भारतले जुटको सीभीडी हटायो

भारतले जुटको सीभीडी हटायो

नयाँ दिल्लीः भारतले नेपालबाट निर्यात हुने जुटजन्य सामग्रीमा लगाउँदै आएको काउन्टर भ्याली ड्यूटी (सीभीडी) हटाएको छ । वित्त मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सीभीडी हटाएको जानकारी दिएको छ । भारतले सन् २०१५ जुलाई १७ तारेखको सूचनाका आधारमा जुट तथा जुटजन्य सामग्रीमा १२.५ प्रतिशतको सीभीडी लगाउँदै आएको थियो । तर, अधिकतम ४ प्रतिशतसम्मको एन्टिडम्पिङ ड्यूटी भने कायमै छ । भारतीय बजारमा सानो हिस्सा मात्र ओगट्ने नेपाली जुटको उत्पादनमा भारतले सीभीडी तथा एन्टिडम्पिङ ड्युटी लगाउँदै आएको थियो । भारतको जुट क्षेत्रमा नेपाली उत्पादनको जम्मा दुईदेखि तीन प्रतिशत मात्र हिस्सा छ ।

विश्व व्यापार संगठनको प्रावधानअनुसार एउटा मुलुकले आफ्नो उत्पादनमा उच्च अनुदान दिएर सामानको मूल्य अति सस्तो गराएको अवस्थामा आन्तरिक उत्पादनको रक्षार्थ आयातीत सामानमा सीभीडी लगाउन सक्छ । तर, नेपालको जुट उद्योगका लागि सरकारले न अनुदान दिएको छ न कुनै सहुलियत, त्यसकारण पनि ड्युटी लगाउन नमिल्ने तर्क जुट व्यवासायीको छ । जुट तथा जुटजन्य सामग्रीमा भारत सरकारले लगाउँदै आएको काउन्टर भ्याली ड्युटीमा पनि त्यो अवस्था थिएन । भारतमा बंगलादेशबाट जुटको आयात ठूलो मात्रामा हुने गरे पनि बंगलादेशको उत्पादनका लागि सीभीडी लागू गरिएको छैन । दुवै प्रकारका ड्युटी हटाउन भारतस्थित नेपाली दूतावासले पछिल्लो तीन महिनादेखि सम्बन्धित विभागमा नियमित पत्राचार तथा फलोअप गरिरहेको थियो ।

दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करले भन्नुभयो,‘यस किसिमका ड्युटी हटाउन दूतावासले निरन्तर कूटनीतिक र प्रशासनिक तहमा पहल गरिरहेको छ । सीभीडी हटाइएको छ यसले नेपाली जुट व्यवसायीलाई राहत दिन्छ ।'

भारतमा बंगलादेशबाट जुटको आयात ठूलो मात्रामा हुने गरे पनि सीभीडी लागू गरिएको छैन ।

भारतले हटाइसकेका यस किसिमका कर व्यावहारिक रूपमा लागू गर्न कठिनाइ भइरहेको छ । कर लागू गर्ने सूचना जारी हुने वित्तिकै लागू हुन्छ तर हटाइएका कर तत्काल लागू नहुने व्यवसायी गुनासो गर्छन् । यसअघि भारत सरकारले हटाइसकेको ४.५ प्रतिशतको सेवा कर पनि व्यवहारमा लागू नभइरहेको सरोकारवालाको गुनासो छ ।

एन्टिडम्पिङ् ड्युटी हटाउन पहल

भारत सरकारले २०१७ जनवरी ५ तारेखदेखि नेपाली जुट तथा जुटजन्य सामग्रीमा लगाउँदै आएको एन्टिडम्पिङ ड्युटी हटाउन पहल गरिएको छ । नेपाली जुट उत्पादनमा अधिकतम ४ प्रतिशतसम्म एन्टिडम्पिङ ड्युटी लागू गर्ने निर्णय गरिएको थियो । ‘जसरी सीभीडी हटाइएको छ त्यसरी नै एन्टिडम्पिङ ड्युटी हटाउन कूटनीतिक तथा प्रशासनिक पहल जारी छ, छिट्टै नै भारत सरकारले यसबारे पनि निर्णय गर्छ', मिनिस्टर पुष्करले भन्नुभयो ।




भारतीय एन्टिडम्पिङ विभागका अधिकारीले गत अगस्टमा नेपालको जुटजन्य उद्योगको निरीक्षण गरेपश्चात उद्योगले निर्धारण गरेको मूल्यमा पाँच प्रतिशतभन्दा कम मुनाफा आर्जन गरेको भन्ने आधारमा एन्टिडम्पिङ ड्युटी लगाएको हो । नेपाली उद्योगीले दुई प्रतिशत मुनाफा देखाउँदै आएका थिए । आन्तरिक उद्योग संरक्षणका लागि भारत सरकारले नेपाल र बंगलादेशबाट आयात गरिने जुट तथा जुटजन्य उत्पादनमा एन्टिडम्पिङ ड्युटी लगाएको छ । बंगलादेशबाट आयात गरिने सामानको अधिकतम ३० प्रतिशतसम्म एन्टिडम्पिङ ड्युटी तोकेको छ । यस्तो शुल्कले नेपाली उद्योगलाई धराशायी बनाउने जुट उद्योगी व्यवसायीले बताउँदै आएका छन् ।

नेपालबाट भारत बोरा, सुतलीलगायतका सामान निकासी हुने गरेको छ । दैनिक तीन सय टन जुटजन्य सामग्री भारत निकासी हुँदै आएको छ । जुट उत्पादनको खपत पनि भारतीय बजारमै निर्भर छ । ३ प्रतिशत हिस्सा रहेको नेपाली जुटले भारतीय आन्तरिक उद्योगको संरक्षणमा कुनै फरक नपार्ने तर्क नेपाली जुट उद्योगीको छ । नेपालले उत्पादन गर्ने जुटजन्य सामग्री उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थको झन्डै ६० प्रतिशत हिस्सा भारतबाट नै आयात हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.