के हो स्वस्थ जीवनशैली
खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।
चना र मकै झैं मुठीभरि औषधि खाएरमात्र कुनै हालतमा पनि यस्ता रोगहरूबाट मुक्त हुन सकिँदैन । स्वस्थ र निरोगी जीवनका लागि जीवनशैली ठीक राख्न जरुरी छ । स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहारविहारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।
भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले गर्नेे स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्ववलाई मनन् गर्दै स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु अनिवार्य छ ।
- सन्तुलित भोजन
- शुभाचरण
- निद्रा-वि श्राम
- शुभविचार
यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ ।
नियम एक
- बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।
- उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हँुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने ।
- दिसापिसाब तथा स्नान गर्ने ।
- दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने ।
-सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।
- सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।
- कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।
नियम दुई
- काम पूरा लगनका साथ गर्ने ।
- परि श्रमअनुसार वि श्राम गर्ने ।
- बढी भोगविलास नगर्ने ।
- विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।
- समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।
- गहिरो र पर्याप्त निद्रा लिने ।
- सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।
- फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।
- विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।
- फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।
नियम तीन
- घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने ।
- जस्तोसुकै आपत्-विपत्मा पनि मनको धैर्यलाई टुट्न नदिने ।
- हिम्मत र हौसला बनाइराख्ने ।
- ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने ।
- सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने ।
- अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने ।
- जातपात, भेषूभषा मत-सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।
नियम चार
- देशको संविधान र कानुनको पालना गर्ने ।
- देशलाई अहित हुने कुनै काम नगर्ने ।
- सरल र सरस जीवन जिउने ।
- घर सफासुग्घर र फूलहरू रोप्ने ।
- घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने ।
- बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने ।
- भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने ।
- बिछ्यौना सधैं सफासुग्घर राख्ने ।
- लुगाहरू मिलाएर राख्ने ।
- च्यातिएका लुगालाई नष्ट गर्ने ।
- अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने ।
- च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने ।
- नचाहिने किताबहरू व्यवस्थापन गर्ने ।
- टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने ।
- पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने ।
नियम पाँच
- जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।
- मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।
- बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।
स्वस्थ जीवनशैली भनेकै यही हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ ।