छु', सम्बोधनअघि उनी बोले, ‘गम्भीर मान्छेहरूसँग साह्रै डर लाग्ने मान्छे हुँ म ।' अनि फेरि थपे, ‘गम्भीर हुन आवश्यक छैन, मलाई त गम्भीरहरूको अघि पर्यो कि ज्वरो आउँछ ।' त्यसपछिमात्रै कवि उपेन्द्र सुब्बाले कविता सुनाउन सुरु गरे । सुरुमै सायद शीर्षक कविता पाठ गरे । त्यसपछि फेरि बोले, ‘म पाँचथरे लिम्बू, पोखरामा आएर पालम नसुनाई के फर्कनु !'
उपेन्द्रका अनुसार पालम गाउँदा ‘तिमीलाई म मन पराउँछु' भन्ने पालो सात दिनमा आउँछ । साह्रै लामो शैलीको गीत हुने उनले सुनाए । ‘हाम्रो नामचाहिँ खराबै राख्छ लिम्बूहरू', फेरि ठट्टा गरे उनले । त्यसपछि मेरो आमाको नाम शीर्षक कविता वाचन गरे । पब्लिक इभेन्टले शनिबार कवि उपेन्द्र सुब्बासहित मोमिला र विप्लव ढकाललाई कविता कन्सर्टमा उभ्याएको थियो । तीनै कविले पालैपालो तीनतीनवटा कविता सुनाए । मोमिलाले पानीपानी भयो, भीमसेन थापाको सुसाइड नोट र विप्लवले भ्यागुताको बिहेसहितका कविता वाचन गरे ।
कन्सर्टमा कविता वाचन र गायनलाई एकसाथ प्रस्तुत गरिएको थियो । कन्सर्टमा इतु जोजिजूले आदिकवि भानुभक्तको कविता ‘घाँसी' र श्रवण मुकारुङको ‘ल्याम्पपोस्ट' कविता गाइन् । गायक कर्णदासले कवितामा बालक नै भएको सुनाए । उनले लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री' र तीर्थ श्रेष्ठको ‘आमा' कविता गाए । लोचन भट्टराईले शिरोमणि लेखनाथ पौडेलको ‘पिँजडाको सुँगा' र भीमनिधि तिवारीको कविता ‘दागबत्ती' गाएकी थिइन् ।