आत्मविश्वासविहीन अमेरिका

आत्मविश्वासविहीन अमेरिका

संसारका सबै मुलुकले प्रतिरक्षा शीर्षकमा जति रकम खर्च गर्छन्, त्यति अमेरिका एक्लैले गर्दछ । ज्ञान, विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र विकासमा अमेरिकाले गर्ने जति खर्च संसारका बाँकी सबै मुलुकले पनि गर्दैनन् । मानव रोग-व्याधि, कृषि, पशुपालनदेखि अन्तरिक्षसम्बन्धी अध्ययन वा मोबाइल र कम्प्युटरको अपरेटिङ सिस्टम होस् वा फेसबुक, ट्विटर, गुगल, युट्युब वा अत्याधुनिक हतियार प्रणाली सबै क्षेत्रमा स्थापित अमेरिकी नेतृत्व त्यसैको परिणाम हो ।

keshab-bhattaraiत्यसैले अमेरिका संसारका हरेक मुलुकको बजार हो र संसार उसको बजार हो । सीमित क्षेत्रमा बाहेक ऊ बजारमा प्रतिद्वन्द्विताविहीन छ । अमेरिकी उत्पादन आफैंमा विश्वमा स्तर र विश्वासको श्रेष्ठतम मानक हो ।अत्याधुनिक प्रविधियुक्त दारी काट्ने सामानदेखि उन्नत र आधुनिकतम हतियार प्रणाली होस् वा संसारमा देखापर्ने नयाँ-नयाँ रोगहरूको उपचार विधि, प्रविधि र औषधि अमेरिकाले नै विकास र आविष्कार गर्ने गरेको छ । मानव पीडा र कष्टको निदानमा जति योगदान अमेरिकाको छ, त्यति कसैको छैन ।

प्रजातन्त्र, मानव अधिकार, न्याय, स्वतन्त्रता र समानताका मूल्यहरूको नेता र प्रवक्ता बनेको छ अमेरिका । मजदुर हुन् वा पुँजीपति, लेखक, दार्शनिक, वैज्ञानिक, विद्यार्थी, अनुसन्धानकर्ता वा राजनीतिक व्यक्ति सबैको पहिलो सपनाको राष्ट्र हो अमेरिका । हर क्षेत्रमा अमेरिका मानक हो र नायक हो । आधुनिक मानव सभ्यता र मानव कल्याणको लागि अमेरिकाले जति योगदान गर्ने अर्को मुलुक दुनियाँमा छैन ।तिनै कुरालाई सुन्दर, आकर्षक, विवेकसम्मत र वैधानिक तरिकाले उपयोग गर्ने चेतना नै अमेरिकाको शक्ति र सामथ्र्य हो ।

विश्वमा शान्तिको पक्षमा सबैभन्दा शक्तिशाली नेतृत्व अमेरिकाले दिएको छ । शान्तिको लागि युद्धको नेतृत्व पनि अमेरिकाले नै लिएको छ ।तर साथै के पनि हो भने शान्तिको लागि युद्धको नेतृत्व गर्ने सवालमा अमेरिकाले समय-समयमा भविष्य दृष्टि हराएको, आत्मविश्वास गुमाएको र विवेकलाई पराजित गरेको छ । शान्तिको लागि उसले नेतृत्व गरेको युद्धमा शान्ति नै पराजित भएका थुप्रै उदाहरण छन् । प्रजातन्त्र र मानव अधिकारको लागि उसले गरेका लगानीमा प्रजातन्त्र र मानव अधिकार नै हारेका छन् । अमेरिका विश्वको सामाजिक, राजनीतिक, आर्थिक र नैतिक शक्तिको अथाह भण्डार हो, तर अमेरिकाले आफ्नो सैनिक सामथ्र्यको अति प्रयोग गरेर आफ्ना अन्य शक्ति भण्डारलाई अर्थहीन बनाउँदै गइरहेको पनि सत्य हो ।

