मूल्य बढेपछि उखुकिसान हर्षित

मूल्य बढेपछि उखुकिसान हर्षित

मलंगवाः उखुको मूल्यमा आएको गिरावटसँगै उखुखेती छाड्ने मनसायमा पुगेका किसान यस वर्ष मूल्यमा भएको वृद्धिसँगै फेरि उखुखेतीप्रति आकर्षित भएका छन् । यसवर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसा तोकिएको थियो जुन गत वर्षभन्दा ८३ रुपैयाँले बढी हो ।

गत वर्ष किसानले प्रतिक्विन्टल चार सय ४८ रुपैयाँ पाएका थिए । मूल्यमा वृद्धि, समयमा भुक्तानी तथा चलानीमा भएको सहजताले किसान उखुखेतीतर्फ आकर्षित भएको नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो । ‘विगत वर्षमा चिनीको मूल्यको अधारमा मूल्य वृद्धि नहुने, भुक्तानी समयमा नपाउने, चलानीका लागि दिनहँ उद्योगको चक्कर काट्नु पर्ने अवस्था थियो', उप्रेतीले भन्नुभयो, ‘यस वर्ष किसानलाई कुनै प्रकारको समस्या भएन ।' उखुखेतीमा लागेका किसान यस वर्ष निकै उत्साहित देखिएका छन् ।

‘पहिले सर्लाहीमा एउटा मात्र उद्योग थियो, अहिले दुई वटा उद्योग सञ्चालनमा रहेका छन् भने एउटा निर्माणाधीन अवस्थामा छ', उप्रेतीले भन्नुभयो, ‘किसानसँग उखु बेच्नका लागि धेरै विकल्प छन् । एउटै उद्योगलाई मात्रै दिनुपर्ने बाध्य अब रहेन ।'

गत वर्षभन्दा यस वर्ष उखुखेतीमा ३५ देखि ४० प्रतिशतले वृद्धि भएको इन्दुशंकर चिनी उद्योग हरिवनका प्रमुख उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । यस वर्ष किसानले उद्योगमा उखु ल्याउनेबित्तिकै पैसा पाएका थिए । ‘विगत वर्षमा बिक्री गर्न उद्योगमा ल्याइएका उखु ३/४ दिनमा तौल गरिन्थ्यो ।

ढिलो गरी तौल गरिँदा उखु सुकेर जान्थ्यो ।', रजकले बताउनुभयो, ‘यस वर्ष एक दिनमै उखु तौल गरिएको थियो । किसानलाई कुनै प्रकारको झन्झट भएन ।' अहिलेसम्म रोपाइँ सकिनुपथ्र्यो तर यस वर्ष किसानले पाएको सहुलियत देखेर उखु नरोप्ने किसान पनि उखुखेतीतर्फ उन्मुख भएका छन् । अहिले पनि उखु रोपाइँ भइरहेको छ ।

दुई बिघामा गर्दै आएको उखुखेती यस वर्ष चार बिघामा पुर्‍याएको औरहीका किसान कृष्णकुमार यादवले बताउनुभयो । यस वर्षजस्तो अवस्था अगामी दिन पनि रह्यो भने उखु प्रमुख नगदेबालीको रूपमा स्थापित हुने यादवले दाबी गर्नुभयो । ‘एक वर्ष उखु लगाएपछि तीन वर्षसम्म ढुक्क हुन्छ', यादवले बताउनुभयो, ‘अरु बालीजस्तो मलको आवश्यता, गोडमेल गर्नुपर्ने बाध्यता उखुमा हुँदैन ।

अरुबाली हरेक वर्ष रोप्नुपर्ने, २/३ पटक गोडमेल गर्नुपर्ने हुन्छ ।' उखु रोपाइँको बेलामा टमाटर, धनियाँजस्ता बाली पनि सँगै रोप्न सकिन्छ जुन किसानका लागि थप फाइदा हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.