संघर्ष गर्नु सजिलो छैन :गायिका, विन्दु परियार
गायनमा पछिल्लो समय प्रतिस्पर्धा बढ्दो छ । व्यावसायिक रूपमा गीतसंगीत त्यति सन्तोषजनक नभए पनि गायनप्रतिको क्रेज बढ्दो छ । चलेका गायकगायिका र संगीतकारलाई भने अहिले मालामाल छ भन्दा फरक पर्दैन । तर यो स्तर हासिल गर्नु सजिलो छैन । नेपाली संगीतको बजार सानो बजार भएकाले त्यो स्थान धेरैजनाका लागि पनि हुँदैन ।
त्यही थोरैमध्येमा पर्न लागिपरेकी छन् गायिका विन्दु परियार । पाँच वर्षअघि आयोजना गरिएको राप्ती आइडल विजेता भएपछि उनी गीत रेकर्ड गर्न दाङबाट काठमाडौं आइन् । चलचित्र 'अप्रिल फुल'मा समेटिएको 'तेरो मेरो पिरती' बोलको गीत गाएपछि उनको गायनयात्राले गति लिएको हो । त्यसपछि निरन्तर गायनयात्रामा लागेकी विन्दुले चलचित्र, कलेक्सन एल्बम एवं अन्य फुटकगर गरी अहिलेसम्म लगभग दुई सय गीतमा स्वर दिइसकेकी छन् । विन्दुको गायन यात्राका बारेमा विनीता मरहट्टाले गरेको कुराकानी :
अहिले केमा व्यस्त ?
गीत रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त छु । म अहिले पनि संगीत सिक्दैछु ।
संगीत कहाँ सिक्दै हुनुहुन्छ ?
पाँच वर्षदेखि श्रीसंगीत पाठशालमा गुरु चण्डी काफ्लेसँग सिकिरहेकी छु ।
तपाईंलाई कस्तो गीत गाउन मन पर्छ ?
रोमान्टिक गीत गाउन बढी मन पर्छ । तर सबै खालको गीत गाउँछु । मेरो स्वर सिरियस गीतमा सुहाउँछ जस्तो लाग्छ । अरूले पनि त्यसै भन्छन् ।
संगीतमा लागेर बिताएको पाँच वर्ष सम्झँदा कस्तो लाग्छ ?
परिवारको सहयोग पाएकी छु । तापनि संघर्ष गर्न एकदमै गाह्रो भयो । धेरै मेहनत गरेकी छु ।
गायनमा भविष्य देख्नुहुन्छ ?
वास्तवमा सांगीतिक क्षेत्रमा मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको प्रतिफल छैन । भविष्यमा राम्रो होला कि भन्ने आशा छ ।
धेरै कलाकार पलायन भएका छन्, कसरी भविष्य देख्नुभयो ?
एउटा दुइटा गीत गाएर पलायन हुनु त केही होइन । त्यस्ता कलाकार बढी होलान् । सबैभन्दा ठूलो कुरा निरन्तरता हो । हार खानु हुँदैन । गाह्रो छ भन्ने थाहा छ तापनि निरन्तरता दिए टिक्न सकिन्छ ।
एल्बम ननिकाल्ने ?
एल्बमको पनि तयारी भइरहेको छ । गीतहरू एरेन्ज भइरहेका छन् । छिट्टै बजारमा ल्याउनेछु ।
स्टेज कार्यक्रममा धेरै देखिनुहुन्छ, कमाइ राम्रै होला नि ?
भर्खर स्थापित हुन खोज्दैछु । अहिलेभन्दा पनि पछि राम्रो होला भन्ने अपेक्षा लिएकी छु ।