लाग्छ, अमेरिकाले आफ्नै शक्ति र जीवन मूल्यलाई अनुभव गर्न सकिरहेको छैन । खासगरी शीतयुद्धको समाप्तिपछि अमेरिकाले ती मूल्य र शक्तिहरूलाई प्रतिनिधित्व गरेन, नेतृत्व दिएन । आफ्नो श्रेष्ठ सैनिक सामर्थ्य नै आफ्नो एक मात्र बल हो भन्ने बुझ्न थाल्यो । त्यसले मात्र विश्वमा आफ्नो शक्ति र प्रभाव कायम राख्न सकिन्छ भन्ने अहंकारजन्य भ्रम बाक्लो पार्दै लग्यो ।

विश्व नेतृत्वको दायित्व

दोस्रो विश्वयुद्धपछिको कालखण्डमा खास गरेर राष्ट्रपति ड्वाइट आइजनआवर र जोन केनेडीले भियतनाम युद्ध र क्युबाको मिसाइल संकटबाट अमेरिकाको विश्व नेतृत्वमा संकट निर्माणको थालनी गरे । प्रजातन्त्र र मानव अधिकारका प्रवक्ता अमेरिकाले संसारका कतिपय निर्वाचित सरकारहरू आफ्नो रणनीतिक लक्षमा सहयोगी नभएकै कारण हटाउन सहयोग गर्‍यो र प्रजातन्त्रलाई दसकौंसम्म खण्डित गराइरह्यो । आजको इरान, इराक वा अफगानिस्तान होस् वा सिरिया, लिबिया, इजिप्ट वा अन्यत्र कहीं जहाँ राजनीतिक संकट छ, अस्थिरता छ, गृहयुद्ध छ, त्यहाँ अमेरिकाकै यो वा त्यो भूमिकाले काम गरेको छ ।

हालैको उदाहरण हेरौं ! अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा अमेरिकाले अन्तर्राष्ट्रिय सुरक्षा प्रहरीको भूमिकामा रहन आवश्यक नभएको बताएका थिए तर अप्रिल ६ मा सिरियाली राष्ट्रपति बसर अल-असदले विद्रोही पक्ष र आफ्ना नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउँदै उनले सिरियाको त्यस्तो हतियार भण्डारण गरिएको भनिएको सैन्य हवाई अड्डामा आक्रमणको आदेश दिए र एकैपटक ५९ क्षेप्यास्त्र प्रहार गरियो । त्यस्ता रासायनिक हतियार अमेरिकाको बृहत् सुरक्षा हितविरुद्ध रहेको र तिनलाई हरतरहले रोक्नु अमेरिकाको दायित्व भनियो ।

विवेकसम्मत आशा तथा अपेक्षाहरू र वास्तविक असफलता र निराशाबीचको विरोधाभास अमेरिकामा जति अन्यत्र छैनन् । अमेरिकी कार्यपालिका र व्यवस्थापिकामा यो विरोधाभास अझ प्रखर छ । अमेरिका आफैंप्रति इमानदार छैन र त्यो बेइमानी अमेरिकाको असन्तोषको राँको बनेको छ ।

१४ वर्षअघि इराकसँग आमविनाशकारी हतियार रहेको आरोप लगाएर तत्कालीन राष्ट्रपति जर्ज बुसले इराकमाथि आक्रमण गरे । इराकी राष्ट्रपति सद्दाम हुसेन मारिए, तर त्यस्तो कुनै हतियार भेटिएन । त्यसपछि अमेरिकाले इराकमा एक दसक लामो युद्ध लड्यो । बाराक ओबामाले इराकमा शान्ति कायम भएको र आतंकवाद पराजित भएको भन्दै अमेरिकी सेना फिर्ता गरे, तर लगत्तै इस्लामी अतिवादीहरूले इराक र सिरियामा इस्लामिक स्टेट स्थापना गरेको घोषणा गरे ।

