सबै पदमा महिला उम्मेदवार

सबै पदमा महिला उम्मेदवार

बर्दिया : एमाले बर्दियाले सदरमुकाम गुलरिया नगरपालिकाको एउटा वडा समितिमा सबै महिला उम्मेदवार उठाउने भएको छ । एमाले नगर कमिटीको निर्णयले सबै महिला उम्मेदवार उठाउने निर्णयसहित सिफारिस गरेको हो ।गुलरिया नगरपालिका ६ को वडा अध्यक्षदेखि सदस्यसम्म महिला उम्मेदवार दिएको बताइएको छ जसअनुसार अध्यक्षमा पवन क्षेत्री, दलित महिला सदस्यमा मैसरा परियार, अन्य महिला सदस्यमा पार्वती विष्ट, माधुरी थापा र राधिका पौडेललाई उम्मेदवारी दिने निर्णय गरेको एमाले नगर कमिटीले जनाएको छ ।

मधेसका माग सम्बोधन नभए चुनाव असम्भव : भट्टराई

राजविराज : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेसको मुद्दा सम्बोधन नभएसम्म चुनाव असम्भव रहेको बताउनुभएको छ । सप्तरीको खडक नगरपालिकाको कल्याणपुर विसनपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्तधारणा राख्नुभएको हो ।

मधेसी, जनजाति, थारूलगायत सीमान्तकृत समुदायका जायज माग सम्बोधन नगरिए चुनावको अर्थ नरहने उहाँको भनाइ छ । ५२ प्रतिशत तराई-मधेसका जनताको सहभागिताबिनाको चुनावको औचित्य नरहने उहाँले बताउनुभयो । 'सरकारले चुनाव चाहेको हो भने त्यसअघि संविधान संशोधन गरी तराई-मधेसको माग सम्बोधन गर्नुपर्छ, तबमात्र सबैलाई समेटेर चुनावमा सहभागी हुने वातावरण बन्छ', उहाँले भन्नुभयो।
मधेसी मोर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रमप्रति आफ्नो समर्थन रहेको उहाँको भनाइ छ ।

'सरकारले आन्दोलनमा जान बाध्य बनायो', उहाँले भन्नुभयो । अन्तरिम संविधानबाट गठन भएको राज्य पुनर्संरचनाको १० प्रदेशको प्रतिवेदनअनुरूप संघीय संरचना बनाए हिमाल, पहाड र तराईको समस्या समाधान हुने उहाँको कथन थियो । मधेससँग लभ परेको भन्ने प्रचण्डजीले ओलीजीसँग बिहे गरेपछि बाध्य भएर आन्दोलन रोज्नुपरेको उहाँले बताउनुभयो । मधेसी जनताले जिताएर पठाएको प्रचण्डजीले समेत धोखा दिएको नेता भट्टराईको आरोप छ ।

आफ्नो पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षडयन्त्रपूर्वक गरिएको उहाँको दाबी छ । चुनाव चिह्न नदिए आन्दोलन जारी राख्ने उहाँले बताउनुभयो । 'पुरानो म्यान्डेटको जगमा टेकेर लोकतन्त्रमाथि कुल्चने र अरूको अधिकार हनन गर्ने दुष्कर्मको अन्तिमसम्म प्रतिवाद गर्छौं', उहाँले भन्नुभयो । लोकतान्त्रिक देशमा कसैलाई पनि निर्वाचनमा भाग लिनबाट वञ्चित गर्न नहुने भट्टराईको भनाइ थियो ।

मुलुकमा गरिबी एवं बेरोजगारी मेटाउने तथा हिमाल, पहाड, तराईलाई आर्थिक समृद्धितर्फ लैजाने आफ्नोे सपना बाचुन्जेलसम्म पूरा गरेरै छाड्ने उहाँले दृढता व्यक्त गर्नुभयो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका सयौंजनालाई उहाँले अबिरमाला लगाई पार्टी प्रवेश गराउनुभएको थियो ।

टिकट पाउन नेता धाउँदै आकांक्षी

घोराही : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाउन थालेका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलले उम्मेदवारको टुंगो लगाउँदै गर्दा उम्मेदवारका आकांक्षी अहिले पार्टी नेतृत्वसँग धाउन थालेका छन् । एउटा नेताकहाँ दैनिक एक सयको हाराराहीमा उम्मेदवारका आकांक्षी आउने गरेको पाइएको छ ।

