संविधानमा धार्मिक प्रसंग

संविधानमा धार्मिक प्रसंग

नेपालको संविधानको प्रस्तावनामा बहुधार्मिक विशेषतालाई आत्मसात गर्ने र धार्मिक विभेद अन्त्य गर्ने उल्लेख गरिएको छ । प्रस्तावनाको यो व्यवस्थाले एकातिर धार्मिक बहुलतालाई विशेषता मान्दै आत्मसात गर्ने सकारात्मक कुरा उल्लेख गर्दछ भने अर्कोतिर धर्मलाई विभेदको आधार भन्दै नकारात्मक रूपमा उल्लेख गरेको छ । संविधानमा प्रयोग भएको धर्म शब्दभित्र रिलिजन र मजहवलाई पार्न खोजिएको हो होइन भन्ने कुरा संविधान निर्मातालाई नै थाहा होला । रिलिजन र मजहवले कसलाई सैतान ठान्छ र कसको सभ्यता र संस्कृतिलाई समाप्त पार्न चाहन्छ भन्ने पनि निजहरूलाई थाहा होला । नेपालको संविधानमा लेखेका आधारमा रिलिजन र मजहव सम्बद्ध विभेद समाप्त गर्न सकिने हो होइन ?

Mohan_Banjade_1अरू धर्म, धर्मावलम्बी र धर्मग्रन्थलाई असभ्य भनी निर्मूल गर्न अभियान चलाइरहेकाहरूले अरूविरुद्ध गर्ने विभेदको अन्त्य गर्ने आशय संविधानको हो होइन ? संविधानले धार्मिक विभेद अन्त्य गर्ने भनेको सम्बन्धमा हेर्दा यसले कुन विभेदलाई लक्षित गरेको हो ? संसारका प्रायः समाजमा कतिपय कूरीति, अन्धविश्वास र खराब व्यवहार रहेका छन् । ती कति राजनीतिक, कति सामाजिक, कति आर्थिक हुन्, कति उपनिवेशी सोचका पराइ प्रायोजक र तिनका स्थानीय औजारका कुटिल उपज हुन् तिनको लेखाजोखा गरेरै संविधानमा धार्मिक विभेद अन्त्य गर्ने लबजको प्रयोग भएको हो त ? पेगनविरुद्ध युरोपमा करिब ५० वर्ष के-के भयो भन्नेबारे पराई बुद्धिजीवीसँग जानकारी मागियो त ?


के हाम्रा संविधान निर्माता हालै सौरभ र सुजित मैनालीबाट तयार गरिएको ब्रेकिङ नेपाल नामक पुस्तकमा उद्धृत गरिएका र विगतमा फिरंगी भनिने उपनिवेशीले नेपाल र नेपालीबारे बनाएका सोच, चाल र षड्यन्त्रका जानकार थिए त ? के हाम्रा संविधान निर्मातामा धर्मलाई विभेदको कारक मानिरहँदा पृथ्वीनारायण शाहको समयमा दुईजना पराई छद्मभेषी जासुसलाई ५७ जना एजेन्टसहित बेतिया पठाइएको स्मृतिमा थियो त ? अनि प्रस्तावनामा आत्मसात गर्ने भनिएका धार्मिक विशेषता के-के हुन् र धार्मिक विभेदका सूचीहरूमा रहने कुरा के-के हुन् ? त्यसको टुंगो लगाउन पनि पराइ र परजीविको गठजोड हुने हो वा नेपालीले आफैं गर्ने हुन् ?