अफगानिस्तानका दुर्गम पहाडी भूभागमा सीमित इस्लामी अतिवादीहरू आज एसिया, युरोप र अफ्रिकाका कुनै पनि मुलुकमा आतंककारी आक्रमण गर्ने क्षमता आर्जन गरिरहेका देखिन्छन् । विश्व व्यवस्थामाथिको सबैभन्दा ठूलो चुनौती बनिरहेका छन् ।सद्दामको पतनपछि इराक र क्षेत्रमा निर्माण भएको शक्ति शून्यतालाई अमेरिकाले त भर्न सकेन र त्यो ठाउँमा इरान र इस्लामिक अतिवादीहरू स्थापित भए ।

१७ वर्षदेखि आफ्नो वास्तविक नियन्त्रणमा रहेको अफगानिस्तानमा इस्लामिक विद्रोहीविरुद्ध गत अप्रिल १३ मा अमेरिकाले संसारको सबैभन्दा ठूलो र बमहरूको आमा भनिने १० हजार किलो वजनको बम प्रहार गर्न पुग्यो ।निर्वाचन अभियानका क्रममा र विजयी भइसकेपछि पनि ट्रम्पले भनेका थिए- अमेरिका अन्तर्राष्ट्रिय प्रहरीको भूमिकामा रहन आवश्यक छैन । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्च प्रशंसा गरेका थिए । पुटिनलाई सशक्त र निर्णय क्षमता भएका महान् राजनेता स्विकारेका थिए ।

पुटिनसँगै मिलेर काम गर्ने संकल्प गरेका थिए । तर ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको तीन महिना पनि नपुग्दै पुटिनको तर्फबाट कुनै नयाँ निर्णय नहुँदै ट्रम्प, पुटिन र दुवै देशका उच्चतम कूटनीतिक नेतृत्वले स्वीकार गरेका छन्- रूस अमेरिका सम्बन्ध शीतयुद्धपछिको न्यूनतम बिन्दुमा झरेको छ । ट्रम्पले पनि सिरिया सवालमा पुटिनको कटु आलोचना गरेका छन् । तेस्रो विश्वयुद्धको सम्भावनासमेत गरिन थालिएको छ ।

त्यस्तै निर्वाचन अभियानको क्रममा ट्रम्पले नाटोलाई थोत्रो अर्थहीन संरचना बताएका थिए, तर हालै आएर नाटोका महासचिवसँगको भेटमा राष्ट्रपति ट्रम्पले नाटोलाई विश्वको शान्ति र सुरक्षाको लागि अत्यन्त प्रभावकारी र महत्वपूर्ण शक्ति भएको स्वीकार गरेकोबारे अप्रिल १२ मा न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । उनले आफ्ना उपराष्ट्रपतिलाई पनि त्यो विश्वास दिलाउन प्रमुख नाटो राष्ट्रहरू र सुरक्षा सम्बन्ध भएका एसियाली मुलुकमा खटाएका छन् ।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका भ्रमणमा थिए । अमेरिकी राष्ट्रपतिले उनलाई फ्लोरिडास्थित आफ्नो स्वामित्वअन्तर्गतको विश्वभर नै सम्भ्रान्तहरूको विलासगृह भनिने ५० बिघामा फैलिएको मरलोगो क्लबमा स्वागत गरे । दुवै नेता भोजनपछिको मिठाईको आनन्द लिइरहेकै बखत अमेरिकी राष्ट्रपतिले सिरियामाथि आक्रमण गर्ने आदेश दिए ।

ट्रम्प अमेरिकापछिको विश्वको सर्वाधिक शक्तिशाली र महत्वपूर्ण राजनेतासँग थिए । मुलुकमा त्यस्तो विशिष्ट अतिथि आएको समयमा त्यस्तो आक्रमणको निर्णय कूटनीतिक मर्यादा र परम्पराविपरीत मानिन्छ । चिनियाँहरू यस्तो मामिलामा निकै संवेदनशील हुन्छन् । त्यसमाथि सिरियाली गृहयुद्धमा चीन राष्ट्रपति बसर अल-असदको पक्षमा छ ।

