गुटै-गुटले उम्मेदवार छान्न धौधौ

गुटै-गुटले उम्मेदवार छान्न धौधौ

जाजरकोट : आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दललाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । लामो समयपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा पार्टीगत विभिन्न गुटका आकांक्षी धेरै देखिएपछि दललाई उम्मेदवारको टुंगो लगाउन सकस परेको हो ।दलहरू वैशाख पहिलो हप्ताभित्रै उम्मेदवारको टुंगो लगाउने गृहकार्यमा जुटे पनि अन्तिम नाम सिफारिस कार्य थप पेचिलो बन्दै गएको छ । हरेक पार्टीमा गुटगत राजनीतिले जरा गाडेको छ । विभिन्न गुटका कारण टिकट दिन समस्या भएको नेताहरूले बताएका छन् ।

जाजरकोटमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रमुख तीन दलमा पार्टीभित्रकै विभिन्न दलका कारण उम्मेदवार छनोट निकै चुनौतीपूर्ण देखिएको छ । वडा अध्यक्षदेखि नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको पदमा दलका नेता-कार्यकर्ताको आकांक्षा तीव्र हुँदा दलहरूलाई उम्मेदवार छान्न सकस परेको हो ।

दलले स्थानीय वडा समिति गाउँपालिका र नगरपालिकादेखि जिल्ला समितिसम्मका कार्यालयमा लामो समय उम्मेदवार छनोटको कामका लागि बैठक र छलफल जारी राखेका छन् ।जिल्लामा सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छान्न दलले दिनहुँ गाउँदेखि जिल्लास्तरमा बैठक गरिरहे पनि उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । प्रमुख पदमा धेरैको आकांक्षा भएपछि दलहरूलाई निर्णय गर्न सकस परेको हो ।

नगरपालिका र गाउँपालिकाको प्रमुखमा आकांक्षी पुरुष नै अग्रपंक्तिमा छन् । प्रमुख पदमा पुरुषको दाबी भएपछि महिला उपप्रमुखमा सीमित हुने पक्का छ । महिलाहरू चुनाव लड्न र टिकटको दाबीको गर्न खासै अग्रसर छैनन् ।प्रमुख दलले प्रमुख पदमा टिकट एउटा गुटको पुरुषले पाए दोस्रो पदमा अर्को गुटको महिला उम्मेदवार बनाउने गरी तयारी गरिरहेको जनाएका छन् । कांग्रेसका क्षेत्रीय सभापति महेन्द्र शाहले क्षेत्र र भेग समेटिने गरी प्रमुख र अन्य पदमा लड्ने उम्मेदवारको टुंगो लगाउने बताउनुभयो । 'युवा र पुराना कार्यकर्ताबीच तालमेल मिलाउन निकै समस्या छ । हामी पहिलो हप्ताभित्रै सबै उम्मेदवारको टुंगो लगाउँछौं', उहाँले भन्नुभयो ।

 

कतिपय नेताले टिकट नपाए पार्टी नै छाड्ने वा असहयोग गर्ने घुर्की दिइरहेका छन् । कांग्रेसमा देउवा, सिटौला र पौडेल गुट, एमालेमा ओली र नेपाल गुट प्रस्ट देखिएको छ । माओवादी केन्द्रमा प्रचण्ड गुट र पछि मिलेको रामबहादुर थापा निकट गुटले टिकटका लागि 'बार्गेनिङ' गरिरहेका छन् । 'कांग्रेसमा गुटगतभन्दा व्यक्तिवादी चरित्र हाबी भएको देखिन्छ भने एमाले र माओवादीमा गुटगत आधारमा टिकटका लागि 'लबिङ' भएको देखिन्छ', नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भन्नुभयो, 'दलभित्रै असहयोग र अन्तर्घात हुने खतरा छ ।'

