‘हामी एकतावद्ध हुँदा सरकारलाई झट्का लागेको छ’

‘हामी एकतावद्ध हुँदा सरकारलाई झट्का लागेको छ’

-शरतसिंह भण्डारी
नेता राष्ट्रिय जनता पार्टी

–चुनावको मुखमा आएर अहिले मधेसवादी पार्टीहरु किन एकीकरण गर्नुपर्‍याे?

बन्दी अवस्थामा रहेको राजनीतिलाई अहिले सरकारले जर्वजस्ती निकास निकाल्ने प्रयास गरिरहेको छ। त्यसले थप दुर्घटना निम्त्याउने निश्चित छ। देशको राजनीतिक निकास दिनका लागि छरिएर रहेका शक्तिहरु एक बनाएर निकास दिन बल पुग्ने भएकाले हामीले पार्टी एकता गरेका हौं।

अर्काे, मधेसमा धेरै आन्दोलन भयो। धेरै मान्छेको ज्यान गयो। एउटै मुद्दाका लागि किन अलग–अलग राजनीति गर्ने? एउटै शक्तिबाट लक्ष्य प्राप्ति गर्न जनताबाट दबाब आएको कारण पनि हामीले पार्टी एकता बाध्य भएर यो समयमा पार्टी एकता गरेका हौं।

–विगतमा पनि तपाईँहरुले मोर्चाबन्दी गर्नु भयो। तर, लामो समय टिक्न सकेन, अहिले फेरि त्यहीँ कुरा दोहोरिन्न भन्ने आधार के छन्?

विगतमा विभिन्न पार्टीहरु गठन भए। हामी कहाँ जब एकल नेतृत्व हावी भयो, तब पार्टीमा विभाजन गराउने काम गर्‍यो। नेपाली कांंग्रेसमा पनि त्यो समस्या विगतमा देखियो। कांग्रेस जब तीन नेताहरु विपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको अवधारणामा अगाडि बढेको थियो। त्यतिबेला नेपाली कांग्रेस एक थियो। जब गिरिजाप्रसाद कोइरालाले एकल नेतृत्व र अहंकारका कारण शेरबहादुरजीले अर्काे पार्टी खोल्नु पर्ने भयो। पार्टीको नेतृत्व लिनेले अधिनायकवादी चरित्र देखाउँदा पार्टी विभाजन भएका छन्। सहभागिता, सामुहिक नेतृत्व र सहकार्य नहुँदा पार्टीहरु फुट्ने गरेका छन्। हामीमा पनि त्यही रोग थियो। त्यसकारण जुट्न सकिरहेका थिएनाैं। अब हामी एकताबद्ध हुन्छौं।

हामी अहिले त्यो अहंकारको भावना त्यागेर सहअस्तिवको भावना विकास गर्न खोजेका छौं। त्यसैले हामीले सामुहिक नेतृत्वको विकास पनि सुरु गरेको हो। सामुहिक नेतृत्व हुने वित्तिकै सबै खालका विचारलाई समेट्न सक्छ। छलफल र समझदारीबाट निर्णय गरिने हुँदा सबैको कुराले ठाउँ पाउने अवस्था रहन्छ। यो प्रयोग हाम्रो लागि मात्रै होइन अरु दलहरुका लागि पनि अनुकरणीय बन्न सक्छ।

–फरक–फरक विचारबाट निर्देशित पार्टीका नेताहरु एउटै पार्टीमा मिलेर काम गर्न समस्या हुँदैन?

जब नेपाली कांग्रेस फुट्यो। त्यसपछि नेपालमा प्रजातन्त्र अति कमजोर हुन पुग्यो। त्यसको फाइदा राजाले उठाउने मौका पाए। हामी मधेसी,आदिवासीलगायतको अधिकारका लागि लड्ने पार्टीको फुटले सत्तासिन दलहरुले त्यसको फाइदा उठाएका छन्।

हो, हामी विभिन्न विचारधारा र दृष्टिकोणबाट आएका छौं। त्यसकारण हामीलाई बाध्नका लागि सामुहिक पद्धतिको विकास गरेका छौं। हामीले आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिने छौं। पार्टीका संरचनाहरु सबै निर्वाचनबाटै निर्माण गर्ने छाैं । मधेसमा रहने पहाडी समुदाय, मधेसी र आदिवासी समुदाय र सिमान्तकृत समुदायलाई कसरी समेट्ने भन्नेमा केन्द्रित भएर विधानमै ती समुदायको उचित प्रतिनिधित्वको व्यवस्था गर्नेछौं।

