ज‌ंगल फाँडेर अलैंचीखेती

ज‌ंगल फाँडेर  अलैंचीखेती

कुश्माः कुनै समय वनमारा झारले ढपक्क ढाकेर दिउँसै वन्यजन्तुले आक्रमण गर्छन् कि भन्ने त्रास हुन्थ्यो । कतिपय त एक्लै दाउरा घाँस गर्न पनि डराउँथे । अहिले त्यही वन अलैंचीखेतीले हराभरा भएको छ । दक्षिण पर्वतको भोक्सिङमा अहिले जंगलभरि व्यावसायिक अलैंचीखेती विस्तार गरिएको हो।

हावापानीको हिसाबले अलैंचीखेतीका लागि उपयुक्त, बढी मूल्यमा बिक्री हुने र एक पटक रोपेपछि दुई दशकसम्म उत्पादन लिन सकिने भएकाले भोक्सिङका वासिन्दाले वनमारा फाँडेर व्यावसायिक अलैंचीखेती सुरु गरेका छन् । स्थानीय कृषकले दुई करोडको लागतमा विगत दुई वर्ष अघिदेखि अलैंचीखेतीको व्यावसायिक सुरुवात गरेका छन् । खेर गएको जमिनको उपयोगमार्फत आयआर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामुहिक फार्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेका थिए ।

उनीहरूले गाउँमै भोक्सिङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूह स्थापना गरेर पहिलो चरणमा झन्डै एक हजार पाँच सय रोपनी क्षेत्रफलमा एक लाख बिरुवा रोपेका हुन् । अहिले उक्त अलैंचीले फल दिन सुरु गरिसकेको छ । बजारमा अलैंचीको मूल्य अहिले झन्डै ५० हजार रुपैयाँ प्रतिमन छ । सजिलो व्यवासयबाट प्रसस्त आम्दानी गर्न सकिने भएकाले गाउँदेखि बजार क्षेत्रमा बसाइ सरेका व्यक्ति पनि उक्त जंगलमा लगानी गर्न थालेका हुन् ।

न्यूनतम दुई हजार रोपनी क्षेत्रफललाई पकेट क्षेत्र घोषणा गरी पर्वतको भोक्सिङमा अलैंचीखेती विस्तार गरिएको छ ।

सुरुमा एक हजार पाँच सय रोपनी क्षेत्रफलमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । अहिले उक्त क्षेत्रफल बढाएर दुई हजार रोपनी पुर्‍याउने लक्ष्य स्थानीयको छ । लामो समय ब्रिटिस वा भारतीय सेनाबाट पेन्सनमा फर्किएका स्थानीय पनि उक्त खेतीमा लागेको समूहका अध्यक्ष वीरजंग गुरुङले जानकारी दिनुभयो ।

व्यावसायिक अलैंचीखेतीबाट प्रसस्तै आम्दानी हुने भएपछि लमजुङ पसगाउँका स्थानीय पर्वतको भोक्सिङमा आएर लगानी गर्न तयार भएका छन् । उहाँका अनुसार दुई हजार रोपनीबाट पूर्णरूपमा आम्दानी हुन थालेपछि वार्षिक दुई करोडभन्दा बढी कमाइ हुनेछ । यस वर्ष जम्मा दुई क्विन्टल मात्र अलैंची टिपेका उनीहरूले आगामी वर्ष झन्डै एक करोड मूल्यको फल टिप्ने लक्ष्य लिएका छन् ।

 

उनीहरूले निजीमात्र नभई सामुदायिक वन क्षेत्रमा पनि अलैंची विस्तार गर्ने योजना बनाएका छन् । गाउँ छाडेर सहर जाने लहर चलेका कारण खाली भएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फार्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङले जानकारी दिनुभयो । समूहले अहिले प्रतिव्यक्ति पाँच लाख रुपैयाँ संकलन गरेर काम सुरु गरेको गुरुङको भनाइ छ । ‘अहिलेसम्म दुई करोडभन्दा बढी लगानी गरिसकेका छौं', उहाँले भन्नुभयो, ‘अब यस वर्ष अझै व्यस्थापन गर्ने तयारी गरेका छौं ।' अलैंचीको व्यावसायिक उत्पादन सुरु भएपछि वार्षिक दुई करोड कमाउने लक्ष्य लिएको उहाँको भनाइ छ ।

यस वर्ष उहाँहरूले एक लाख बिरुवा रोप्ने गरी जग्गाको तयारी गरिसकेको र नर्सरी पनि सुरु भइसकेको कृषक गुरुङले बताउनुभयो । कृषकको उत्साह देखेर जिल्ला कृषि विकास कार्यालय पर्वतलेसमेत उहाँहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । कार्यालयका प्रमुख बासुदेव रेग्मीका अनुसार यस वर्ष बिरुवा रोप्न, प्रशोधन तथा भट्टीका लागि प्राविधिक सहयोग गरेको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सुरु भएको पर्वतमा उक्त क्षेत्रलाई अलैंचीको पकेट क्षेत्रका रूपमा विकास गरिनेछ । न्यूनतम दुई हजार रोपनी क्षेत्रफललाई पकेट क्षेत्र घोषणा गर्ने प्रावधानअनुसार भोक्सिङमा अलैंचीको पकेट क्षेत्र बनाएर खेती विस्तार गरिएको रेग्मीले जानकारी दिनुभयो ।

पर्वत जिल्लामा परम्परागत रूपमा केही ठाउँमा अलैंचीको खेती गरिएको भए पनि हालसम्म व्यावसायिक खेती नभएको रेग्मीको भनाइ छ । कार्यालयले यस वर्षदेखि जिल्लाका अन्य सम्भावित ठाउँमासमेत यस खेतीका लागि कृषकलाई सहयोग गर्ने रेग्मीको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.