तेल बोकेको ट्याङ्कर र बस ठोक्किदा २७को मृत्यु
केन्या: केन्याको नैरोबी मोम्बासा राजमार्गमा मङ्गलबार भएको दर्दनाक दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ।
तेल बोकेको ट्याङ्कर र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा अन्य कैयौं यात्रु घाइते भएका छन्। नैरौबीतर्फ गइरहेको यात्रुबहाक बस माकिन्दुनजिकै काम्बु भन्ने ठाउँमा मध्यरातमा एक तेलट्याङ्करसँग ठोक्किँएर दुर्घटनामा परेको किब्वेजीका विभागीय प्रहरी प्रमुख लेओनार्द किमाइयोले जानकारी दिनुभयो।
“हामीसँग अत्याधिक धेरै मान्छे गुमायौंँ, अरु धेरै गम्भिर घाइते अवस्थामा छन्,” उहाँले पत्रकारहरुसँग भन्नुभयो। उहाँले बसका चालकले अर्को सवारी साधनलाई उछिन्न खोज्दा ट्याङ्करसँग ठक्कर खान पुगेको बताउनुभयो। गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले मृत्यु हुनेको सङ्ख्या पनि अझै बढ्न सक्ने उहाँले अनुमान गर्नुभयो।
“हामीले हतारहतार गरेर घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराइरहेका छौँ,” किमाइयोले थप्नुभयो, “दुर्घटनाभएपछि बसभित्रै च्यापिएका यात्रुहरुलाई मध्यरातमा बाहिर निकाल्न निकै गाह्रो भएको थियो, जतिसक्दो चाँडो हामीले उनीहरुलाई अस्पताल पुर्याएका थियौँ।”
अफ्रिकी मुलुकमध्ये केन्या सडक दुर्घटनामा परी सबैभन्दा धेरै जनाको मृत्यु हुने देशमा पर्दछ। अत्याधिक तथा अनियन्त्रित गति र ट्राफिक नियमको उलङ्घनका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुले बताएका छन्।
सरकारी तथ्यांकका अनुसार पूर्वीअफ्रिकी मुलुकहरुमा वार्षिक तीन हजार जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ। तीमध्ये आधाजति पैदलयात्रु रहेका छन्। रासस/सिन्ह्वा