१. राष्ट्रको परिभाषा र धर्म

नेपालको संविधानको धारा ३ ले राष्ट्रको परिभाषा गर्दा बहुधार्मिक र समान आकांक्षाको कुरा गर्दछ । धर्मले रिलिजन र मजहवलाई सैतान र असभ्य भन्दैन । धर्म संगठित र केन्द्रीकृत छैन । अर्थात् रिलिजनको नेतृत्व रोम वा लन्डन वा सियोलतिरबाट हुन्छ कि हिमालको गुफा, पहाडको कन्दरा वा समतलको कुइनेटोबाट हुन्छ ? नेपालमा संविधान निर्माण कालमा पराइले के-कस्ता प्रभाव र दबाब दिए भन्ने कुरा संविधानसभामा देखिएको कतिपयको हर्कत र संविधानको अनुहारबाटै देखिन्छ । रिलिजनामा पन्थअनुसार उताकै आदेशलाई अन्तिम आदेशका रूपमा मान्नुपर्छ र उतैको जिम्मेवारी बहन गरिन्छ हुन्छ, उतै-उतै सूचना र प्रतिवेदन दिनुपर्छ भनिन्छ । धर्ममा कुनै मन्दिरको मूल पूजारी वा शंकराचार्य वा पीठाधीश वा लामा वा विपश्वकबाट नियन्त्रित हुन, तिनको आदेश मान्न वा तिनलाई सूचना दिनु पर्दैन भनिन्छ । यो अर्थबाट हेर्दा पनि धर्म, रिलिजन र मजहव फरक-फरक हुन् भन्ने देखिन्छ ।

धर्मले अवतार, पुनर्जन्म र प्रायश्चितमा विश्वास गर्छ, मानिसलाई जन्मिँदै पापी नमानी पवित्र मान्दछ, पापमोचन अरूले गरिदिने होइन, आफैंले पाप गर्न नहुने र गरे प्रायश्चित गर्नुपर्ने मान्दछ । विगतमा धर्मगुरु र संस्था राज्यमाथि हावी गरेको देखिँदैन, तर रिलिजनले विगतमा राजनीतिलाई निल्न खोजेकाले निरपेक्षता खोज्नुपरेको देखिन्छ । मजहवी व्यवस्थाले विश्वका कतिपय राज्य प्रणालीलाई प्रत्यक्ष प्रभावित गरेको देखिन्छ । यसप्रकार राष्ट्रसम्बद्ध 'बहुधार्मिक' शब्दभित्र रिलिजन र मजहव पनि पर्नुनपर्ने के हो ?

संविधान निर्माणमा पराइको क्रीडा सर्वदा र सर्वथा प्रत्येक स्वाभिमानी नागरिकको लागि शिर झुकाउनुपर्ने विषय हो । निर्णय सही वा गलत जे गरे पनि त्यो नेपालीबाटै भएको भए, त्यो धेरैलाई चित्तबुझ्दो हुँदो हो।


भित्रभित्र अरूलाई सैतान, काफिर र असभ्य पनि मान्ने, अरू सभ्यतालाई निर्मूल गर्ने भित्री मान्यता पनि कायम हुने अनि ती सबैको समान आकांक्षा हुने कुरा सम्भव हुन्छ हुँदैन ? आफ्ना पूर्वजलाई श्रद्धायोग्य नठान्ने, राष्ट्रको संस्कृतिलाई पराइ कल्चरबाट विस्थापित गर्ने, राष्ट्रिय अस्मितामाथि आक्रमण गर्ने र स्थानीय सभ्यता समाप्त पार्न पराइका पाउमा नतमस्तक धन, दौलत एवं आशीर्वाद लिने र नलिनेबीच समान आकांक्षा हुन सक्ला नसक्ला ?

 

२. राज्य, धर्म निरपेक्षता र चलखेल

संविधानको धारा ४(१) मा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ । के नेपाल रिलिजन निरपेक्ष र मजहव निरपेक्ष राज्य पनि हो ? किनकि धर्मको अर्थ कुनै पनि हालतमा रिलिजन वा मजहव होइन । धर्मका मान्यता, सिद्धान्त र व्यवहार तीभन्दा फरक छन् । धर्म हिमाल र सेरोफेरो अर्थात् यस क्षेत्रको उपज हो । रिलिजन र मजहव मरुभूमिका उपज हुन् । धर्मसँग यहाँका मानिसको पुस्ता-पुस्ताको सम्बद्धता छ । रिलिजनले युरोपबाट पेगनलाई बलपूर्वक समाप्त वा पछाडि पारेको हो ।

