गाउँमा गएर चुनावी वातावरण बनाउनुस्: प्रमुख आयुक्त यादव
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको मिति नजिकिँदै गरेको अवस्थामा समेत राजनीतिक दलका चुनावी गतिविधि आशातीत रुपमा गाउँमा नदेखिएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो,'लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनप्रति सबै राजनीतिक दलबाट आवश्यक रुपमा प्रचारप्रसार र मतदाता शिक्षाका लागि पहल हुनुपर्छ । अब त्यसमा कुनै किसिमको कमीकमजोरी हुनुभएन ।'
अहिले देखिएको राजनीतिक समस्यालाई अविलम्ब समाधान गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै डा यादवले भन्नुभयो,'आयोगले अब तत्कालै निर्वाचनका लागि राजनीतिक वातावरण चाहेको छ।' उहाँले भन्नुभयो,'निर्वाचन आयोग यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बनाएको कार्ययोजनाअनुसार नै अघि बढिरहेको छ। मतदातालाई स्वतन्त्र र भयरहित ढङ्गबाट मतदान गर्ने वातावरण सरकार र राजनीतिक दलले बनाइदिनुपर्छ।'
मुलुकका ७४४ स्थानीय तहमा यही वैशाख ३१ गते आइतबार हुने निर्वाचनका लागि अहिलेसम्म ७१ जिल्लाको मतपत्र, ६७ जिल्लाको मतदाता नामावली र ६० जिल्लाको मतदाता परिचयपत्रको छपाइको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। अहिले मतपत्रलाई पोको पारेर जिल्ला पठाउने, नामावली वेबसाइटमा राख्नेजस्ता काम भइरहेको छ। आइतबार मुलुकका सातै प्रदेशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भयो। रासस