दुई सातादेखि वेपत्ता युवक मृत भेटिए
जाजरकोटः जाजरकोटमा दुई सातादेखि हराइरहेका एक युवक मृत फेला परेका छन्। त्रिवेणी नलगाड नगरपालिका–१ का ३३ वर्षीय परिमल विश्वकर्मा शिवालय गाँउपालिका–१ छेडागाडमा सोमवार मृत फेला परेका हुन्।
छेडाखोलाको खोल्सामा मृतकको शव भेटिएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो। गन्ध आएपछि खोज्दै जाँदा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। अध्ययनको सिलसिलामा पाल्पाबाट फर्कने क्रममा उनी गत चैत २३ गते छेडाबजारबाट एक्कासी हराएका थिए। घरपरिवारले खोजी गरिदिन भन्दै निवेदन दिएपछि प्रहरीले हुलिया जारी गरेर खोजी गरेको थियो।
यातायात सेवा बन्द भएको बेला छेडा भन्ने ठाँउमा रातभर गाडी रोकिएको र पिसाव फेर्ने क्रममा लडेर ज्यान गएको प्रहरीले अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो।