लगानी गर्न भारतीयलाई आह्वान
काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्यमी व्यवसायीलाई आह्वान गर्नुभएको छ । नेपालको आर्थिक विकासमा भारतीय लगानी तथा प्रविधि महत्र्वपूर्ण भएको बताउँदै उहाँले नेपाल सरकार मुलुकभित्र लगानीको वातावरण बनाउन प्रतिवद्ध रहेको जानकारी गराउनुभयो ।
भारतीय परराष्ट्र मन्त्रालय, भारतीय उद्योग परिसंघ (सीआईआई), भारतीय उद्योग वाणिज्य महासंघ (फिकी) र व्यावसायिक संस्था एसोचेमले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा नया“ दिल्लीमा आयोजना गरेको विषेश कार्यक्रम सीईओज मिटिङमा अध्यक्ष राणाले नेपालमा लगानी भित्र्याउन आह्वान गर्नुभएको हो । उहाँले नेपालमा कार्यरत अधिकांश भारतीय उद्योग प्रतिष्ठानले अति कठिन समयमा पनि राम्रो नाफा कमाइरहेको उदाहरण प्रस्तुन गर्नुभयो । नेपालको अर्थतन्त्रका लागि ती प्रतिष्ठान एक असल प्रतिनिधि बनेकामा प्रशंसासमेत गर्नुभयो ।
अध्यक्ष राणाले नेपालको आर्थिक व्यावसायिक विकासमा सहयोग गर्न समकक्षी संस्थाहरु सीआईआई र फिकीलाई अनुरोध गर्नुभयो । उहाँले महासंघका तर्फबाट आगामी दिनमा सहकार्यका लागि प्रस्ताव समेत राख्नुभयो । ‘भारत नेपालको एक असल छिमेकीमात्र नभै नेपालको प्रमुख आर्थिक तथा विकास साझेदार पनि हो', उहाँले भन्नुभयो, ‘भारतको निजी क्षेत्रका उद्यमी व्यवसायीले नेपालको आर्थिक समृद्धि, औद्योगिक विकास, रोजगारी सिर्जना र गरिवी निवारणमा पुर्याएको सहयो प्रशंसायोग्य छ ।'
महासंघ र भारतीय उद्योग महासंघ (सीआईआई) दुवै संस्थाले सन् १९९६ मा नेपाल भारत व्यापार सन्धि सम्पन्न गर्न खेलेको भूमिका आपसी आर्थिक सम्बन्धको कोशेढुंगा भएको अध्यक्ष राणाले बताउनुभयो । सोही सन्धि नै आर्थिक सम्बन्ध विस्तारको एक महत्र्वपूर्ण आधार बन्नुको साथै आपसी आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उहाँको दाबी थियो ।
‘बदलिँदो परिस्थितिमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था पुनः एक पटक यस्तै महत्र्वपूर्ण सहमतिका साथ हाम्रा विकासका चाहनालाई पूरा गर्न सहकार्य गरौं', उहाँको आह्वान थियो । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा अध्यक्ष राणासहित उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहभागी हुनुहुन्छ ।