रङ बेच्दाबेच्दै मालिक
नेपालगन्जः बुबाले देखेको सपनाको पछि हिँडेको भए किरण कार्की यतिबेला कुनै अदालतमा कालो कोट लगाएर ‘वकालत' गर्दै गरेका भेटिन्थे होलान् । तर, उनलाई कानुन पढ्न क्याम्पस पढ्दादेखि नै वकिल बन्ने मन मरिसकेको थियो । बुबाकै लागि जेनतेन एलएलबी गरे ।
एक त मनै थिएन । दोस्रो अभ्यास शिक्षणका लागि एक दिन अदालत पुगेका किरणले देखे आफैंलाई कानुन पढाउने गुरुले एउटा अपराधीको पक्षमा वकालत गरिरहेका थिए । ‘म त्यसरी पैसा कमाउन सक्दिनजस्तो लाग्यो, आखिर पैसा नै कमाउने भए त बरु अरू नै व्यापार गरे भैगो नि ? ' उनी सम्झिन्छन्, ‘त्यसपछि त वकालततिर झन् मनै गएन ।'
वकालतसँग मन भाँचिएपछि उनले बाटो मोडे । कानुनको स्नातक रङका बिक्रेता बने । विभिन्न ब्रान्डका रङ बेच्न घरघर पुग्न थाले । अरू ब्रान्डको रङ बेच्न घरघर चाहार्ने उनै कार्की अहिले ‘आशीर्वाद पेन्टस्' उद्योगका मालिक भएका छन् । अहिले पश्चिम नेपालमा चम्किन थालेको रंग कम्पनी हो यो । तीन वर्षअघि नेपालगन्जमा स्थापना भएको यो कम्पनीले पश्चिम नेपालमा रङको बजारलाई विस्तारै पकड जमाउन थालेको छ ।
आशीर्वाद पेन्टस्का जन्मदाता कार्कीको कथा भने अलि फरक छ । यो चरणसम्म आइपुग्न उनले धेरै बांगाटिंगा बाटो हिँडेका छन् । अनेकन् कष्ट झेलेका छन् । चुनौती सामना गरेका छन् ।
अदालतमा देखेको त्यो घटनापछि वकालत गर्दै नगर्ने कसम खाएका किरण कुनै बेला काठमाडौंका पसलपसलमा मार्लब्रो चुरोट बेच्थे । यो अमेरिकी कम्पनीले उनलाई राम्रै सेवासुविधा पनि दिएको थियो । आफ्ना सरकारी जागिरे दाजुभन्दा झन्डै दोब्बर कमाउँथे त्यहीबेला । उनले केही पैसा जम्मा गर्दै गए । त्यही सपना देखे आफैं मालिक भएर केही गर्ने । सपनाले हुटहुटी जगायो । उनले चुरोट बेच्न छाडे ।
त्यसपछि गृहजिल्ला दाङ फर्किएका उनले देउखुरीमा कुखुरा फर्म खोले । फर्मसँग उनको मासु पसल पनि थियो । उनी आफैंले कुखुरा भुत्ल्याउँथे । कानुनमा डिग्री सक्काइसकेका थिए । ‘डिग्री गरेको मान्छे, चल्ला भुत्ल्याउँछ रे...' बजारभरि हल्ला फैलियो । हल्ला जस्तोसुकै सही, त्यसैले गर्दा पनि उनको फर्म झनै चम्किन थाल्यो ।
वकिल हुने सम्भावना छाडेर फरक बाटो हिँडेका किरण कार्की अहिले रङ कम्पनीको मालिक भएका छन् ।
०६२ सालसम्म फर्म अनि मासु पसल यति राम्रो चल्यो, किरणलाई लाग्यो ‘अब एक दिन ठूलै मालिक बन्छु ।' उनले लाखौँ ऋण सापटी लिएर दाना उद्योग पनि खोले । कुखुरा आफ्नै थिए । दाना पनि बेच्न थाले । मासु पनि बेच्न थाले । त्यहीबीचमा नेपालमै पहिलोपटक बर्ड फ्लु भेटिएको समाचार सनसनी भयो । व्यापार चौपट भो । फर्ममा भएका आठ हजारभन्दा बढी कुखुरा शंकाकै