यस्तो प्रवृत्तिले चुनावमा कसको पल्ला भारी हुन्छ भन्न नसकिने उहाँको विश्लेषण छ । कांग्रेसको त्रिवेणी नलगाडमा विनबहादुर सिंह, छवि पन्त, प्रकाश पन्त र तेजबहादुर खत्रीले आकांक्षा देखाएको र एकले अर्कालाई स्वीकार गर्ने अवस्था नभएपछि टिकट दिन समस्या भएको क्षेत्रीय सभापति महेन्द्र शाहले बताउनुभयो । बारेकोट गाउँपालिकामा सभापति शाह, राजबहादुर सिंह र कमलदीप पुनबीच कुरा मिल्न सकेको छैन । त्यस्तै शिवालय गाउँपालिकामा पार्टी सचिव खड्ग बीसी र कुशे गाउँपालिकामा हरिचन्द बस्नेतको पक्कापक्की भएको छ ।

केही ठाउँमा भने दलले उम्मेदवार टुंगो लगाएको जनाएका छन् । कांग्रेसले छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा प्रमुखका लागि सर्वसम्मत भएको बताएको छ । कांग्रेसका सभापति दीपकजंग शाहका अनुसार जुनीचाँदे गाउँपालिका प्रमुखमा जिल्ला उपसभापति सर्पराज रावत, भेरी नगरपालिका प्रमुखमा पूर्वपार्टी सभापति सनतकुमार कार्की र छेडागाड नगरपालिकाको प्रमुखमा महासमिति सदस्य रत्नबहादुर खड्कालाई सर्वसम्मत उम्मेदवार बनाइएको छ ।

अन्य नगरपालिका र गाउँपालिकामा पनि आकांक्षी धेरै भएका कारण पार्टीमा छलफल जारी रहेको शाहले बताउनुभयो । छेडागाड नगरपालिकामा एमालेले नेता लालबहादुर महतारा र जुनिचाँदे गाउँपालिकामा वेदबहादुर शाहीलाई चयन गरेको एमालेका पूर्वसांसद रत्नप्रसाद शर्माको भनाइ छ । कुशे गाउँपालिकामा प्रेमप्रसाद घर्ती र तप्तबहादुर हमालको नाम सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रमा पनि जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा प्रमुख-उपप्रमुखको सर्वसम्मत रूपमा टुंगो लागेको बताइएको छ । त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा टेकबहादुर रावल, जुनीचाँदेको प्रमुखमा कृष्णबहादुर खत्री र छेडागाड नगरपालिकाको प्रमुखमा चन्द्रबहादुर थापा र उपप्रमुखमा धर्मशीला खत्री बस्नेत सर्वसम्मत रूपमा उम्मेदवार छनोट भएको माओवादी केन्द्रका नेता कालीबहादुर मल्लले बताउनुभयो । भेरी नगरपालिकामा भने तीनजनाले तीव्र आकांक्षा देखाएका कारण निर्णय हुन सकेको छैन ।

भेरी नगरपालिकाको प्रमुखमा पार्वती विक, ढकवीर राना, नवराज शर्मा र अमरसिंह राठौरले आकांक्षा देखाउनुभएको छ । त्यस्तै कुशे गाउँपालिकामा पार्वती थापा र अमृत सिंहबीच कुरा मिल्न सकेको छैन । वडा अध्यक्षदेखि नगर र गाउँपालिकाको प्रमुख-उपप्रमुखमा सातजनासम्मले सबै पार्टीमा आकांक्षा देखाएका छन् ।

पार्टीमा नेता-कार्यकर्ताबीच मतभेद नआओस् भनेर लामो समय छलफल गरेर उम्मेदवारको टुंगो लगाउने तयारीमा दल देखिन्छन् । गाउँमा दलका नेता-कार्यकर्ता मतदाता नामावली लिएर जनता तान्न र फकाउन लागिपरेका छन् । मतदाता पनि चुनावमा भोट हाल्न आतुर रहेको गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष वीरबहादुर बस्नेतले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.