त्रिभुवन विमानस्थलमा एकै दिन चार सय ७४ फ्लाइट
काठमाडौः देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थलले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकारण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानस्थलले एकै दिन चार सय ७४ वटा प्रस्थान तथा आगनमको फ्लाइट गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।
सामान्य अवस्थामा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ दैनिक तीन सय ४० देखि तीन सय ५० सम्म फ्लाइट हुने गरेकोमा अप्रिल १७ अर्थात वैशाख ४ गते चार सय ७४ वटा भएको उहाँ बताउनुहुन्छ । वैशाख चार गते आन्तरिकतर्फ तीन सय ८० र अन्तर्राष्ट्रियतर्फ ९४ वटा फ्लाइट भएको थियो । अहिले जहाज आकाशमै होल्ड हुने अवस्था पनि बढेको सेवाग्राहीबाट गुनासो आउने गरेको उहाँ बताउनुहुन्छ । आन्तरिक तथा बाह्य दुवैतर्फका हवाई यात्रुको संख्या बढ्नाले फ्लाइट बढ्न गएको विमानस्थल कार्यालयका प्रवक्ता ठाकुर बताउनुहुन्छ ।
देशमा सडकको अवस्था नाजुक हुँदै जानु, विराटनगर विमानस्थलको मर्मत, हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या वृद्धिले उडान तालिका बढेको हो । तालिकाकै कारण विमानस्थलका कर्मचारीले व्यवस्थापन मिल्लाउन नसक्ने अवस्था आइसकेको उहाँ बताउनुहुन्छ ।
समस्याको समाधान
समस्या समाधानका लागि कार्यालयले सरोकोरवाला निकायसँग शुक्रबार छलफल गरेको छ । निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि, एओएनका प्रतिनिधि र प्राधिकरणका कर्मचारीले संयुक्त रूपमा छलफल गरेको उहाँले जानकारी दिनुभयो ।
छलफलमा हवाई सेवा प्रदायक कम्पनीले विहान ६ बजेदेखि उडान सुरु गर्ने गरी ५ वजे नै विमानस्थल खुला गरिदिन आग्रह गरेका छन् । यसैगरी विराटनगर विमानस्थलको मर्मत दिउँसो तीन बजेबाट नगरी बेलुका ६ बजेबाट सुरु गरी विहान नौ बजेसम्म गर्नु पर्ने सुझाव हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिको छ ।
साथै बेलुका उडान गर्न मिल्ने विमानस्थलमा बेलुका पनि उडान गर्न तयार रहेको तर प्राधिकरणले लिने शुल्क भने कटौती गर्नुपर्ने उनीहरूको माग छ । थप निर्णयका लागि त्रिभुवन विमानस्थल सुरक्षा समितिसँग छलफल गर्नेगरी शुक्रबारको मिटिङ टुंगिएको ठाकुरले बताउनुभयो । प्राधिकरणले लिने शूल्कको विषयमा भने प्राधिकरणसँग छलफल गर्नुपर्ने ठाकुर बताउनुहुन्छ ।
दैनिक एउटा माउन्टेन फ्लाइट गर्ने कम्पनीले पछिल्लो सयम ५ देखि ७ वटासम्म उडान गरिरहेको छन् । यसैगरी लुक्कामा विहानदेखि बेलुकासम्म फ्लाइट भइरहेको छ । पोखरामा पनि विहान मात्रै उडान गर्न खोज्दा समस्या आएको उहाँ बताउनुहुन्छ ।