समानुपातिक र समावेशी पार्टी नबन्दासम्म समस्या आइरहने रहेछ भन्ने कुरा हामीले विगतबाट राम्रैसँग सिकिसकेका छौं। अहिले जतिसुकै ठूलो कुरा गरेपनि ठूला पार्टीमा त्यस्तो चरित्र देख्न सकिन्न। सत्ता र शक्तिमा रहेका पार्टीभित्र अधिकार र पहिचानबाट वञ्चितहरु ती कुरा खोज्न थाले भने पाटीहरु संकटमा फस्ने छन्।

–तपार्इँहरुको पार्टीको नाम राष्ट्रिय राखे पनि मधेसवादी नेताहरुमात्रै छन्, यो पार्टी नाम अनुसार सबै जनताको पार्टी बन्छ कि बन्दैन?

हिजोसम्म मधेसका पार्टीहरुमा मधेस झुण्डिएको थियो। त्यसकारण यसलाई मधेसको पार्टी पनि भन्ने गर्थे। मधेसको आन्दोलन भनेको मधेसको भूमिमा भएको राष्ट्रिय आन्दोलन हो। मधेस आन्दोलनले लिएका मुद्दाहरु राष्ट्रिय चरित्रका छन्। संघीयता, समानुपातिक समावेशीता र पहिचान मधेसले मात्रै चाहेको पनि त होइन नि। अरु समुदाय र बर्गले पनि यी कुरा चाहेका छन्। यो पार्टी मधेसीको मात्रै होइन भन्ने चिर्नका लागि हामीले काम गर्न बाँकी छ।

हाम्रो पार्टीमा सबै समुदायको प्रतिनिधित्व आरक्षणको माध्यमबाट आरोप छिर्दै जाने छौं। मधेसमा रहेका पहाडी समुदायको पनि उचित प्रतिनिधित्व गराउने हाम्रो प्रयास रहने छ। मधेसमा रहेका सबै समुदायलाई हाम्रो पार्टी हो भन्ने बनाउने छौं। यसका साथै देशभरका जनताको मुद्दा उठाएर उनीहरुको अधिकार ग्यारेन्टी गर्ने छौं। हाम्रो पार्टी राष्ट्रिय चरित्रको हुन्छ। सबैले उचित सम्मान पाउने छन्।

–अहिलेको राजनीतिक समस्या समाधानका लागि पार्टीले के कस्तो रणनीति बनाइरहेको छ?

तीन बुँदे समझदारीको आधारमा वर्तमान सरकार गठन भएको थियो। सरकारले जबसम्म संविधान संशोधन गरेर यो संविधानलाई पूर्णता दिँदैन। तबसम्म निर्वाचन नगर्ने भन्ने सरकारले प्रतिवद्धता जनाएको थियो। तर ऊ त्यो प्रतिवद्धताबाट पछाडि हटेको छ।

सरकारले संसद्‍मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित गर्नुपर्ने छ। संशोधनलाई टुंगोमा पुर्‍याएर संविधान कार्यान्वयन गर्ने उचित वातावरण सरकारले तयार गर्नुपर्छ। तर, सरकारले जबरजस्ती लादेको निर्वाचन हामी बाध्य भएर सहभागी हुँदैनौ। सरकारले वैैशाख ३१ गते निर्वाचन गर्ने भनेको छ। हामीले सो निर्वाचन हुन दिन्नौ।

सरकारले हाम्रो पार्टीलाई वार्तामा बोलाएको छ। वार्ताबाट समस्याको समाधान गर्न हामी तयार छौं। तर, हामीले उठाएका माग सम्वोधन गर्ने सरकार तयार हुनुपर्छ।

–मधेसवादी दलहरुले याे एकतामार्फत सत्तासिन र ठूला पार्टीलाई के सन्देश दिन खोजेको हो?

संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोचार्मा आवद्ध दलहरु अलग–अलग छन् र विभाजित छन्। उनीहरु एकता गर्न सक्दैनन् भन्ने भ्रम थियो। यिनीहरुलाई पेलेर लैजान सकिन्छ भन्ने उनीहरुलाई लागेको थियो। उनीहरुलाई अहिलेको यो शक्ति संचयले ठूलो झट्का दिएको छ।

प्रस्तुति: गोविन्द लुइँटेल

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.