ट्रम्पले उत्तरकोरियामाथि आक्रमणको चेतावनी दिएका छन् । निसन्देह उत्तरकोरियाको शासन बर्बर र क्रूर छ । क्षेत्र र विश्वका लागि एउटा त्रासदीको रूपमा रहेको छ । उसले विकास गरेको आणविक इन्धनयुक्त क्षेप्यास्त्र प्रणालीले दक्षिण कोरिया र जापानमाथि त कहर बर्साउने क्षमता राख्छ नै, जर्मनीका पूर्व विदेशमन्त्री जोस्च्का फिसरले यही अप्रिल ४ मा प्रोजेक्ट सिन्डिकेटमा उल्लेख गरे अनुसार त्यस्तो उत्तर कोरियाली क्षेप्यास्त्रले अमेरिकाका पश्चिमी तटका सहरहरूलाई समेत ध्वस्त गर्न सक्छ ।

तर राष्ट्रपति ट्रम्पले बुझेको हुनुपर्छ- एक त उत्तरकोरिया इराक, लिबिया वा सिरियाजस्तो परम्परागत सैन्यबलमा मात्र निर्भर मुलुक नभएर आणविक हतियारले समेत सम्पन्न मुलुक हो । चीनजस्तो शक्तिशाली मुलुकसँग सीमा जोडिएकाले उत्तरकोरियामाथिको आक्रमणको बहुआयामिक असर सजिलै अनुमान गर्न सकिँदैन । स्मरण रहोस्, सन् १९५० को कोरियाली युद्धमा कमजोर र निर्धन चीन तथा शक्तिहीन उत्तरकोरियासँगको युद्धमा पनि अमेरिकाले विजय प्राप्त गर्न सकेको थिएन ।

 

उत्तरकोरियाको अर्थतन्त्र सम्पूर्णरूपमा चीनमाथि निर्भर छ । उत्तरकोरिया चीनको लागि राजनीतिक र सैनिक बोझ पनि बनिरहेको छ । ऊसँग चीन असन्तुष्ट पनि छ, तर दक्षिणकोरिया र जापानसँगको सम्बन्धको चरित्रले चीनको लागि उत्तरकोरिया एउटा रणनीतिक साधनको रूपमा रहेको छ । त्यसैले चीनको जापान, दक्षिणकोरिया र अमेरिकासँगको सम्बन्धमा व्यापक सुधार नआउन्जेल उत्तरकोरियामाथि चीनले निर्णायक दबाब रणनीति अवलम्बन गर्न सम्भव देखिँदैन ।

विदेश नीति

गत माघ १७ गते यसै दैनिकमा प्रकाशित पंक्तिकारको लेखमा 'ट्रम्पको विदेश नीतिका सीमा' अन्तर्गत लेखिएको थियो- अमेरिकी विदेश नीति निर्माण र कार्यान्वयनमा कांग्रेस, विदेश तथा रक्षा मन्त्रालयको विराट् संरचना, सेना र सुरक्षा एजेन्सीहरूको विशाल शक्ति र प्रभावसँगै शक्तिशाली तथा प्रभावकारी थिंक ट्यांक र मिडियाहरू प्रत्यक्ष-परोक्षरूपमा क्रियाशील रहेका हुन्छन् । त्यसैगरी विभिन्न मुलुकहरूसँगको सैनिक सम्बन्ध, ती मुलुकका सैनिक र सुरक्षा एजेन्सीहरूबाट प्राप्त हुने सूचना, जानकारी र अनुभवहरू नै अमेरिकाको सैन्य सामथ्र्य र पुँजीमा रूपान्तरण हुने गर्दछ । त्यो सामथ्र्य स्वतः विदेश नीतिमा अनुवाद हुन्छ ।