दाङमा जिल्लामा क्रियाशील ठूला राजनीतिक दलमा यस्तो अवस्था देखिएको हो । कांग्रेस, एमाले र माओवादी केन्द्रमा स्थानीय तहका बढी नेतृत्वको आकांक्षी देखिएपछि नेतृत्व आफ्नो पोल्टामा पार्न उम्मेदवारका आकांक्षी अहिले नेताका घरघर धाउन थालेका हुन् । उनीहरू आफ्नो पहुँच पुगेसम्म नेताको घरमा पुग्न थालेको एकजना आकांक्षीले बताउनुभयो । 'यति नगरे टिकटै नपाइएलाजस्तो भयो', उहाँले भन्नुभयो, 'क्षेत्रदेखि केन्द्रसम्मका नेतालाई भनिरहेको छु । आफनो पहुँच र सम्पर्कअनुसार अरूले पनि यो गरिरहेका छन् ।'

वडा अध्यक्षमा पवन क्षेत्री, दलित महिला सदस्यमा मैसरा परियार, अन्य महिला सदस्यमा पार्वती विष्ट, माधुरी थापा र राधिका पौडेललाई उम्मेदवारी दिने निर्णय गरेको एमाले नगर कमिटीले निर्णय गरेको छ।

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा आकांक्षी धेरै देखिएकाले नेतृत्वकहाँ धाउने गरेको पार्टी नेतृत्वहरूले बताएका छन् । कांग्रेसका क्षेत्रीय सभापति जगत खडकाले यो सामान्य भएको बताउनुभयो । वडादेखि गाउँ-नगरसम्मका उम्मेदवारहरूले टिकटको अपेक्षा गर्नु स्वाभाविक भए पनि पार्टीले योग्य एवं दक्ष उम्मेदवार छनोट गर्ने उहाँको भनाइ छ । आकांक्षी सबै नेतृत्वसमक्ष आउने गरेको उहाँले बताउनुभयो ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का पनि यो समयमा नेतासँग उम्मेदवारले धाउनुलाई स्वाभाविक मान्नुहुन्छ । लामो समयपछि हुन लागेको निर्वाचनले आकांक्षी धेरै बनाएको र उम्मेदवारका लागि सबै दौडधुपमा रहेको उहाँको भनाइ छ । केही दिनभित्रै उम्मेदवारको टुंगो लगाइने र उक्त समस्या समाधान हुने उहाँले बताउनुभयो ।

नेतृत्वका लागि महिला सक्रिय

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीसँगै महिलाहरू चुनावी तयारीमा सक्रिय बनेका छन् । आस्थावान् दलभित्र होस् वा अन्य कुनै सामाजिक संघसंस्थाको सभा, गोष्ठी नै किन नहोस आसन्न निर्वाचनमा महिला समान सहभागितको सुनिश्चितता गराई महिलाहरूलाई नेतृत्वसम्म पु¥याउन सक्रिय भएका हुन् ।

उपमहानगरपालिकाका मेयर, उपमेयरदेखि वडा अध्यक्षसम्ममा महिलालाई दक्षता र क्षमताका आधारमा समान सहभागिता सुनिश्चित गराउनुपर्ने भन्दै महिलामैत्री चुनावको माग गर्दै दाङका महिला सक्रिय बनेका हुन् । महिलाहरू सधैं अधिकार प्राप्तिबाट विमुख भइरहेकाले उक्त चिन्तनलाई अब जरैदेखि निर्मूल गरी समान अधिकार प्राप्तिका लागि महिला मात्रै नभई पुरुष पनि सकारात्मक सोचका साथ माथि उठनुपर्ने महिला नेत्रीहरूको भनाइ छ ।

यसैबीच अन्तरपाटी महिला सञ्जाल दाङले घोराहीमा स्थानीय निर्वाचनमा महिलाहरूको अर्थपूर्ण उम्मेदवारीको सुनिश्चितता विषयमा राजनीतिक दलसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा दलका नेताले महिलालाई जारी संविधानले प्रशस्त अधिकार प्रत्यायोजन गरेकाले अब उनीहरू घर मात्रै नभई मुलुक सञ्चालनमा पनि सहभागी हुनुपर्नेमा जोड दिए । उनीहरूले संवैधानिक रूपमै महिलाहरू अधिकारसम्पन्न भइसकेकाले अधिकार सदुपयोग पुरुषको सोच मात्रै होइन, महिलाको उत्साह एवं सहभागिताको खाँचो रहेको बताए । कम्तीमा ३३ प्रतिशत सहभागिता निर्धारण गरी सबै दलले महिलालाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

जनप्रतिनिधिका लागि कार्यकक्ष र फर्निचर

विराटनगर : स्थानीय निकाय निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिका लागि मोरङमा कार्यकक्ष र फर्निचर व्यवस्थापन गर्न थालिएको छ । यहाँका स्थानीय निकाय नगरपालिका र गाउँपालिकाले फर्निचरको जोहो गर्दै जनप्रतिनिधिका लागि छुट्टै कार्यकक्ष व्यवस्थापन गर्न थालेका हुन् ।
निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले दैनिक रूपमा कार्यसम्पादन गर्न सक्ने गरी छुट्टै कार्यकक्ष व्यवस्था गर्न थालिएको छ । स्थानीय निकायको नयाँ संरचनाअनुसारका सबै गाउँपालिका र नगरपालिका अहिले जनप्रतिनिधिको कार्यकक्ष र त्यहाँ चाहिने फर्निचरका सामान जुटाउन सक्रिय भएका छन्।

