‘सिंहदरबारको अधिकार गाउँमा'

‘सिंहदरबारको अधिकार गाउँमा'

काठमाडौंः कांग्रेसले १० वर्षभित्र मुलुकलाई विकसित देशका रूपमा रूपान्तरण गर्ने गरी स्थानीय चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार अपराह्न सभापति शेरबहादुर देउवाले ५० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्नुभएको हो । पार्टी नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा सभापति देउवाले सिंहदरबारबाट गाउँको विकासको रेखा कोर्ने परम्परावादी र एकात्मक सोच अन्त्य गरी कांग्रेसले स्थानीय तहकै निर्णयमा विकास निर्माण गर्ने र योजना बनाएर लागू गर्ने नीति अघि सारेको बताउनुभयो ।

देउवाले मुलुकमा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने अभियान कांग्रेसकै अगुवाइमा भएको भन्दै आफ्नो पार्टी स्थानीय तहको निर्वाचनसँगै सिंहदरबारको अधिकार गाउँ-गाउँ र टोल-टोलमा पुर्‍याउने पक्षमा रहेको बताउनुभयो । ‘अब मुलुकका दूरदराजको विकास योजना सिंहदरबारमा बुन्ने होइन', देउवाले भन्नुभयो, ‘तिनै गाउँका प्रतिनिधिले कस्तो विकास चाहिन्छ ? कस्तो शासन चाहिन्छ ? कस्तो योजना चाहिन्छ आफैं छान्छन् ।'

कार्यक्रममा घोषणणापत्र तयारी समितिका संयोजक एवं कांग्रेस नेता महेश आचार्यले नेपालमा स्थानीय स्वायत्त शासन ऐन ल्याएर कांग्रेसले जनतालाई अधिकारसम्पन्न बनाउने अभियान सुरुदेखि नै थालेको पनि दाबी गर्नुभयो ।
‘केन्द्रको अधिकार स्थानीय तहमा पुग्नुपर्छ भनेरै कांग्रेस नेतृत्वको सरकारका पालामा स्थानीय स्वायत्त शासन ऐन आएको हो', आचार्यले भन्नुभयो, ‘त्यसकै परिस्कृत रूपमा संघीयता अहिले लागू भएको छ । अब कांग्रेस स्थानीय तहलाई थप मजबुत बनाएर मुलुकमा समृद्धिको मुहान फुटाउन चाहन्छ ।'

उहाँले कांग्रेसले ०१६ सालमै स्थानीय स्वायत्त शासन मन्त्रालय गठन गरेर केन्द्रको अधिकार गाउँमा पुर्‍याउने अभियान थालेको जिकिर गर्नुभयो ।आचार्यले विभिन्न क्षेत्रका व्यक्तिको रचनात्मक सुझावका आधारमा घोषणा पत्र तयार गरिएको बताउँदै मतदाताले अब कुन पार्टीले विगतमा के गरेका छन् त्यसको राम्रोसँग लेखाजोखा गरेर मात्रै आफ्नो मत प्रयोग गर्नुपर्ने बेला आएको बताउनुभयो ।

‘स्थानीय स्वायत्त शासन बलियो र संस्थागत हुने यस्तो महत्ववपूर्ण निर्वाचनमा मतदान गर्दा हतारमा र भावुकतामा निर्णय गर्नुहुँदैन', आचार्यले घोषणपत्र उद्धृत गर्दै भन्नुभयो, ‘कुन पार्टीले लोकतन्त्रलाई बलियो पार्न र जनताका अधिकार संरक्षण गर्न सक्छ ? कुन पार्टीले विभिन्न जाति, भाषा, संस्कृति र जनताबीच सद्भाव कायम राखेर राष्ट्रिय एकता बलियो बनाउन सक्छ ? कुन पार्टी देशमा दिगो शान्ति र विकासका लागि पत्यारिलो पार्टी हो ? यी प्रश्नमाथि विचार गरेर मात्र मतदानको निर्णय गर्नुहोस् ।'

