जाजरकोटमा पत्थर उद्योग
जाजरकोटः विश्वमै बहुमूल्य काइनाइट र टुर्मालिन पत्थरको खानी रहेको जाजरकोटमा पत्थर प्रशोधन उद्योग सञ्चालन गरिएको छ । बेरोजगार युवालाई जिल्लामै रोजगारी दिने उद्देश्यले भेरी नगरपालिकाका सुशील रावलले रत्न पत्थर उद्योग सञ्चालन गर्नुभएको हो ।
रावलले सिभिल इन्जिनियरको पढाइ छाडेर आफ्नै घरमा रत्न पत्थर उद्योग सञ्चालनमा ल्याउनु भएको छ । ६ महिनासम्म सिभिल इन्जिनियरको कोर्ष अध्ययन गरेका सुशील घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा टोनी हेगन रत्न पत्थर उद्योग दर्ता गरेर सञ्चालनमा ल्याउनुभएको हो ।
कलेजको विद्यार्थी राजनीतिदेखि आफूलाई दिक्क लागेपछि घरमा फर्केर उद्योग सञ्चालन गर्ने निर्णयमा पुगेको उहाँले बताउनुभयो । उद्योग दर्ता गरेर सञ्चालनमा ल्याउनुपूर्व आफूले पत्थर कटिङ, ड्रिल, पालिससम्बन्धी तालिम लिएको रावलले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको जिल्लाकै तीन महिने रत्न पत्थर प्रशोधन तालिम लिनुभएका उहाँले काठमाडौं र भारतबाट पनि यस विषयमा तालिम लिएको जानकारी दिनुभयो । २३ वर्षीया रावलले पाँच लाख रुपैयाँ लगानीमा पाँचवटा मेसिन खरिद गरेर उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो । पाँच लाखमा कट् मेसिन, क्यालि ब्रोट्रिङ र क्यापोसन मेसिन, फेसिङ मेसिन दुईवटा र ड्रिल मेसिन खरिद गरेको उहाँको भनाइ छ ।
जिल्लामा उद्योग सञ्चालन गर्दा रत्न पत्थरको व्यवस्थित बजार नहुनु, उद्योग सञ्चालनका लागि युवालाई सरकारी अनुदानको व्यवस्था नहुनु, मेसिन सञ्चालन गर्न आवश्यक बिजुलीलगायत समस्या रहेको रावलले जानकारी दिनुभयो ।
रत्न पत्थरका लागि उपयुक्त जिल्लाका रूपमा जाजरकोटलाई लिइएको छ । जिल्लाको टालेगाउँमा पाइने काइनाइट विश्वकै उत्कृट मानिएको छ भने, जिल्लाका विभिन्न भागमा पाइने टुर्मालिनमा झन्डै सात प्रकारका टुर्मालिन पाइएको छ । यसमा ग्रिन, पेट्रोल, फेन्टा, लेवन, बल्याक, पिंक र टचग्रिन छन् । यस्तैगरी ब्रेलिन, गार्नेट, क्वार्ज, फुनराइज जस्ता मूल्यवान पत्थर जिल्लाका विभिन्न भागमा पाइन्छ । इकोमारिनको पनि अध्ययन भइरहेको खोजतलास मान्यता प्राप्त कम्पनीले बताइरहेका छन् ।
विश्वका विभिन्न मुलुकमा सौन्दर्य र मानव गहनाका रूपमा प्रयोग हुँदै आएको रत्न पत्थर धार्मिक आस्था, प्राचिन मानव गहनाका रूपमा प्रयोग हुँदै आएको छ । रत्न पत्थर औषधिको पनि प्रयोग गर्ने गरिएको छ । किलोको हिसाबले खरिद गरि उद्योगमा प्रशोधन गरेर क्यारेटमा बिक्री वितरण गरिने भएको हुदा जेम्स उद्योग कहिले पनि घाटामा नजाने बताइएको छ ।