त्यसैले उक्त लेखको निष्कर्षको रूपमा उल्लेख गरिएको थियो, 'अमेरिकी राष्ट्रपति मुलुकको विदेश नीतिका प्रमुख निर्माता, प्रयोक्ता र प्रवक्ता हुन्, तर स्वामी होइनन् । यो कुरा डोनाल्ड ट्रम्पले नबुझेका भए छिट्टै बुझ्नेछन् ।'

ट्रम्पले बुझ्न थालेको देखियो, तर त्यो बुझाइमा अमेरिकाको आत्मविश्वास, राष्ट्रिय विवेक र क्षमताको योगदान अनुभव भएको छैन ।विश्व अराजक र अस्थिर हुँदै आइरहेको छ । यो अराजकता र अस्थिरताको स्थिति अन्त्य गर्ने दायित्वको नेतृत्व अमेरिकाबाहेक अर्को मुलुकको लागि आगामी धेरै वर्षसम्म सम्भव छैन । कमजोर र आत्मविश्वासविहीन अमेरिका विश्वको हितमा त छैन नै, अमेरिकाका प्रतिद्वन्द्वी राष्ट्रहरूको हितमा पनि छैन ।

तर अमेरिकाले त्यो विश्वासको जोहो गर्न सकिरहेको छैन । शीतयुद्धमा उसको विजयलाई उसले वास्तविक विजयमा रूपान्तरण गर्न सकेन । शक्ति राष्ट्रहरूबीचको सम्बन्धलाई स्थिरता प्रदान गर्न नसकिएकाले नै आजको विश्वमा बहुआयामिक संकट निर्माण भएको हो ।यसको समाधान भनेको शान्ति प्रवद्र्धन गर्ने र संकट तथा चुनौतीहरूलाई सफल सम्बोधन गर्ने उच्च कूटनीतिक क्षमता हो । त्यो क्षमतासहितको आत्मविश्वास प्रदर्शन नगर्ने र समग्र विश्वको प्रमुख शान्ति र स्थिरताको भर र बल नबन्ने छुट अमेरिकालाई छैन ।

अमेरिका विश्व राजनीतिमा निर्णायक हैसियतमा उपस्थित नहुँदै साढे सात दसकअघि १७ फेब्रुवरी १९४१ मा हेनरी लुइसले लाइफ पत्रिकामा जे लेखेका थिए, त्यो नै अमेरिकाको वास्तविक मार्गचित्र हो ।
लुइसले लेखेका थिए- अमेरिकीहरू अरूको तुलनामा शौभाग्यशाली छन्, सम्पन्न छन्, जीवनका सबै सुखसुविधा उनीहरूलाई प्राप्त छ तर पनि संसारको कुनै पनि कुनाका मानिसका रोग, पीडा र व्यथालाई अमेरिकाले आफ्नै रोग र पीडा मान्ने गरेको छ ।

अमेरिकीहरू आफ्ना कतिपय समस्या समाधान गर्न अत्यन्त दुःखद रूपमा नै असफल रहने गरेका छन्, तर पनि मानिसका असफलताहरूलाई अन्यत्रको तुलनामा अमेरिकाले ज्यादै कम मात्रै क्षमा दिने गरेको छ । विवेकसम्मत आशा तथा अपेक्षाहरू र वास्तविक असफलता र निराशाबीचको विरोधाभास अमेरिकामा जति अन्यत्र छैनन् । अमेरिकी कार्यपालिका र व्यवस्थापिकामा यो विरोधाभास अझ प्रखर छ । अमेरिका आफैंप्रति इमानदार छैन र त्यो बेइमानी अमेरिकाको असन्तोषको राँको बनेको छ ।

