मोर्चा एकता
विगत केही वर्षदेखि ‘मधेसी अधिकार' का लागि दलीयरूपमा आआफ्ना पृथक पहिचानसहित एउटा मोर्चा या मञ्च बनाएका ६ वटा दल एउटै पार्टीमा विलय भएका छन् । राष्ट्रिय जनता पार्टी र पार्टीको चिन्हका रूपमा छाताको ओत लागेका छन्, हिजोसम्म ६ विभिन्न दलमा छरिएका नेता तथा कार्यकर्ता । मोर्चामा लामो समयसम्म आबद्ध दल मिलेर एउटा पार्टी बन्दा के त्यसले आकार, प्रभावकारिता र स्वीकार्यतामा फरक अर्थ राख्ला र ? पक्कै पनि राख्छ, मनोवैज्ञानिकरूपमा, मुख्यतः ।
‘यी नेता र दल मिल्न सक्दैनन्' भन्ने आम खिन्नता र आशंकालाई केही हदसम्म सम्बोधन गर्छन् यस्ता एकताले । नेपालको ठूलो रोग हो राजनीतिक दलहरूको बाहुल्यता । साम्यवादी पृष्ठभूमि, राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमि, ती दुई शक्तिको निकटता संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका नाममा, अनि त्यसका विरुद्ध रहेका संगठित तथा असंगठित शक्तिहरूले नेपाली राजनीतिको आम प्रवृत्तिलाई प्रतिनिधित्व गर्छन् । तर सिद्धान्तमा समानता देखिए पनि दलरूपी दुकानहरू अत्यधिक संख्यामा, या झन्डै दुई सयको हाराहारीमा पुगेका छन् अहिले । यी दल र हिजो एकै ठाउँमा नारिएका व्यक्तिहरू आज फरक-फरक दुकानका मालिकका रूपमा देखिनुले जनतालाई राजनीतिप्रति आकर्षित गर्नुभन्दा उनीहरूलाई विकर्षित तुल्याउनेछ।
राष्ट्रिय जनता पार्टी गठनको आधार र औचित्य भोलि त्यसका गतिविधि र शैलीबाट पुष्टि हुनु आवश्यक छ । समग्र नेपालजस्तै मधेस विविधताले प्रचुर छ । त्यहाँ फरक जातजाति, संस्कृति, भाषा र आर्थिक समृद्धिको सम्भावना पर्याप्त छन् । त्यहाँ विभेद पनि छ, जात-जातमा, महिला-पुरुषमा र धनी-गरिबमा सम्भवतः अन्यत्र भन्दा बढी नै । २०६३ को आन्दोलन र त्यसपछिको निर्वाचनमा कथित माथिल्लो जात र अन्यका बीचमा एकता बन्न नसकेपछि तराईमधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरमको उदय भएको थियो ।
क्षेत्रीय पार्टीका रूपमा र निर्वाचनमा आकर्षक प्रतिस्पर्धा गरेका कांग्रेस, एमाले र माओवादीजस्ता राष्ट्रव्यापी पार्टीहरूविरुद्ध । दोस्रो निर्वाचनसम्म आइपुग्दा ती मधेसी दलहरूको नेतृत्व पनि अरूजस्तै अपारदर्शी (केही अपवादबाहेक ), भ्रष्ट, सत्तामुखी र सम्झौतामुखी बन्न पुगेका थिए । त्यस्तै कुनै पनि हालतमा मधेसबाट पुस्तौंदेखि बसोबास गरेका पहाडीहरू समेतलाई खेद्ने र अर्कोतिर त्यहाँका आदिवासी थारू र राजवंशीमाथि आफ्नो नेतृत्व लाद्ने प्रयोगमा पनि मधेसी दलहरू लागे । यता आएर खेद्ने कोसिस गरेका पहाडी जनजातिसँग मोर्चा बनाउने अर्को प्रयास पनि गरे उनीहरूले ।
राजनीतिमा विभिन्न प्रयोग गर्ने छुट हुन्छ दलहरूसँग, तर असहिष्णुता र घृणाको राजनीति अन्ततः त्याज्य र प्रत्युत्पादक बन्न जान्छ । गौरकाण्डको पृष्ठभूमिलाई छोडेर बाबुराम भट्टराई र उपेन्द्र यादवको मितेरीले उनीहरूले त्यो मान्यता स्वीकारेको देखिन्छ । तर त्यो छोटो राजनीतिक स्वार्थबाट मात्र प्रेरित हो भने उनीहरूको विश्वसनियता स्थापित हुन सक्दैन ।
जे होस् एकतापछिको दलले आफ्ना मागलाई राष्ट्रिय स्वार्थ र पहिचान अनि यथार्थको सेरोफेरोमा राखी प्रजातान्त्रिक प्रक्रियामार्फत मुलुकको राजनीतिलाई अगाडि बढाउन सक्यो भने त्यसले एकताको औचित्य पुष्टि गरेको मनिनेछ । यो एकताको प्रयोग सफल भएमा सम्भवतः नेपालमा च्याउ उम्रिएजसरी दलहरू उम्रने प्रवृत्तिमा पनि स्वस्थ्य प्रभाव पर्न सक्छ । समान मान्यता र सिद्धान्तका दलहरूको एकतालाई यसले पे्ररित गर्न सक्छ ।