आचार्यले मुलुकको सीमा सुरक्षाले मात्रै मुलुकको राष्ट्रियता बलियो नहुने बताउँदै विभिन्न जाति, समुदाय, धर्म, संस्कृति र क्षेत्रका मानिसबीचको आपसी एकता र भ्रातृत्वले मात्रै राष्ट्रियताको जग बलियो हुने पनि उल्लेख गर्नुभयो । तीन खण्डमा विभाजन गरिएको घोषणपत्रको पहिलो खण्डमा राजनीतिक पृष्ठभूमि, दोस्रो खण्डमा ऐतिहासिक विरासत र उपलब्धि र तेस्रो खण्डमा स्थानीय सरकार र हाम्रो संकल्प समावेश गरिएको छ ।

राजनीतिक पृष्ठभूमिमा कांग्रेसले २००७ साल अघिदेखि सुरु गरेका विकास, समृद्धि र जनअधिकारको विषय समावेश गरिएको छ । यसमा कांग्रेसको नेतृत्वमा भएका विभिन्न आन्दोलनको चर्चा गरिएको छ । त्यस्तै, दोस्रो खण्डमा राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनको संवाहक, सामाजिक परिवर्तनको प्रेरक र लोकतान्त्रिक समाजवाद र आर्थिक विकास अभियानमा कांग्रेसको योगदानको चर्चा गरिएको छ । स्थानीय सरकार र हाम्रो संकल्प भन्ने तेस्रो खण्डमा ‘स्थानीय सरकार र हाम्रो संकल्प' भन्ने विषयभित्र कांग्रेसको अबको परिदृश्यका रूपमा विभिन्न योजना र कार्यक्रम प्रक्षेपण गरिएको छ ।

 

विकास नीतिको मार्गदर्शनका रूपमा ‘समुन्नत घर-गाउँ बीपीको विचार, कल्याणकारी राज्य समाजवादको आधार' भन्ने नारालाई लिइएको छ । उक्त कार्यक्रममा पाँच वर्षभित्र १५ देखि २५ वर्ष उमेर समूहमा शतप्रतिशत साक्षरता हासिल गर्ने, सबै नेपालीलाई स्तरीय शिक्षा दिलाउने गरी गुणस्तर वृद्धि गर्ने, माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ बनाइने, युवालाई तरुण सीप वृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसिप गराउनेलगायत कार्यक्रम छन् ।

त्यस्तै, भौगोलिक विकटताका आधारमा सामुदायिक आवासीय विद्यालय निर्माण गर्ने, प्राविधिक तथा सीप सिकाइ शिक्षालय स्थापना गर्ने, नमुना विद्यालय स्थापनालगायत कार्यक्रम घोषणपत्रमा समेटिएको छ ।

कांग्रेस यो घोषणापत्रमार्फत नयाँ संविधानका आधारभूत मान्यताको पालना र कार्यान्वयनप्रति पूर्णप्रतिबद्ध रहेको घोषणा दृढतापूर्वक गर्न चाहन्छ भनिएको छ । स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारका लागि कांग्रेसले विशेष जोड दिनेछ । कांग्रेसले ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिलाई सुविधा ज्येष्ठ नागरिकलाई दिइरहेको हालको मासिक सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा यसको पुनरवलोकन गरिने उल्लेख गरेको छ ।

प्रत्येक गाउँपालिकामा एउटा एकीकृत ज्येष्ठ नागरिक सेवा आ श्रम स्थापना गरिनेछ । यी आ श्रम सफा, सुविधासम्पन्न र ज्येष्ठ नागरिकको एक्लोपनाको समस्यालाई सम्बोधन गर्ने गरी सम्मानजनक बनाइनेछ । आ श्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, आध्यात्मिक सत्सङ, मनोरञ्जन र भ्रमणलगायत सबै सेवा निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.