भारतीय 'स्वागत' को चर्को विरोध
काठमाडौं : पाँचदिने भ्रमणमा भारत पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई त्यहाँकी महिला राज्यमन्त्री कृष्णा राजले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार मध्याह्न स्वागत गर्नुभयो । नेपालका राष्ट्रपतिलाई भारतका राज्यमन्त्रीस्तरका पदाधिकारीले स्वागत गर्नु 'अशोभनीय रहेको', 'नेपाल र नेपालीप्रति नै भारतले अपमान गरेको' भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
कात्तिक दोस्रो साता राजकीय भ्रमणमा आउँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमा स्वागत तथा बिदाइ गर्न राष्ट्रपति भण्डारी आफैँ पुग्नुभएको थियो । तर, नेपालकी पहिलो महिला राष्ट्रपति भण्डारीको भारत यात्रामा राज्यमन्त्रीस्तरका अधिकारीबाट स्वागत हुनुलाई 'असमान पूर्ण' भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीलाई भारतीय राज्यमन्त्रीले नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार स्वागत गरिरहेको तस्बिर र भारतीय राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति भण्डारी आफैँले काठमाडौं विमानस्थलमा स्वागत गर्दा खिचाएको तस्बिर तुलना गर्दै विरोध भएको हो । विमानस्थलमा राज्यमन्त्री तहमा अधिकारीले स्वागत गरे पनि राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय सम्मानसाथ राखिएको छ । उहाँको भ्रमण राजकीय भ्रमण हो ।
नेपालका राष्ट्रपति या राष्ट्राध्यक्ष छिमेकी मुलुक भारत जाँदा राज्यमन्त्री स्तरबाट स्वागत गरिएको यो पहिलो घटना भने होइन ।
तर, कूटनीतिक मामिलाका जानकारले यो विरोध उचित नरहेको प्रतिक्रिया दिएका छन् । परराष्ट्र मन्त्रालयका पूर्वशिष्टाचार महापाल गोपालबहादुर थापाले विमानस्थलमा कुन भारतीय अधिकारीलो राष्ट्रपतिलाई स्वागत गर्यो भन्ने विषय प्रधान नरहेको बताउनुभयो ।
'भारतीय पक्षले आफ्नो कूटनीतिक परम्पराअनुसार निर्णय गरेर सरकारका प्रधानमन्त्री, मन्त्री या राज्यमन्त्री जो–कोहीलाई पठाउन सक्छ । कोही पनि भारतीय प्रतिनिधिले विमानस्थलमा स्वागत गरेनन् भने त्योचाहिँ अस्वाभाविक हुन जान्छ कूटनीतिक प्रचलनमा', उहाँले भन्नुभयो । बरु भारतमा राष्ट्रपतिले गर्ने भेटवार्ता र त्यसको उपलब्धि के–कस्तो हुन्छ त्योचाहिँ महत्वपूर्ण हुने उहाँको भनाइ थियो । 'राष्ट्रपतिको आफ्ना समकक्षी या त्यहाँका प्रधानमन्त्रीसँग निर्धारित बैठक या भेटवार्ता अन्तिम समयमा हुन नसकी असहज परिस्थिति बनेको खण्डमा त्यसबाट हाम्रो कूटनीतिक रूपमा बेइज्जती हुन जान्छ', थापाले अन्नपूर्णसँग भन्नुभयो ।
विमानस्थलमा भारतीय पक्षले कसलाई स्वागतमा पठाउँछ भन्ने विषयमा नेपालमा सार्वजनिक बहस हुनु उपयुक्त नरहेको उहाँको भनाइ छ ।नेपालका राष्ट्रपति या राष्ट्राध्यक्ष छिमेकी मुलुक भारत जाँदा राज्यमन्त्री स्तरबाट स्वागत गरिएको यो पहिलो घटना भने होइन । ०६६ सालमा भारत यात्रामा जानुभएका गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवलाई भारतीय विदेश राज्यमन्त्री प्रिनित कौरले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
०६३ पछि नेपालका तर्फबाट भएका राज्य प्रमुख तथा सरकार प्रमुखका भारत भ्रमणमा कहिले त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री, विदेश राज्यमन्त्री त कहिले विदेश मन्त्रालयका शिष्टाचार महापाल तहका पदाधिकारीले समेत विमानस्थलमा स्वागत गरेको पाइन्छ ।
०६३ को लोकतान्त्रिक आन्दोलनलगत्तै सरकार प्रमुख तथा राष्ट्राध्यक्षको हैसियतमा भारत भ्रमणमा जानुभएका गिरिजाप्रसाद कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा स्वागत गर्नुभएको थियो । भारतीय कूटनीतिमा यसरी प्रधानमन्त्री विमानस्थलमै आफैँ गएर विदेशी उच्च नेतालाई स्वागत गर्नुलाई 'प्रोटोकल ब्रेक' का रूपमा लिने गरिएको छ । हालै भारत भ्रमणमा जानुभएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्रीको हैसियतमा ०६५ मा भारत जाँदा तत्कालीन विदेश राज्यमन्त्री सकिल अहमदले विमानस्थलमा स्वागत गर्नुभएको थियो । ०६६ साउनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा तत्कालीन विदेशमन्त्री प्रिनित कौरले उहाँले विमानस्थलमा स्वागत गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयका सहसचिवस्तरका कर्मचारीले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गरेको घटना विरलै थियो । तर, ०६८ सालमा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अखिलेश मि श्राले स्वागत गर्नुभएको थियो ।
०७२ फागुनमा भारतको राजकीय भ्रमणमा जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा ०७३ भदौमा भारत जानुभएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
०६३ यता भारततर्फ भएका नेपालका उच्चस्तरीय भ्रमणमा गिरिजाप्रसाद कोइरालाबाहेक अरूलाई मन्त्री या राज्यमन्त्री स्तरमा स्वागत गरिएको पाइन्छ । तर, दक्षिणी छिमेकी भारतका तर्फबाट ०६३ यता नेपाल आउनुभएका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई विमास्थलमा स्वागत तथा बिदाइ गर्न नेपालका प्रधानमन्त्री र राष्ट्रपति आफैँ गएको देखिन्छ ।
कात्तिकमा भएको भारतीय राष्ट्रपतिलाई विमास्थलमा स्वागत तथा बिदाइ गर्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहाल आफैँ विमानस्थल पुग्नुभएको थियो । सरकारले मुखर्जीको नेपाल आगमनका दिन सार्वजनिक बिदासमेत दिएको थियो । जसको तीव्र विरोध नेपालभित्र भयो ।०७१ साउन १९ मा औपचारिक भ्रमणका लागि नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला आफैं विमानस्थल जानुभएको थियो ।
तर, ०७१ मंसिरमा सार्क शिखर सम्मेलनमा भाग लिने क्रममा नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री मोदीलगायत सार्क देशका सबै शीर्ष नेतालाई तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विमानस्थलमा स्वागत गर्नुभएको थियो । ०५८ पुसमा सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई स्वागत गर्न नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ विमानस्थल पुग्नुभएको थियो ।
उत्तरी छिमेकी चीनमा चाहिँ कुनै पनि विदेशी मुलुकका सरकार या राष्ट्रप्रमुखका भ्रमणमा उपमन्त्रीस्तरका विदेश मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गर्ने चलन छ ।