सुन पसलमा राजस्वले लगायो सिल
बुटवल : बुटवलका पाँच गहना सप्लायर्समा पश्चिमाञ्चल क्षेत्रीय अनुसन्धान कार्यालय बुटवलले सवादुई किलो सुन सिलबन्दी गरेको छ । बंगाली कालीगढले गहना निर्माण गरिरहेको स्थानमा छापा मारी सवा दुई किलो अर्थात २२२ तोला सुन सिल गरेको हो । यो सुनको सोमबारको बजार मूल्य एक करोड २२ लाख रुपैयाँ छ ।
तर, राजस्व अनुसन्धानले सुन सिलबन्दी गरेको विषयलाई गुपचुप राख्न खोजेको छ । गत शुक्रबार मध्याह्न १२ बजेतिर बुटवलका पाँच वटा स्थानमा राजस्वले छापा मारेको थियो ।राजस्व अनुसन्धान कार्यालयका प्रमुख नरेन्द्रप्रकाश पाण्डेले कालीगढको पसल अवलोकन गरिएको तर अरु केही नगरिएको बताउनुभयो । सुराकीका आधारमा छापा मार्न पुगेका थियौं तर त्यहाँ सूचना पाएजस्तो वस्तु फेला परेन', उहाँले भन्नुभयो ।
ठूलो मात्रामा सुन बरामद भएको सूचना गलत भएको उहाँले बताउनुभयो ।अनुसन्धानले छापा मारेर सबै कालीगढसँग भएको सुनमा सिलबन्दी गरेको छ । सिलबन्दीमा परेको रुद्र कम्प्लेक्सका कालीगढ सुशान्तले सुन आफ्नै पसलमा भए पनि राजस्वले सिल लगाएको बताउनुभयो ।सुशान्तको छेउमै रहेको सुरज गहना सप्लायर्सका मोहन सुनारले शुक्रबार १२ बजेतिर राजस्वका व्यक्ति आएर गहनाको बट्टामा सिल गरेको बताउनुभयो । 'सिल भएका गहना खुलेका छैनन्, अरु नयाँ सुन ल्याएर काम गरिरहेका छन्, उहाँले भन्नुभयो ।
सुनचाँदी व्यवसायी संघ बुटवल नगर अध्यक्ष दीपक विश्वकर्माले पाँचवटा कालीगढको पसलको सुन सिल भएको बताउनुभयो ।सुनमा सिलबन्दी गरेको राजस्वले कालीगढलाई आइतबार कार्यालय समयमा हाजिर हुन निर्देशन दिएको थियो । राजस्वले भने कुनै अनुसन्धान नभएको दाबी गरिरहेको छ ।अनुसन्धान टोलीले प्रशान्तको पसलमा ५५ तोला, सुसान्तको पसलमा ३९ तोला र हरिको पसलमा ९२ तोला सुनमा सिल लगाएको छ ।
अन्य दुईको भने नाम खुलेको छैन । यी पाँचै पसल बंगाली कालीगढका हुन् । उनीहरूले हार र चेन बनाउँदै आएका थिए । उनीहरूले बुटवलसहित गुल्मी, अर्घाखाँची, पाल्पाका सुनचाँदी व्यापारीलाई गहना बिक्री गर्दै आएका थिए ।
अवैध सुनबाट गहना बनाएको भन्ने सूचना राजस्वमा पुगेको थियो । प्रहरीले नै सूचना गरेको स्रोतले जनाएको छ । राजस्वले उक्त घटना सार्वजनिक नगरी मिलेमतोमा मिलाउन खोजेको बताइएको छ । लेनदेन समस्या मिलाउने प्रयास भइरहेको स्रोतको दाबी छ ।बंगाली कालीगढले अवैध सुनबाट गहना बनाउने र त्यसलाई वैध बनाउने काम सुनचाँदी व्यवसायीले गर्दै आएका छन् । सिल भएको सुनको बिलभरपाइ नभएको बुझिएको छ ।
बुटवलमा सुनको आयात कम भएकाले अवैध रुपमा सुन आउने गरेको बताइन्छ । काठमाडौं विमानस्थलमा सुन चोरीमा कडाइ भएपछि बुटवलमा सुनको हाहाकार भएको थियो । सुन नपाएको भन्दै बुटवलका व्यवसायीले तीन दिनसम्म सुन पसल बन्द गरेका थिए ।सुनचाँदी व्यवसायीले अहिले पनि सुन महँगो भएको भन्दै ग्राहकबाट बढी रकम असुल्ने गरेका छन् । व्यवसायीले प्रतिगहना एक हजारदेखि तीन हजार रुपैयाँसम्म बढी रकम लिँदै आएका छन् ।