नगरपालिकामा मेयर, उपमेयर तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसमेतका जनप्रतिनिधिका लागि कार्यकक्ष तथा बैठक कक्ष, सभाहलको व्यवस्थापन र फर्निचरको जोहो गर्न थालिएको स्थानीय निकायले जानकारी दिएका छन् ।

'स्थानीय निकाय निर्वाचन हुने निश्चित छ । निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिका लागि छुट्टै कोठा र फर्निचर आवश्यक पर्छ', विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले भन्नुभयो, 'त्यही भएर अहिले कार्यकक्ष र फर्निचर व्यवस्थापनमा जुटेका छौं । चुनिएर आउनासाथ जनप्रतिनिधिहरूले यसबारे तनाव लिनुपर्दैन ।'

कोइरालाका अनुसार राजनीतिक रूपमा चुनावी वातावरण तातेपछि जनप्रतिनिधिका लागि कार्यकक्ष र फर्निचरको व्यवस्थापन गर्ने दायित्व स्थानीय निकायको हो । चुनाव जितेर जनप्रतिनिधि कार्यभार सम्हाल्न आएपछि त्यतिबेला हतारो नहोस् भनेर बेलैदेखि काम सुरु गरिएको उहाँको भनाइ छ ।

१९ वर्षसम्म स्थानीय निकाय निर्वाचन हुन नसकेपछि त्यसअघि विराटनगर उपमहानगरपालिकाका मेयर र उपमेयरसमेतका जनप्रतिनिधिले प्रयोग गर्दै आएको कार्यकक्ष र फर्निचर कार्यकारी अधिकृतले प्रयोग गर्दै आएका थिए । जिल्ला विकास समितिमा सभापति र उपसभापतिले प्रयोग गर्दै आएको कोठा भने प्रयोगविहीन थियो । जिविसलाई हाल जिल्ला समन्वय समिति बनाइएको छ । मोरङमा विराटनगर उपमहानगरपालिका, सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे, सुनबर्सी, रंगेली, रतुवामाई, उर्लाबारी, लेटाङभोगटेनी नगरपालिका र बुढीगंगा, ग्रामथान, कटहरी, मिक्लाजुङ, धनपाल, बबिया, जहदा र कानेपोखरी गाउँपालिका छन् ।

निर्वाचित जनप्रतिनिधिलाई कार्यकक्षको व्यवस्था गरेर कोठा मर्मतसम्भार र रङरोगन गर्न थालिएको कार्यकारी अधिकृत कोइरालाले जानकारी दिनुभयो । 'कोठाहरूको व्यवस्था गरेर धमाधम मर्मतसम्भारको काम भइरहेको छ', उहाँले भन्नुभयो । जनप्रतिनिधिका लागि फर्निचरको 'अर्डर' दिइसकिएको सुन्दरहरैंचा नगरपालिकाका नायव सुब्बा चन्द्रमणि लुइँटेलले बताउनुभयो । 'चुनिएर आएपछि कार्यभार सम्हाल्दा जनप्रतिनिधिले फर्निचर र कोठाको अभावमा समस्या झेल्नु नपरोस् भन्ने उद्देश्य हो', उहाँले भन्नुभयो, 'सबै राजनीतिक दलसँग समन्वय गरेर काम अघि बढाइएको छ ।'

निर्वाचन सफल बनाउन प्रचार अभियान

परासी : विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी नवलपरासीले स्थानीय निर्वाचन सफल बनाउन गाउँस्तरमा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भीम रावल अम्बेडकर जयन्तीको अवसरमा सोमबार उजैनीमा आयोजित कार्यक्रमका सहभागीहरूले लामो समयदेखि हुन नसकेको स्थानीय निर्वाचनले जनताका अधिकार स्थापित गराउने भन्दै पार्टी संगठन विस्तारसँगै प्रचारात्मक कार्यक्रम अघि बढाउने निर्णय गरेको जिल्ला इन्चार्ज जितेत्द्र गुप्ताले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष नागेश्वरप्रसाद धोबीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सन्तोष हरिजन, गोपी हरिजन, पूर्णवासी हरिजन, नेमनारायण हरिजन, मेवा हरिजन, जयप्रकाश हरिजनलगायतले अम्बेडकरको योगदान र स्थानीय निर्वाचनमा पार्टीको सक्रिय सहभागिता हुनेमा जोड दिएका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.