भरमा माटोमा ज्यँदै पुरिए । सारा खोर रित्तो भयो । उनी फेरि सडकमै आए । ‘तैपनि सपना देख्न छाडिनँ, सपना त आखिर देखेपछि पूरा हुन्छ नि' जतिसुकै चोट खाए पनि कहिल्यै हतास नहुने उनी भन्छन्, ‘र, फेरि जागिर खाने निधो गरेँ, अब मालिक बन्न केही समय कुर्नै पर्ने देखियो ।' त्यसपछि उनी एउटा मल्टिनेसनल कम्पनीले उत्पादन गरेको ‘रङ' बेच्न दौडिए । त्यो पनि मार्केटिङकै काम थियो । उनले बेच्ने रंगले रंगिएका घर देख्दा उनी आफूलाई बेरङ ठान्थे । ‘तर, सपना झन् रंगीन हुन थालेका थिए ।'
त्यही बीचमा दाङबाट नेपालगन्ज झरेर उनले रङ बेच्ने पसल खोले । नाम राखे ‘आशीर्वाद रङ पसल ।' केही समय रङ पसल चलाएपछि सोच्न थाले, ‘अरूको उत्पादन कति दिन बेचिरहने ? ' आफ्नै कम्पनी खोल्ने सपनाले रातदिन पिरोलिन थाले । उनी त्यसैको दौडाहामा लागे । साथीभाइ, इष्टमित्र सबैसँग सहयोग मागे । ऋण सापटी भयो । अनि, कम्पनी खुल्यो, नेपालगन्जको औद्योगिक क्षेत्रमा । त्यही पसलको नामबाट रङ उत्पादन कम्पनीको नाम राखियो ‘आशीर्वाद पेन्टस् ।' पश्चिम नेपालको पहिलो रङ कम्पनी हो, आशीर्वाद पेन्ट्स । त्यो बेला रकम सहयोग गर्ने साथीहरूलाई डिलर राख्न लगाएर उनले आफ्ना उत्पादन बेच्न लगाए, ठाउँठाउँमा । कसैलाई कम्पनीको सेयर दिए । कसैको रकम फिर्ता गर्दै छन् ।
बहुराष्ट्रिय कम्पनीका उत्पादन यतिबेला नेपाली बजार कसरी कब्जा गर्ने दाउमा छन् उनी । एसियन, बर्जरजस्ता देशविदेश चर्चामा रहेका रङको बीचमा आफ्नो छुट्टै पहिचान बनाउनु कम्ती चुनौतीको काम होइन । आशीर्वाद पेन्ट्ससँग अहिले कम्तीमा ४ सय विक्रेता छन् । अनि तीसँग जोडिएका हजारौं पेन्टर । ‘उहाँहरू नै हाम्रा लागि सबथोक हुनुहुन्छ', किरण भन्छन्, ‘उहाँहरू नभए हाम्रो रङमा चमक आउँदैन ।'
दैनिक २२ थरीका करिब ६ टन रङ उत्पादन गर्दै आएको आशीर्वाद अहिले पश्चिम महाकालीदेखि पोखरासम्मका बजारमा फैलिइसकेको छ । ‘यो सालभरि हामी राष्ट्रव्यापी कम्पनीका रूपमा विस्तार हुने लक्ष्य लिएका छौँ' ३९ बर्से उद्योगपति किरण उत्साही भएका छन् ‘०८० सालभित्र हामी देशकै उत्कृष्ट रङ कम्पनी हुन चाहन्छौँ किनकि हामी उपभोक्तालाई गुणस्तर र मूल्यमा कहिल्यै धोका दिन्नौँ ।' एउटा सामान्य मेसिनबाट उत्पादन सुरु गरेको उनको कम्पनीमा अहिले आठ वटा अत्याधुनिक मेसिनले उत्पादन गरिरहेका छन् ।
‘अझै पनि कच्चा पदार्थ, भारतबाटै ल्याउनुपर्छ । हाम्रा नेपाली पहाडमा पनि हामीलाई चाहिने धेरै कच्चा पदार्थ छ तर सरकार सुन्दैन, मतलव गर्दैन', किरणको गुनासो छ । तर, उनी भन्छन्, ‘विद्युत्, कच्चापदार्थ अनि लगानीको वातावरण अझै बलियो भयो भने हामी दशकभित्रै रङमा आत्मनिर्भर हुन सक्छौँ ।'