विभिन्न कालखण्डमा युद्ध र शान्तिका बृहत् सवालमा अमेरिका आफैंप्रति, मित्रहरूप्रति, ऐतिहासिक तथ्यहरूप्रति र आफ्ना भविष्यप्रति इमानदार रहेन । यो बेइमानीमा राजनीतिक नेताहरू चुर्लुम्म डुबेका छन् । तर उनीहरूमाथि मात्र दोष थोपरेर पार पाइन सक्ने अवस्था छैन । अमेरिकी नेताहरूले जनतालाई ढाँटेका, छलेका र विश्वासघात गरेका छन् भने बुझ्नुपर्छ, त्यो अमेरिकी जनता र बौद्धिक समुदायकै कारण हो । अमेरिकीहरूको नैतिक र बौद्धिक भ्रम र अन्योल नै नेताहरूको बेइमानीको स्रोत हो भन्ने लुइसको निष्कर्ष थियो ।

उनी थप भन्छन्- अमेरिकीहरू संसारमा सबैभन्दा बढी सुसूचित मानिस हुन् । त्यसैले समस्या तथ्य र सत्यमा होइन, समस्या तथ्य र सत्यका आधारमा अमेरिकाले निकाल्ने निष्कर्षहरूमा छ ।लुइसले उक्त लेखमा के पनि उल्लेख गरेका छन् भने अमेरिका आफ्नो भूमिको सुरक्षाको लागि मात्र युद्ध लडिरहेको छैन, विश्वका प्रजातन्त्र र स्वतन्त्रताका मूल्यहरू रक्षाको लागि र मित्रहरूको सम्मान र सुरक्षाको लागि पनि लडिरहेको छ । त्यस्तो लडाइँमा धेरै अमेरिकीहरूले प्राणको बलिदान दिनुपर्ला, मुलुक टाट पल्टिने स्थितिमा पनि पुग्ला तर पनि त्यो युद्ध लड्नु अमेरिकाको दायित्व हो । त्यस्तो दायित्व निर्वाह गरेवापत प्राप्त हुने सम्भावित पीडा र पराजयको डरले अमेरिका भाग्न सक्दैन, यो नै अमेरिकाको नियति हो ।

स्पष्ट छ- लुइसले सन् १९४१ मा अमेरिकाबारे जे भने त्यो अमेरिकाको परिचय हो र उसको नियति हो । हो, संसारका हरेक मुलुकको उचित र सही निर्णयको लागि अमेरिका उत्तरदायी हुन सक्दैन । ऊ आफ्नै निर्णय र कार्यको लागि उत्तरदायी हो । तर सवाल कहाँ रह्यो भने अमेरिकी स्वतन्त्रता अमेरिकीहरूका लागि जति प्रिय छ, त्यस्तै अन्य मुलुकहरूको स्वतन्त्रता अमेरिकाको लागि प्रिय रहेको देखिएन ।

अमेरिकी जनताको लागि जुन न्याय र सुखको वकालत अमेरिकाले गर्दछ, त्यही न्याय र सुख संसारका हरेक मानिसलाई उपलब्ध गराउने दायित्व निर्वाहले मात्रै अमेरिकालाई विश्वास र शक्ति दिने गरेको छ । त्यहाँ अमेरिका चुकिरहेको छ । डोनाल्ड ट्रम्पको निर्वाचन अभियान, विजय, अमेरिकाभित्र उनको आलोचनाको स्तर र हालका अमेरिकी निर्णयहरूले अमेरिकाको आत्मविश्वासको स्तरलाई खण्डित बनाएको देखिन्छ ।

अमेरिकाले स्वयं आफ्नो नेतृत्वमाथि भर र विश्वास गर्न नसकिरहेको अवस्था विश्व र अमेरिकाको भविष्यको लागि झन् कष्टकर बनिरहेको छ । यो अवस्थाबाट मुक्ति लिनेदिने प्रयास अमेरिकाबाहेक अरूबाट सम्भव पनि छैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.