माओवादीले तोक्याे धरानका सबै उमेदवार
धरान : माओवादी केन्द्रले बैशाख ३१ गतेहुन लागेको स्थानीय निकायको निर्वाचनका लागि धरान उप-महानगरपालिकाको मेयर र उपमेयरको उमेद्वारको नाम सार्वजनिक गरेको छ । माओवादी केन्द धरानले सोमवार पत्रकार सम्मेलन गरी धरान उप-महानगरपालिकाको मेयरका लागि अइन्द्रविक्रम बेघा र उपमेयरमा कमला अधिकारी (चेतना) लाई निर्वाचनमा उमेद्वार उठाउने घोषना गरेको छ ।
माओवादीले स्थानीय निर्वाचनमा धरानका २० वटै वडाका वडाअध्यक्षहरुको उम्द्वारको नाम समेत सार्वजनिक गरेको छ । माओवादीले धरानको मेयरको उमेदवारका लागि बेघाको नाम सर्वसम्मतिमा सिफारिस गरेपनि उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरेको छ । माओवादीले उपमेयरका लागि लक्ष्मी प्रधान र गंगा बरालको पनि सम्भावना भएको भन्दै नाम सिफारिस गरेको छ । तीन जनाको नाम सिफरिस गरिएपनि कमला अधिकारीलाई नै उठाउने लगभग निश्चित भएको केन्द्रका एक नेताले बताएका छन् ।
केन्द्रले धरानको १ नम्बर वडामा चन्द्रप्रसाद बजगाई, २ नम्बरमा रमेश राई, ३ नम्बरमा सर्बजित राई, ४ नम्बरमा चन्द्रबहादुर कुलुङ, ५ नम्बरमा धनकुमार राई, ६ नम्बरमा धनबहादुर तामाङ, ७ नम्बरमा धनकुमार कन्द्ङ्वा, ८ नम्बरमा झमक मगर, ९ नम्बरमा विजय पौडेल, १० नम्बरमा नरबहादुर लिम्बु, ११ नम्बरमा कमला राई, १२ नम्बरमा भुवन हाङगाम, १३ नम्बरमा लेखराज श्रेष्ठ, १४ नम्बरमा सुरेन्द्र गौतम, १५ नम्बरमा दिलबहादुर रामदाम, १६ नम्बरमा हिमाल कार्की, १७ नम्बरमा सुर्यबहादुर भट्टराई, १८ नम्बरमा मानबहादुर राई, १९ नम्बरमा सन्त तेम्बे र २० नम्बरमा सम्फर तामाङलाई वडाअध्यक्षको उमेद्वार बनाउने घोषना गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै धरानका मेयर पदका प्रत्यासी बेघाले आफू धरानको मेयरमा निर्वाचित भए धरानको समग्र विकासका लागि महत्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आफू निवार्चित भए धरानको विमानस्थल, बसपार्क निर्माण, रंगशाला निर्माण, खानेपानी, सडक र सर्दु जलाधार क्षेत्रको संरक्षण गरी सुकुम्वासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने र पानमारामा औद्योगिक करिडोर स्थापना गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
उमेद्वार घोषणा कार्यक्रममा केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ्ग मेन्याङबोले यसपटकको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उमेद्वारले विजयीहासिल गरी धरानको विकासलाई द्रुतगतिमा अगाडि बढाउने दावी गर्नुभयो। पहिलो संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ को धरानबाट विजयी हासिल गरेको माओवादी दोस्रो संविधान सभा निर्वाचनमा तेस्रो स्थानमा झरेको थियो। प्रमुख राजनैतिक दल कांग्रेस र एमालेले भने हालसम्म उमेद्वारको टुंगो लगाउन सकेका छैनन् ।