धर्मले अरूको सभ्यता समाप्त पार्न सुनियोजित रूपमा वा बलपूर्वक षड्यन्त्र गर्दैन । धर्ममा एकभन्दा बढी अर्थात् तेत्तीस प्रकारका देवताको कुरा छ । धर्ममा एकभन्दा बढी देवीको पूजा हुन्छ । धर्ममा बालक देवताको पनि पूजा हुन्छ । धर्ममा यज्ञ हुन्छ, संस्कार हुन्छन्, मूर्ति पूजा गरिन्छ । धर्ममा कर्म, भक्ति र ज्ञान योग जस्ता योगको व्यवस्था छ । धर्ममा प्रकृतिको पूजा हुन्छ । धर्ममा वेद, स्मृति, उपनिषद्, पुराण, इतिहास जस्ता अनेक ग्रन्थ छन् । धर्मशास्त्रमा आयुर्वेदजस्तो स्वास्थ्य विज्ञान छ, मीमांसा नामक व्याख्या शास्त्र छ, कौटिल्यको अर्थशास्त्र जस्तो राज्यशास्त्र छ, पाणीनिको व्याकरण छ । मनुस्मृति, नारदस्मृति, याज्ञवल्क्य स्मृति र शुक्रनीति जस्ता ग्रन्थमा अन्य कुराका अतिरिक्त न्याय पद्धतिको कुरा छ।

ओमकार र प्रकृतिपूजकसमेतलाई सँगसँगै राखेर हेर्दा धर्ममा मुन्धुम छ, त्रिपिटक छ, गुरुग्रन्थ साहेव छ र अन्य धेरै ग्रन्थ छन् । संविधानमा धर्म निरपेक्ष लेख्नेहरूले यी भिन्नतालाई बुझेरै धर्म निरपेक्ष लेखेका हुन् त ? नेपालको संविधानमा धर्म निरपेक्ष लेखाउन लागिपरेका कतिपय देशको संविधानमा रिलिजनको पनि खास पन्थलाई संवैधानिक मान्यता दिइएको छ । ती देशमध्ये केहीमा त राजसंस्था पनि छन् । ती धेरैको झन्डामा रिलिजनसम्बद्ध चिन्ह रहेको देखिन्छ । त्यहाँ शपथ ग्रहण गर्दा रिलिजन सम्बद्ध पुस्तकलाई हातमा लिइन्छ ।

यसपाला राष्ट्रसंघका महासचिवले राष्ट्रसंघको बडापत्र हातमा लिएर शपथ लिएको देखिएन । अमेरिकी राष्ट्रपतिले दुइटा पुस्तक हातमा लिएर शपथ लिए, तर ती दुई पुस्तक संसारको सबभन्दा पुरानो म्यासाच्युसेट्सको वा स्वतन्त्र राज्यका रूपमा पहिलो लिखित संविधानको रूपमा रहेको अमेरिकी संविधान थिएनन् । बेलायतको हाउस अफ लर्ड्समा अद्यपी रिलिजन सम्बद्ध व्यक्तिहरूको प्रतिनिधित्व हुन्छ र त्यहाँका राज्य प्रमुख रिलिजनको पनि खास पन्थको हुनैपर्ने मानिन्छ । युरोपका राजतन्त्रात्मक अधिकांश देशका संविधानमा पनि रिलिजन सापेक्षता देखिन्छ । नर्वे, स्विडेन आदि यसका उदाहरण हुन् । के हाम्रा संविधान निर्माताले यी तथ्यसँग जानकारी राखेरै संविधानमा धर्मनिरपेक्ष लेखे वा त्यहाँ कुनै प्रकारको दबाब, प्रभाव र लालचले काम गर्‍यो ?

