सञ्चालनमा नआउँदै जीर्ण बन्यो तरकारी संकलन केन्द्र
बनेपाः काभ्रेको बनेपास्थित बुडोलमा तरकारी संकलन केन्द्र निर्माण भएको ६ वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । कृषकलाई प्रत्यक्ष सेवा र सुविधा पुर्याउने उद्देश्यले केन्द्रको भवन निर्माण गरे पनि प्रयोग नहुँदा भौतिक संरचना जीर्ण बन्दै गएको हो ।
सहरी विकास भवन निर्माण डिभिजन कार्यालय धुलिखेलको आर्थिक सहयोगमा ६ वर्षअघि निर्माण भएको केन्द्र प्रयोग नहुँदा जीर्ण बनेको स्थानीय दिलबहादुर थापाले बताउनुभयो । ‘यो बनेपा नगरपालिका, सहरी विकास भवन निर्माण डिभिजन कार्यालय र जिल्ला कृषि विकास कार्यालयको लापरबाही र कमजोरी हो', उहाँले भन्नुभयो, ‘प्रयोग नगर्ने भए लाखौं रुपैयाँको लगानी गरेर किन निर्माण गर्नुपर्यो ? उद्देश्य तरकारी संकलन हो, क्लिनिक सञ्चालन भएको छ ।'
किसान र व्यवसायी भने तरकारी बिक्रीस्थल नहुँदा फुटपातमा बिक्री गर्नुपर्ने बाध्यता हुँदै आएको गुनासो गर्छन् । बनेपाका स्थानीय तरकारी व्यापारी राजेश खड्का भन्नुहुन्छ, ‘सरकारले लाखौं रकम खर्चेर बनाइएको भवन बिना प्रयोग जीर्ण हुनुमा सम्बन्धित पक्षको दोष छ ।' उहाँले भन्नुभयो, ‘हामीले ठाउँको अभावमा फुटपाथमा तरकारीको किनबेच गर्नुपर्छ । यता लाखौंको सम्पत्ति त्यसै खेर गइरहेको छ ।'
वर्षौंदेखि प्रयोगविहीन बनेको केन्द्रको दुई कोठामा सहरी स्वाथ्य क्लिनिक सञ्चालन गरिँदै आएको छ भने अन्य संरचना जीर्ण बन्दै गएको छ ।
करोडौंको लागतमा निर्माण भएको संकलन केन्द्र जीर्ण बन्दा स्थानीयलाई प्रत्यक्ष असर गरेको स्थानीय बलदेव केसीले बताउनुभयो । ‘यो सञ्चालन नहुँदा व्यावसायिक किसान घाटामा छन् । दलालले बस्तुको मूल्य निर्धारण गर्ने हुँदा किसानले उचित मूल्य पाउँदैनन्', उहाँले भन्नुभयो ।
करोडौं रकम खर्चेर २०६९ सालमा निर्माण सम्पन्न भइसकेको भवन सात वर्षदेखि प्रयोगविहीन हुँदा पनि सम्बन्धित निकाय मौन बस्नु नालायकपन भएको स्थानीयको गुनासो छ । ‘के उद्देश्यले यो भवन बन्यो त्यो पूरा हुन सकेको छैन', खड्काले भन्नुभयो, ‘सरकारको लगानी बालुवामा पानी खनाएजस्तो छ । लगानी प्रशस्त छ, परिणाम शून्य ।'
तरकारी उत्पादनमा देशको पहिलो जिल्लाका रूपमा चिनिँदै आएको यो क्षेत्रमा पूर्वाधारयुक्त केन्द्र निर्माण र सञ्चालन हुन नसक्दा कृषकसमेत निराश छन् । सहरी विकास भवन निर्माण डिभिजन कार्यालय धुलिखेलको सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भएको भवन किन प्रयोगमा आएन भन्नेमा सरोकारवाला पक्ष नै अनविज्ञ छन् । सहरी विकास भवन निर्माण डिभिजन कार्यालय धुलिखेलका प्रमुख अष्ठलाल सुवालले यस विषयमा थाहा नभएको बताउनुभयो । ‘बन्न त पहिले नै बनेको रहेछ । आफूलाई केही थाहा नभएकाले यसबारे अध्ययन गरेर उचित कदम चाल्छु', उहाँले भन्नुभयो ।
जिल्ला कृषि विकास कार्यालयले कृषक र सम्बन्धित कार्यालयसँग समन्यव नगरेका कारण प्रयोगमा आउन नसकेको बताउँदै आएको छ । ‘निर्माण भए पनि तरकारी संकलन केन्द्र प्रयोगमा आउन नसक्नुमा व्यापारी किसानको घरघरमा गएर संकलन गरेकाले हो', कृषि विकास अधिकृत थर्क जीसी भन्नुहुन्छ, ‘जिल्लामा रहेका ७० तरकारी संकलन केन्द्रमध्ये ३५ वटा पनि सञ्चालनमा छैनन् ।'
बनेपा नगरपालिकाका अधिकृत धु्रव नेपालले भवन डिभिजनले निर्माण गरेको सो केन्द्र हस्तान्तरणसमेत नभएको गुनासो पोख्नुभयो । ‘हस्तान्तरण नभए पनि सञ्चालनका लागि कोशिस जारी राखेका छौं', उहाँले भन्नुभयो । आठ कोठा र पाँच सेट तरकारी संकलनस्थल, वरिपरी तारबार र कम्पाउन्डसमेत गरी दुई करोड रुपैयाँको लागतमा संकलन केन्द्र निर्माण भएको थियो । वर्षौंदेखि प्रयोगविहीन बनेको केन्द्रको दुई कोठामा सहरी स्वाथ्य क्लिनिक सञ्चालन गरिँदै आएको छ भने अन्य संरचना जीर्ण बन्दै गएको छ । केन्द्रमा सिस्नो र झार उम्रिनुका साथै दिसापिसाब गर्ने स्थलका रूपमा विकास हुँदै गएको छ ।
जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकामा उत्पादन भएका तरकारी संकलन गर्ने उद्देश्यले केन्द्र निर्माण भएको थियो । जिल्लामा उत्पादन भएका तरकारी राजधानी र आसपासका जिल्लामा निर्यात हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । तरकारी उत्पादनमा मुलुककै अग्रणि जिल्ला काभ्रेमा वार्षिक ६५ अर्बको आलु, ४० अर्बको तरकारी, ६० करोडको सुन्तला, ११ करोड ६६ लाख रुपैयाँको कफी, ११ करोड ५० लाखको अलैंची, ७५ करोडको गालभेंडा, दुई करोड ५० लाख तरकारीको बिउबिजन, खाद्यान्नबाली, फलफूल र मौरीपालनबाट जिल्ला भित्रिने गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।