एयरपोर्टले ६१५ परिवार घरबारविहीन
भैरहवाः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाका कारण यस क्षेत्रका ६ सय १५ परिवार घरबारविहिन भएका छन् । सरकारले एकैसाथ पाँच सय बिघा जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाउँदा यति धेरै परिवारको घरखेत सबै अधिग्रहणमा परेको हो । सरकारले अधिग्रहणको सूचना जारी गरी सर्भेनाप लिई घर छोड्न निर्देशन दिएसँगै यस क्षेत्रका किसान एवं सर्वसाधारणमा कोलाहल मच्चिएको छ ।
‘सरकारी मान्छे घरै आएर यही झुपडी पनि छोड् भनेका छन् । पैसा पनि दिएका छैनन् । हामी गरिब दुःखी अहिले घर न घाटका भएका छौं । म त अब डाँडामाथि पुगेँ । मरे पनि पिरछैन तर यी बच्चा बिच्चलीमा पर्ने भए । अर्को झुपडी बनाउने उपाए आम्दानी आफूसँग छैन । यो गतिले सडकछापमा खै कसरी बाँच्ने', अधिग्रहणमा परेको जग्गा देखाउँदै भुजौलीकी सुमीत्रा पासीले भन्नुभयो । उहाँका पाँच जना छोराछोरी छन् । भैरहवा गल्लामण्डीमा पतिको लेबर कामबाट उनीहरूले विहानसाँझको हातमुख जोड्दै आएका छन् ।
सुमीत्राजस्तै उक्त क्षेत्रमा विमानस्थल विस्तार गरिँदा ६ सय १५ घर र चार हजार पाँच सय कित्ता जग्गाधनी उठीबास भएका छन् । अधिग्रहणमा परेका घर एवं जग्गाधनीलाई आफ्नो जग्गाको बाली, बोटबिरुवा तथा घरटहरालगायतका भौतिक संरचना एक वर्षभित्र उठाई लैजानसमेत आग्रह गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजनाका निर्देशक शर्माले बताउनुभयो ।
आयोजनाले सरोकारवालालाई उक्त क्षेत्रमा खेतीबाली भोकचलन गर्दा जग्गाको स्वरूप परिर्वतन नगर्न र बेचबिखन गर्नमा रोक लगाउँदै एकैसाथ भैरहवाको पुरानो वस्तीमा जग्गा अधिग्रहणको प्रस्ताव अगाडि बढेकोमा विमानस्थलक्षेत्रका घरजग्गाधनी आतंकित एवं आक्रोशित बनेका छन् ।
अधिग्रहण गरिने जग्गामा अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा हुने आधुनिक वैज्ञानिक सिस्टमको राडार जडान, जहाज मर्मत केन्द्र, वृहत कार्गो सेन्टर, फ्युल सेन्टर र सुरक्षा गुल्म राखिने गुरुयोजना छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल घरजग्गा अधिग्रहण पीडित सरोकार समितिका अध्यक्ष रमेश अग्रवालले पुस्तौदेखि बस्दै आएको पुर्खाको थाकथलो छोड्नु परेकोमा पहिला आन्दोलन गरिएको र सघर्षपछि अहिले सरकारीपक्षले राम्रै मुअब्जा दिने र पूर्ण विस्थापितलाई छुट्टै घरबासको लागि जग्गा उपलब्ध गराउने आश्वासन दिएको बताउनुभयो ।
आयोजनाले विस्थापितको संरक्षणका लागि एयरपोट क्षेत्रमै ‘बुद्ध सागर पर्यटकीय गाउँ' बस्ती विकास गुरुयोजना तयार पारेको छ ।
पूर्ण विस्थापित र अतिबिपन्नलाई मात्रै मर्चवार जाने बाटो लटरवादेखि गैरगटीस्थित घाँघरा खोलाको किनारमा घरबास दिने आयोजना प्रमुख निर्देशक ओम शर्माले बताउनुभयो । आयोजनाले विस्थापितमा पर्नेको संरक्षण गर्न एयरपोट क्षेत्रमै ‘बुद्ध सागर पर्यटकीय गाउँ' बस्ती विकास गुरुयोजना तयार पारेको छ ।
विस्थापितका घाँघराखोला किनारको २६ बिघा प्लटमा आधुनिक तीन सय ३० घरको वैज्ञानिक नक्सा तयार पारिएको छ । त्यहाँ सांस्कृतिक केन्द्र, एयर होटेल, एयर तालिम, विद्यालय, सामुदायिक स्वास्थ्य केन्द्र, सवारीसाधन पार्किङ, प्ले पार्क, विस्थापितलाई सुविधासम्पन्न बस्ती बसाल्ने योजना रहेको निर्देशक शर्माले जानकारी दिनुभयो । घडेरी आठदेखि १२ धुर क्षेत्रफलमा डिजाइन गरिएका छन् ।
यसैबीच सर्भे टोलीले तयार पारेको घरजग्गाको नाप नक्सा फोटो स्थलगत निरीक्षण विभिन्न दृष्टिकोणले तयार गरिएका प्रतिवेदन अध्ययन गरी सरोकारवाला पक्षसँग छलफल गरी टुंगो लगाइने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । अब छिट्टै मुअब्जा निर्धारण मूल समितिको बैठकले विशेष मापदण्ड बनाएर पीडितलाई मुअब्जा रकम वितरणको काम सुरु गरिने उहाँले बताउनुभयो ।
राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको यो विमानस्थल निर्माणका लागि ६ अर्ब लाग्नेछ भने जग्गा अधिग्रहणका लागि आयोजनाले नौ अर्ब थप रकम माग गरेको छ । चालू वर्षमा सरकारले जग्गा अधिग्रहणका लागि चार अर्ब रकम विनियोजन गरेको छ ।