नेपाली जनमतले काम गरेको भए त जनताले के सुझाव दिएका थिए, त्यसबारे सूचना सार्वजनिक गरिँदो हो र संविधान बनाउँदा सुझावमा अन्तरनिहित जनभावनाअनुसार बनाइएको भनी व्याख्या-विश्लेषण गरिँदो हो ।

३. धर्म निरपेक्षता र सनातन धर्मको संवैधानिक प्रसंग

संविधानको धारा ४ को उपधारा (१) को स्पस्टीकरणमा धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनिएको छ । यो स्पस्टीकरणमा प्रयोग भएका 'धर्म' र 'धार्मिक' भन्ने शब्दले धर्म र सोही धर्म सम्बद्ध धार्मिक स्वतन्त्रतालाई जनाउने हो । रिलिजनको रिलिजियस र मजहवको मजहवी भने जस्तै धर्मको धार्मिक भनी अर्थ गर्नुपर्ने होला । सनातन धर्मको अर्थ गर्दा सनातन रिलिजन वा सनातनी मजहव भनी अर्थ गर्न मिल्दैन होला । फेरि रिलिजन र मजहव नेपालमा सनातनदेखि चलिआएका पनि होइनन् । संविधानले धर्म शब्दको परिभाषा अन्यत्र गरेको पनि देखिँदैन । त्यसैले नेपालमा नेपालीमा धर्म निरपेक्ष भन्नु र अन्यत्र अंग्रेजीमा सेकुलर भन्नु निकै फरक कुरा हुन् । त्यति मात्र होइन, भारतमा सेकुलर वा पन्थ निरपेक्ष भन्नाले जे बुझिन्छ । नेपालमा संवैधानिक अर्थमा त्योभन्दा निकै भिन्न रूपमा बुझ्नुपर्ने हुन्छ ।

संविधानले नेपालमा धर्म निरपेक्ष भनेको सनातन धर्म-संस्कृतिको संरक्षण हो र यसले सो धर्मसापेक्ष धार्मिक र सांस्कृतिक स्वतन्त्रताको कुरा गरेको हो भनी बुझ्नुपर्ने हुन्छ । यो निष्कर्षको आधार र कारण धारा ४ को उपधारा (१) को स्पस्टीकरण नै हो । स्मरण रहोस्, नेपालको संविधानमा जहाँजहाँ धर्म वा धार्मिक शब्द प्रयोग भएको छ, त्यसलाई धारा ४(१) को स्पस्टीकरणको सन्दर्भमा हेर्दा त्यसले रिलिजन र मजहवलाई जनाउने भन्न सकिने देखिँदैन । संविधानमा प्रयुक्त धर्म निरपेक्षता खास प्रकार र अनुहारका पराइको दबाब र प्रभावबाट राखिएको भनी मान्नेको संख्या नेपालमा निकै हुन सक्छ ।

यस्तै धारा ४(१) को स्पस्टीकरण पश्चिमा केही देश र त्यहाँ दर्ता भई नेपालको सामाजिक जीवन खल्लबलाउन आएका विदेशी गैरसरकारी संस्था तथा उताकै एजेन्डा र न्यारेटिभमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाका केही कर्मचारीको दबाब र प्रभावको कडा प्रतिउत्तर पनि हुन सक्छ । यो प्रतिउत्तर उनीहरूको हैकम (हेजेमोनी) चिर्न दक्षिणतर्फ चुनाव भई नयाँ सरकार बनेपछि आएको त होइन ? एउटा धाराको कुनै उपधारा एकाथरीको एजेन्डा हुनु र सोही उपधाराको स्पस्टीकरण त्यसको प्रतिवाद हुनु मुलुकको नागरिकका लागि कदापि गर्वको विषय हुन सक्दैन ।

यो कुरा नेपालीले दिएको रायबमोजिम भएको भए त्यो आफ्नो व्यवस्था हुन्थ्यो । संविधान निर्माणमा पराइको क्रीडा सर्वदा र सर्वथा प्रत्येक स्वाभिमानी नागरिकको लागि शिर झुकाउनुपर्ने विषय हो । निर्णय सही वा गलत जे गरे पनि त्यो नेपालीबाटै भएको भए, त्यो धेरैलाई चित्तबुझ्दो हुँदो हो । क्रमशः




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.