‘चिसो' पेयको सट्टा कागतीको सर्बत

‘चिसो' पेयको सट्टा कागतीको सर्बत

गर्मीले थकित भएको बेला वीरेनुन, कागती र पुदिनाको पात हालेर पानी पिउन पाइयो भने शरीरलाई पानी त पुग्छ नै कागतीमा रहेको भिटामिन सी र पुदिनाको पातले रोगसँग लड्ने क्षमता बढाउँछ । गर्मी सुरु हुने बेलामा नै अक्षय तृतीयाको दिन कागती र सौफको सर्बतसँगै जौको सातु खाने चलन अझै छ । सानो छँदा हामी सर्बत, जौको सातुसँगै पाइने दक्षिणाको लोभले छरछिमेकी, ठूलीआमा, सानीआमा सबैकहाँ जान्थ्र्यौं । बिहानको भोजन त त्यही नै हुन्थ्यो ।

कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको बेला हुने विभिन्न पेटको गडबडीबाट बच्न सकिन्छ, गर्मीमा शरीरलाई चाहिने पानी पर्याप्त ऊर्जा हुन्छ । अपसोच यो छ कि सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर त अक्षय तृतीयाको दिन पनि प्याकेटका फलफूलको महँगो र स्वास्थ्यलाई हानि पुर्‍याउने फलफूलको नक्कली रस, चिसा पेयपदार्थ प्रयोग गरिन्छ ।

चिसो पेयले नोक्सानी

अहिलेको नयाँ पिँढीलाई त सायद अक्षय तृतीयामा जौको सातु खाइन्छ भने थाहा पनि नहोला ! भ्यालेन्टाइन डेमा गुलाबको फूल दिइन्छ भने चाहिँ थाहा छ ! गर्मीको सुरुवातसँगै चिसो पेयपदार्थ (अस्वस्थ्यकर तर महँगो) को बिक्री बढछ । यस्तो चिसो पेयपदार्थले हड्डीहरू कमजोर गराउँछन् । तर गर्मीको बेलामा एक दिन ‘स्वाद' पाइन्छ भनेर त्यस्तो चिसो पेयपदार्थ त आफ्नो जीवनबाट हटाएकै राम्रो ।

म व्यक्तिगत रूपमा कागतीलाई ‘औषधिको डल्लोे' भन्छु र दैनिक जीवनमा कमसेकम दुईवटा कागती चिया, सर्बत दाल आदिमा मिलाएर प्रयोग गर्छु । कागतीमा पाइने एउटा महत्ववपूर्ण तत्वव हो भिटामिन सी र भिटामिन सीको महत्ववको बारेमा अहिले त धेरैले थाहा पाइसकेका छन् । भिटामिन सीले रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ ।

शायद कागतीको महत्वव बुझेर नै होला पहिले पहिलेका वैद्यहरूले भनेका छन् ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन ।' कागतीमा रहेको भिटामिन सीले भोजनमा रहेको लौह तत्ववलाई शोषण गर्नमा मद्दत गर्छ । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन सीको चक्की दिन्छन् र खानासँग खानु भन्छन् । एकदम कम स्वास्थ्यकर्मीले मात्र कागतीको रस भोजनसँग मिसाएर खानु भन्छन् । कागतीको रस मिसाएर भोजन खानुभन्दा औषधि कम्पनीहरूको फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन ।

रक्तअल्पता कम

फलामको भाँडोमा पकाएको दाल, तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलाको रक्तअल्पता कम हुन सक्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७औं शताब्दीमा पत्ता लागेको हो । शरीरको अतिरिक्त क्रियाकलापलाई सुचारु गर्न यो एसिडको महत्वव छ, यो कागतीमा सहजै पाइन्छ । भिटामिन सीले भरिपूर्ण कागतीको प्रयोग धेरै गरिन्थ्यो होला । यदि कागती विदेशबाट प्याकेटमा आउने र ठूलाठूला पसलमा महँगोमा बेचिने भएको भए । तर फुटपाथमा वा तरकारी पसलमा जताततै पाइने हुनाले यसलाई महत्वव दिइएको देखिँदैन ।

