जबर्जस्ती चुनाव गर्दा द्वन्द्वः गृहमन्त्री
काठमाडौंः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसी मोर्चालाई सहमतिमा नल्याई स्थानीय चुनाव गर्दा द्वन्द्व बढ्ने बताउनुभएको छ । संसद्को राज्यव्यवस्था समितिको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री निधिले राजनीतिक सहमतिमा दुई चरणको निर्वाचन गर्नुपर्ने अवस्था आए पनि सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो । ‘मधेसी मोर्चालाई सहमतिमा नल्याई चुनाव त गराउन सकिएला तर त्यसबाट द्वन्द्व उत्पन्न हुन सक्छ,' निधिले भन्नुभयो । नीतिगत रूपमा सरकार एकै चरणको निर्वाचनको पक्षमा रहे पनि मोर्चालाई सहमतिमा ल्याउन दोस्रो चरणको निर्वाचनमा पनि सहमति जनाउनुपर्ने उहाँले बताउनुभयो ।
मधेसी मोर्चालाई चुनावमा ल्याउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याए पनि मोर्चा र विपक्षी एमालेले मुलुकको संवेदनशीलता नबुझेको निधिले आरोप लगाउनुभयो । बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको काम धमाधम अघि बढिरहेको भन्दै राजनीतिक वातावरण बनाउन दलहरूको ध्यानाकर्षण गराउनुभयो । जिल्लामा मतपत्र पुर्याउने जिम्मा नेपाली सेनालाई दिइने यादवले जानकारी दिनुभयो ।
मतपत्रमा चुनाव चिह्न माग गर्दै आन्दोलनरत नयाँ शक्तिलगायत दलको माग सम्बोधन गर्न नसकिने यादवले बताउनुभयो । स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाअनुसार नै संसद्मा रहेका दललाई मात्र दलीय चुनाव चिह्न दिएर मतपत्र छाप्ने काम अन्तिम चरणमा पुगेको प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो ।
केही दलले मतदाता नामावली संकलनको कुरा गरे पनि निर्वाचनको मिति घोषणा भइसकेपछि नयाँ मतदाता नामावली संकलन गर्न नसकिने कानुनी प्रावधान बुझिदिन पनि प्रमुख आयुक्त यादवले आग्रह गर्नुभयो ।