कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प अबेबीच फोनवार्ता
टोकियो: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार फोनवार्ता भएको समाचार छ।
समाचारअनुसार जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार फोन सम्पर्क गर्नुभएको थियो । उक्त समाचार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले आज जनाएको छ।
कोरियामा पछिल्लो समयमा शान्ति भड्किएको छ। सो असहज परिस्थितिको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा उहाँहरुबीच कुराकानी भएको जापानी समाचार समिति, क्योडोले जानकारी दिएको छ।
आबेले सो फोनका क्रममा भएको कुराकानीमा उक्त अशान्तिको अवस्थालाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिएको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री आबेले आजको फोनमा भएको कुराकानीको बारेमा सो जानकारी प्रेसलाई गराउनुभएको बताइएको छ। सो क्रममा उत्तर कोरियालाई शान्ति र संयमता अपनाउनका लागि आग्रह गर्ने बारेमा छलफल भएको थियो।
उत्तर कोरियामा अहिले पनि आणविक परीक्षणको होडबाजी भइरहेको बताइएको छ । उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्ने गरेको छ ।
फेरि पनि उसले एक दुई दिनमै अर्को परीक्षण गर्नसक्ने अनुमानहरु विश्वव्यापी रुपमा नै गरिरहेको छ । सो विषयमा पनि उहाँहरुबीच कुराकानी भएको पनि ह्वाइटहासले जानकारी दिएको छ। यदि फेरि पनि यस्तो आणविक परीक्षण गरिएमा यसको जवाफ सैनिक कारबाहीबाट दिने चेतावानी अमेरिकी राष्ट्रपति ट्रम्पले दिनुभएको छ।
तर पनि यस्तो कारबाही आफूमाथि गरिएमा यसका विरुद्धमा आफूले आणविक आक्रमण गरेरै दिने उत्तर कोरियाले पनि बताउँदै आएको छ। अमेरिकी राष्ट्रपतिले विगतका केही समयदेखि नै उत्तर कोरियाका सामु आणविक परीक्षणसहित सबै प्रकारका विकल्प राखिएको जानकारी दिँदै आउनुभएको छ। यसको उत्तर कोरियाली नेताले कडा जवाफ दिँदै आउनुभएको छ। रासस/सिन्ह्वा