कागतीको चिया जब ‘लेमन' टी भनेर पाँचतारे होटेलमा एक सय ५० रुपैयाँमा बेचिन्छ, हामी मीठो मानेर खान्छौं । सजिलै पैसा तिर्छौं । तर त्यही कागतीको रस हालेर चियाको सर्बत खान वा पाहुनालाई सत्कार गर्दा पाहुनाले अपमान गरेको ठान्लान् कि भनेर हामी डराउँछौं । गर्मीको बेला स्वास्थ्यकर कागतीको सर्बत हामी दिन हिचकिचाउँछौं ।

 

कागतीको रसको प्रयोगले दाँतको गिजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । रुघाखोकी लाग्दा कागतीपानी र मह खानुपर्छ भनेर धेरैजनाले थाहा पाएर प्रयोग गर्छन् । स्वास्थ्यकर्मीले पनि पछिल्लोपटक यस्तो सल्लाह दिन थालेका छन् । कागतीलाई दैनिक भोजनमा प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेक चोटी मौसम बदलिँदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने तथ्य चाहिँ प्रायः छलफलमा आउन थालेको छ।

गाउँघरमा गर्भवती महिलालाई वाकवाकी लाग्दा कागती खानु भनेर सल्लाह दिइन्छ । यसले वाकवाकी कम गर्छ । तर सहरमा यस्तो सल्लाह दिने व्यक्ति छैनन् र महिलालाई वाकवाकी आयो भने तुरुन्तै औषधि नै प्रयोग गर्छन्/गराउँछन् । सहजै पाइने कागतीको रसको सहरमा वास्ता हुँदैन । कागतीको प्रयोगले खाना पचाउन र कब्जियतबाट बचाउन मद्दत गर्छ ।

जाडोको बेला कागतीको रस मनतातो पानीमा हालेर खानदिने चलन हाम्रा अभिभावकले पहिलादेखि नै ल्याएका हुन् । यतिमात्र होइन कागतीको रसले हैजाको कीटाणु वृद्धि हुन रोक्छ भनेर नेपालमा गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ । दुःखलाग्दो कुरा खुमलटार ‘नेपाल एकेडमी अफ साइन्स र टेक्नोलोजी' बाट गरिएको यो अनुसन्धान साधारणको जानकारीमा आएन । यस्तो महत्ववपूर्ण अनुसन्धानको व्यावहारिक प्रयोग हुन अझै पाएको छैन ।

म त घरमा आएका पाहुनालाई कागतीको चिया नै दिन्छु । काठमाडौंबाट बाहिर जाँदा कागती नपाइन सक्छ भनेर ४–५ वटा कागती सँगै बोकेर हिँड्छु । कागतीको बोक्रा चाहिँ टुक्रा पारेर चियामा नै हालेर खान्छु । प्रायः कागतीको रस प्रयोग गर्ने व्यक्तिले कागतीको बोक्रा फ्याक्छन् । कागतीको बोक्रा पनि स्वास्थ्यको लागि लाभदायक छ । कतिचोटी त हामी काम नलाग्ने व्यक्ति वा वस्तुलाई ‘कागतीको बोक्रा जस्तो काम नलाग्ने' भन्ने उपमा दिन्छौं ।

कागतीको बोक्रामा रेसादार पदार्थ र केही मात्रामा क्याल्सियम पनि पाइन्छ । केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले शरीरमा बोसो घटाउन मद्दत गर्दछ भनेर देखाएका छन् । कागतीको बोक्रा कसरी खाने भनेर अलमल हुन सक्छ । तर कागतीको रस निकाल्नुभन्दा अघि कागती धोएर काट्ने र रस निकालेपछि बोक्रालाई सानोसानो टुक्रा पारेर सलादमा हालेर खाने हो भने यो हितकारी हुन्छ ।

सुरुमा स्वाद तीतो लागे पनि पछि बानी बस्छ । यदि तीतो स्वाद मन पर्दैन भने कागतीको बोक्रा सुकेपछि सिसीमा नुन हालेर केही दिन घाममा राखेपछि बोक्रा अचारमा बदलिन्छ र भात, रोटी खाँदा दालमा हालेर खान सकिन्छ । कागतीको रस, बोक्रा सबै स्वास्थ्यको लागि यति लाभदायक छ भने गर्मीमा ‘चिसो' पेयको सट्टा कागतीको सर्बत पिउने बानी किन नबसाल्ने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.