पाठकलाई भूकम्पमा मल्हमपट्टी
काठमाडौं : भूकम्पको दोस्रो वार्षिकीका क्रममा डा. रवीन्द्र समीरले आफ्नो ११औं कृति 'भूकम्पमा मल्हमपट्टी' पाठकमाझ ल्याएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पपछि डा. समीरले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । ती शिविरबाट नौ हजारभन्दा धेरै पीडितले उपचार पाएको उनको भनाइ छ । शिविर सञ्चालनका क्रममा आफूले देखेका र भोगेका अनुभवलाई उनले पुस्तकमा उतारेका हुन्।
भूकम्पले ल्याएको मानसिक, शारीरिक तथा भौतिक असरका बाछिटालाई बुझ्न पुस्तक उपयोगी हुने विश्वास लिएका छन् लेखक समीरले । पुस्तकबारे कलाकार हरिवंश आचार्यले भूकम्पबाट उत्पन्न अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण भनेका छन् ।