ठूला उद्योगकै उत्पादन गुणस्तरहीन
काठमाडौंः नाम चलेका नेपालका ठूला उद्योगकै उत्पादन गुणस्तरहीन भेटिएको छ । ख्यातिप्राप्त दुई दर्जनभन्दा बढी उद्योगका उत्पादन तयारी चाउचाउ, बिस्कुट, प्रशोधित खानेतेल र दूध गुणस्तरहीन भेटिएको हो । यस्ता उद्योगबाट उत्पादित उपभोग्य वस्तु मानव स्वास्थ्यका लागि हानीकारक पाइएको सरकारी प्रतिवेदनले उल्लेख गरेको छ । सरकारले हालै देशमा विभिन्न स्थानमा खाद्यवस्तुको गुणस्तरका सम्बन्धमा अध्ययन गरेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार एसियन थाई फुड्स प्राइभेट, आरती भेजिटेबल घी प्रोडक्टस्, शिवशक्ति घिउ उद्योग, पार्ले एग्रो प्राइभेट लिमिटेड र दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडको उत्पादन गुणस्तरहीन पाइएको छ । यसैगरी, जगदम्बा फुड एन्ड वेभरेज प्राइभेट लिमिटेड, कुसुम आयल इन्डस्ट्रिज, नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिज, एसियन कन्फेक्सनरी फुड्स प्राइभेट लिमिटेड, न्युट्री फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको खाद्य पदार्थ र खानेतेल गुणस्तरहीन अवस्थामा भेटिएको हो ।
यस्तै पशुपति बिस्कुट उद्योग, पशुपति खाद्य तेल उद्योग, रोयल फुड्स प्रोडक्ट, गणपति वनस्पति प्राइभेट लिमिटेड, कृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल, आरती भेजिटेबल प्रोडक्ट, सिद्धार्थ आयल इन्डस्ट्रिज, तारा फुड प्रोडक्टसबाट उत्पादन भएका सामग्री पनि न्यून गुणस्तर अवस्थामा भेटिएको छ ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले एसियन थाई फुड्सको उत्पादन तयारी चाउचाउ न्यून गुणस्तर अवस्थामा भेटिएको जानकारी दिनुभयो । विराटनगरमा रहेको उक्त एसियन थाई फुड्सले विभिन्न ब्रान्डमा चाउचाउ उत्पादन गर्दै आएको छ । यस्तै एसियन कन्फेक्सनरी फुड्सले उत्पादन गरेको ललिपप बालबालिकाका लागि घातक मानिएको छ । ललिपपमा चम्किलो हानीकारक रसायन प्रयोग गरिएको विभागले जनाएको छ ।
एसियन कन्फेक्सनरी फुड्सले उत्पादन गरेको ललिपप बालबालिकाका लागि घातक मानिएको छ । ललिपपमा चम्किलो हानीकारक रसायन प्रयोग गरिएको छ ।
‘चालू आर्थिक वर्षमा तयारी चाउचाउ र ललिपपबिरुद्ध मुद्दा दायर गरेका छौं', कर्णले भन्नुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको मंसिरदेखि फागुनसम्ममा एक सय दुईवटा मुद्दा दायर भएको छ । यसमध्ये विभागमार्फत २३, क्षेत्रीय कार्यालय विराटनगरमार्फत २०, हेटौंडामार्फत २६, भैरहवामार्फत १९, नेपालगन्जमार्फत तीन र धनगढीमार्फत ११ वटा मुद्दा दायर भएको छ ।सहप्रवक्ता मदन चापागाईका अनुसार विराटनगरमै उद्योग रहेको क्वालिटी थाई फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको तयारी चाउचाउ पनि न्यून गुणस्तर अवस्थामा भेटिएको छ ।
चाउचाउमा पाइने खानेतेल गुणस्तरहीन अवस्थामा भेटिएको छ । ‘यसले गर्दा उक्त चाउचाउ पनि मानव स्वास्थ्यका लागि हानीकारक मानिएको छ', चापागाईले भन्नुभयो, ‘एसियन थाई फुड्सविरुद्ध स्थानीय प्रशासन कार्यालयमा तीनवटा मुद्दा दायर गरेका छौं ।' यसैगरी बारास्थित आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको वनस्पति घिउ र प्रशोधित सोयाविन खानेतेल न्यून गुणस्तर अवस्थामा भेटिएको छ । उक्त उद्योगबिरुद्ध तीनवटा मुद्दा दायर गरिएको छ ।
विराटनगरको दुहवीमा रहेको पशुपति विस्कुट उद्योगले उत्पादन गरेको विस्कुट र सोनापुरस्थित पशुपति खाद्य तेल उद्योगले उत्पादन गरेको वनस्पति घिउ न्यून गुणस्तरको भेटिएकाले बिस्कुटबिरुद्ध एक र वनस्पति घिउ विरुद्ध दुई मुद्दा दायर भएको छ । विराटनगरकै श्रीराम रिफायनरी आयल प्रोडक्टसले उत्पादन गरेको शुद्ध प्रशोधित सोयाविन तेल पनि न्यून गुणस्तर भेटिएकाले मुद्दा दायर भएको छ । सुनसरीको रोयल फुड्स प्रोडक्टस्ले उत्पादन गरेको रेक्स र रोजा ब्रान्डको स्क्वास जुसमा कुल घुलनशील ठोस पदार्थ कम परिमाणमा भेटिएको छ । रोयलविरुद्ध पनि तीन वटा मुद्दा दायर गरिएको छ ।
बाराकै गणपति वनस्पति प्राइभेट लिमिटेडबिरुद्ध चारवटा मुद्दा दायर भएका छन् । तोरी तेल र प्रशोधित सूर्यमुखी तेल न्यून गुणस्तरको भेटिएको छ । बाराकै अर्को उद्योग श्रीकृष्ण आयल रिफायनरी एन्ड भेजिटेबल इन्डस्ट्रिजले सोयाविन तेल र वनस्पति घिउ न्यून गुणस्तरको उत्पादन गरेकाले उद्योगबिरुद्ध पनि चारवटा मुद्दा दायर भएको छ । बाराको नन्दन घिउ एन्ड आयल इन्डस्ट्रिज प्राइभेट लिमिटेडले उत्पादन गरेको आयातीत तोरी तेल, वनस्पति घिउ, पामोलिन तेल र प्रशोधित सोयाविन तेल गुणस्तरहीन अवस्थामा भेटिएकाले उद्योगबिरुद्ध पाँचवटा मुद्दा दायर गरिएको छ ।
बाराकै आरती भेजिटेबल घिउ उद्योगले उत्पादन गरेको वनस्पति घिउ न्यून गुणस्तर अवस्थामा फेला पारिएको छ । सोही जिल्लामा रहेको पार्ले एग्रो प्राइभेट लिमिटेडको फ्रुटी मापदण्ड विपरीत भेटिएको छ । कास्कीस्थित सुजल डेरीको घिउ पनि गुणस्तरहीन अवस्थामा भेटिएको छ । यस्तै रूपन्देहीस्थित जगदम्बा फुड्स प्राइभेट लिमिटेडको तयारी चाउचाउ, सोही उद्योगको पाम आयल पनि न्यून गुणस्तरको फेला परेको छ । यस्तै भक्तपुरस्थित जगदम्बा फुड एन्ड वेभरेजले उत्पादन गरेको प्रशोधित दूध दूषित र न्यून गुणस्तरको भेटिएको छ । उक्त उद्योगबिरुद्ध चारवटा मुद्दा दायर गरिएको छ ।