अमेरिकी युद्धपोत ध्वस्त पार्ने प्योङयाङको धम्की
सोलः उत्तर कोरियाले आइतबार अमेरिकी एयरक्राफ्ट वाहकलाई समुद्रमा डुबाइदिने धम्की दिएको छ । त्यसका लागि आफू सक्षम भएको बताउँदै यस्तो धम्कीको चेतावनी दिएको हो । अमेरिकाले आफ्ना एयरक्राफ्ट यूएसएस कार्ल विन्सन पश्चिमी प्रशान्त महासागरमा पठाएको भोलिपल्टै उत्तर कोरियाले धम्की दिएको हो ।
हाल त्यस क्षेत्रमा जापानका दुईवटा जहाज र अमेरिकी एयरक्राफ्टले संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरियाली प्रायद्वीप भ्रमणका क्रममा उत्तरका गतिविधिबाट अमेरिकी धैर्य टुटिसकेको जानकारी दिएका थिए । कूटनीतिक तवरमा कोरियासँगको सम्भावना सकिएको बताउँदै आक्रमण गर्न सकिने चेतावनी दिएका थिए ।
उत्तर कोरियाको सरकारी पत्रिकाले लेखेको छ, ‘हाम्रो सेनाले एकैपल्टको आक्रमणमा अमेरिकी एयरक्राफ्ट समुद्रमै डुबाइदिन सक्षम छ । परमाणु शक्तिसहितको उक्त एयरक्राफ्ट डुबाइदिनु हाम्रो सैनिक शक्तिको शानदार उदाहरण हुनेछ ।' उत्तर कोरियाले मंगलवार कोरियाली पीपल्स आर्मीको ८५ औं स्थापना दिवस मनाएको थियो । उत्तर कोरियाले त्यस्ता अवसरलाई आफ्नो हतियार परीक्षण गर्ने मौकाको रूपमा प्रयोग गर्दै आएको छ । यो वर्ष पनि प्योङयाङले यस्ता परीक्षण गरेका समाचार प्रकाशित भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना एयरक्राफ्ट वाहक युएसएस कार्ल विन्सनलाई कोरियाली सिमानाको छेवैमा समुद्रमा तैनाथ गर्न आदेश दिइसकेका छन् । यसबाट उत्तर कोरियालाई तह लगाउन सकिने अमेरिकी बुझाइ छ । प्योङयाङले क्षेप्यास्त्र प्रयोग गरेलगत्तै ट्रम्पले यस्तो आदेश दिएका थिए । अमेरिकी हित र मित्रहरूको रक्षा गर्न यस्तो कदम उठाएको उनको कथन छ । जापान, दक्षिण कोरिया, भियतनाम जस्ता अमेरिकाका मित्रहरूलाई धम्की दिँदा उनीहरूको रक्षा गर्नु आफ्नो दायित्व भएको अमेरिकी दाबी छ ।
कोरियाली प्रायद्वीपमा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासको उत्तरले विरोध गर्दै आएको छ । यसबाट कोरियाली प्रायद्वीपमा अमेरिकाले अस्थिरता र अशान्ति सिर्जना गर्न खोजेको प्योङयाङको भनाइ छ । अझ दक्षिण कोरियामा अमेरिकाले उच्च सुरक्षा प्रणाली (थाड) तैनाथ गरेपछि उत्तर निकै आक्रामक देखिएको छ ।
उत्तर कोरियाली परमाणु शक्ति र क्षेप्यास्त्रलाई ट्रम्पले निकै खतराको रूपमा चित्रण गर्न थालेका छन् । एसियाली मुलुकसँगको सम्बन्धमा सैन्य क्षेत्रमा लगानी नगर्ने उनको सुरुको भनाइ अहिले बदलिएको छ । उत्तरले भने आत्मरक्षार्थ परमाणु हतियार बनाएको स्पष्ट पार्दै आएको छ । आफ्नो काममा हस्तक्षेप गर्न खोजेको भन्दै उसले छिमेकका जापान र दक्षिण कोरियामा परमाणु आक्रमणको धम्की दिा थालेको छ ।
उत्तर कोरियामा अमेरिकी पक्राउ
दक्षिण कोरियाको सञ्चारमाध्यमले उत्तर कोरियाले एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको समाचार प्रसारण गरेका छन् । उत्तर कोरियाबाट आफ्नो देश अमेरिका फर्कने तयारीमा रहेका अमेरिकी नागरिक किमलाई विमानस्थलबाट हिरासत लिइएको हो । किम उत्तर कोरियाले हिरासतमा लिएका तेस्रा अमेरिकी नागरिक हुन् । यसअघि जासुसी र चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । किमको पक्राउबाट प्योङयाङ र वासिङटनबीच द्वन्द्व बढ्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाली समाचार सेवा योन्हापका अनुसार पचास वर्षीय किम चीनको यानबियान विश्वद्यिालयका प्राध्यापक हुन् । उनी गत एक महिनादेखि उनी उत्तर कोरियामा राहत कार्यमा सहभागी भएको बताइएको छ । उत्तरले भने किम उत्तरमा अमेरिकाका लागि गुप्तचरी गरेर फर्कंदै थिए ।