चुनावी सभामा महिला सहभागी धेरै

चुनावी सभामा महिला सहभागी धेरै

प्युठान : स्थानीय तह निर्वाचन लक्षित गाउँगाउँमा सञ्चालन भइरहेका विभिन्न दलका चुनावी सभा तथा भेलामा महिला सहभागिता धेरै देखिएको छ । गाउँघरका अधिकांश युवा वैदेशिक रोजगारी र म्यादी प्रहरीमा भर्ना भएपछि कार्यक्रममा प्रायः महिला, वृद्धवृद्धा मात्र उपस्थित हुने गरेको पाइएको छ । आफ्ना चुनावी एजेन्डा लिएर गाउँ पसेका दलका कार्यक्रममा झन्डै ९० प्रतिशतसम्म महिला उपस्थित हुने गरेका छन् । 'जिल्लाभर पहिलो चरणको चुनावी सभा गरिसक्यौँ', एमाले प्युठानका उपाध्यक्ष हुकुमबहादुर खड्काले भन्नुभयो, 'धेरैजसो कार्यक्रममा महिलाकै बहुमत उपस्थिति पाइयो ।' 'घर खर्च चलाउन धेरै युवाले घर छाडेका छन्', खड्काले भन्नुभयो, 'चुनाव हुने दिन त आउलान् तर आजभोलि हुने कार्यक्रममा देख्नै पाइँदैन ।'

गाउँमा पुरुषको उपस्थिति कम भएकाले स्थानीय तह निर्वाचनमा महिलाको मत नै निर्णायक हुने धेरैले आँकलन गरेका छन् । 'धेरै ठाउँमा कार्यक्रम ग¥यौँ', राष्ट्रिय जनमोर्चा प्युठानका नेता एवं पूर्वजिविस सभापति बोमबहादुर खत्रीले भन्नुभयो, 'युवा गाउँमा नहुनु राष्ट्रिय समस्या नै हो ।'
गाउँमा हुने कार्यक्रममा वृद्धाहरूले समेत उत्साहजनक रूपमा सहभागिता जनाउने गरेका छन् । 'नेताका कुरा सुन्न कार्यक्रममा आएकी हुँ', प्युठान नगरपालिका–५ जुम्रिकाँढा ठूलोगाउँकी ८१ वर्षीया उतिसरा घर्तीले भन्नुभयो, 'नातिनी र बुहारीलाई पनि ल्याएकी छु ।' गाउँमा भएका धेरैजसो पुरुष रोजगारीका लागि भारत गएको उहाँले सुनाउनुभयो ।

गाउँघरमा महिलाको संख्या धेरै भए पनि गाउँपालिका र नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने भने कम देखिएका छन् । 'हरेक निर्वाचनमा महिलाले हाल्ने मत नै निर्णायक हुने गरेको छ', महिला अधिकारकर्मी पार्वता आचार्यले भन्नुभयो, 'अझै पनि महिलालाई प्रमुख पदमा लैजान खोजेको देखिँदैन ।' समाजमा अझैसम्म पितृसतात्मक सोच कायमै रहेकोे उहाँको भनाइ छ । 'स्थानीय निर्वाचनले धेरै महिला दिदीबहिनीमा उमंग छाएको छ', आचार्यले भन्नुभयो, 'तर प्रमुख पदमा महिलाको सहभागिता नभए पुरानै कार्यशैली जिवित हुन्छ कि भन्ने चिन्ता पनि उत्तिकै देखिएको छ ।'

 

 

नेतृत्व हाँक्न सक्ने महिला समाजमा भए पनि राजनीतिक दलहरूले दोस्रो पदमै बस्ने खालको वातावरण सिर्जना गर्ने गरेको उहाँको धारणा छ । 'महिलाहरूले प्रमुख पद हाँक्न सक्दैनन् भन्ने धेरैको सोच छ', उहाँ भन्नुहुन्छ, 'अवसर पाएका धेरै महिलाले समाजमा राम्रै काम गरेर देखाएको प्रशस्त उदाहरण छन् ।' स्थानीय तह निर्वाचनमा सबै गाउँपालिका र नगरपालिकाको प्रमुख पदमा महिलाले उम्मेदवारी दिएर अघि बढ्नुपर्ने उहाँको आग्रह छ ।

हाल चर्चा भएअनुसार प्युठान नगरपालिकाको मेयर पदमा एमालेबाट विजुवारकी शान्ता आचार्यबाहेक महिलाले प्रमुख पदमा उम्मेदवारी घोषणा गरेका छैनन् । २ नगरपालिका र ९ वटा गाउँपालिकाका उपमेयर र उपाध्यक्ष पदमा मात्र महिलाहरूले उम्मेदवारी दिने चर्चा छ । दलहरू समेत दोस्रो पदमा मात्रै महिलालाई उठाउने सोचमा छन् ।

जिल्ला निर्वाचन कार्यालय प्युठानका अनुसार जिल्लामा १ लाख २७ हजार ४ सय ४७ मतदाता छन् । महिला ६० हजार ३६, पुरुष ६७ हजार ४ सय १० र तेस्रो लिंगी एकजना रहेको जिल्ला निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । ७ हजार ३ सय १० मतले पुरुष बढी देखिए पनि निर्वाचनमा महिलाकै मत धेरै खस्ने विगतको अनुभव छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.