निर्वाचन कति सुनिश्चित ?

 निर्वाचन कति सुनिश्चित ?

संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण खुट्किलाका रूपमा प्रस्तुत गरेको छ, सत्ता गठबन्धनले प्रस्तावित स्थानीय तह निर्वाचनलाई । त्यो निर्वाचनमा संविधान बहिष्कारदेखि त्यसविरुद्ध भारतीय नाकाबन्दी निम्त्याएको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाले यता आएर निर्वाचनमा सहभागी हुनु भनेको सिद्धान्ततः संविधानको स्वीकार्यता बढ्नु हो । त्यसको श्रेय निकै हदसम्म सत्ता गठबन्धनलाई जानेछ । तर के मोर्चाको निर्वाचनमा सहभागिता सुनिश्चित भएकै हो त ? त्यस अर्थमा के त्यो उपलब्धिले कुनै अन्य घाटा त निम्त्याउँदैन राजनीतिमा ? मधेसी मोर्चालाई निर्वाचनमा पर्याप्त समय दिनुपूर्व निर्धारित वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ आइतबार ।

त्यससँगै संविधानमा संशोधन गरी मधेसी मोर्चाका केही माग तत्काल सम्बोधन गर्ने निर्णय पनि सरकारले गरेको छ । संविधान संशोधनको आफ्नै प्रक्रिया हुन्छ र त्रिशंकु संसद्मा त्यो पारित नै होला भनी ढुक्क हुन सक्ने स्थिति छैन । त्यसैले संशोधन विधेयक पराजित भएको अवस्थामा मोर्चा निर्वाचनमा जाने निर्णयमा दृढ रहला या त्यसबाट विचलित होला, त्यसले उसको राजनीतिक विश्वसनीयता र सत्ता गठबन्धनसँगको मोर्चाको सान्दर्भिकता या औचित्य पुष्टि गर्नेछ ।

राजनीतिमा भनाइ र गराइबीचको सम्बन्ध त्यति निकटको हुँदैन, खासगरी नेपाल लगातार त्यस्तो उदाहरण बन्नै गएको छ । अतीतमा भएका भनिएका भद्र सहमति अर्थहीन कागजका टुक्रामा सीमित बनेका छन् । शनिबार मोर्चासँग समझदारी बनेको भोलिपल्ट मन्त्रिपरिषद्ले स्थानीय निकाय निर्वाचन दुई चरणमा गर्ने र त्यसलाई सुनिश्चित गर्न संविधान संशोधन गर्ने निर्णय गरेलगत्तै प्रतिपक्षी नेता केपी ओलीकहाँ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग ओलीले सहमतिको दस्ताबेज देखाउन आग्रह गरे ।

त्यसले नेपाली राजनीतिमा चुलिएको अविश्वास मात्र प्रदर्शित गरेन, यो निर्णयकर्ताहरूको विश्वसनीयतालाई पनि पत्याउन गाह्रो बनेको स्पष्ट देखाउँछ । एमालेले पर्याप्त संख्या जुटाउन सकेन संविधान संशोधन विधेयकको विरोधमा भने पक्कै पनि त्यो पारित हुनेछ । तर प्रमुख प्रतिपक्षले त्यस्तो समझदारीलाई मान्यता नदिँदा सत्ता गठबन्धन र मोर्चाबीचको सहमतिको नैतिक र राजनीतिक हैसियत कमजोर हुन जान्छ ।

निर्वाचन 'संविधान कार्यान्वयन' लाई सत्ता गठबन्धन तथा 'बहिष्कारकर्ता' शक्तिको मात्र आन्तरिक या दुईपक्षीय विषय बनाउँदा त्यसले सर्वस्वीकार्य सहमति हासिल गर्न सक्तैन । निर्वाचनकै लागि भनेर त्यसलाई दुई चरणमा गर्ने घोषित प्रतिबद्धता आए पनि यसले केही थप अनिश्चितता र जटिलता पैदा गर्ने सम्भावनालाई बेवास्ता गर्नु हुँदैन । मुख्य प्रतिपक्षलाई सँग लैजान नसके त्यसले राजनीतिक दुर्घटना निम्त्याउनेछ । दोस्रो नौ महिना पहिला नेपाली कांग्रेस र माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले पद भार सम्हाल्नुपर्ने देखिन्छ, पहिलो चरणलगत्तै । त्यो कार्यान्वयन हुँदा या नहुँदाको अवस्थामा त्यसले निर्वाचनलाई कसरी असर पार्ला ?

त्योसँगै पहिलो चरणपछि सफल भएको अवस्थामा दोस्रो चरणको निर्वाचनमा व्यवधान पुर्‍याउन मोर्चा र गठबन्धनसँग चिढिएको राजनीतिक र अपराधीहरू बढी संगठित र सक्रिय हुनेछन्, जुन नेपाली सेनालगायत सुरक्षाकर्मीहरूका लागि ठूलो चुनौतीको विषय हुनेछ । सरकार यी विषयबारे कतिको संवेदनशील छ, त्यसले निर्वाचनको स्वीकार्यतामा हिसाबले धेरै अर्थ राख्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.