कोरियामा अमेरिकाले तैनाथ गर्यो मिसाइल प्रतिरक्षा प्रणाली
एजेन्सी : उत्तर कोरिया र अमेरिका बीच तनाव बढिरहेका बेला अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधिको मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । खबर अनुसार अमेरिकाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेको क्षेत्र दक्षिण कोरियाको दक्षिणी इलाकामा पर्छ । त्यहाँका स्थानीयले यसको व्यापक विरोध गरेका छन् । स्थानीय बासिन्दाको विरोधलाई वेवास्ता गर्दै गाडीमा मिसाइल प्रतिरक्षा प्रणालीका सामान बोकेर गएका अमेरिकी सुरक्षाकर्मी र स्थानी बीच झडप समेत भयो ।
थाड प्रणाली भनिने यस मिसाइल प्रतिरक्षा प्रणालीले व्यालेष्टिक मिसाइललाई निशानामा पुग्नु अगावै बीचैमा नष्ट गरिदिन्छ । अमेरिकाले गतसाल पनि चीनको विरोधका बाबजुद दक्षिण कोरियामा मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेको थियो ।
कोरियाली प्रायद्वीपमा अमेरिकाले गरेको पछिल्ला गतिविधि र त्यसप्रति उत्तर कोरियाले जनाएको प्रतिक्रियाले क्षेत्रीय सुरक्षा सन्तुलनमा खतराको संकेत देखापरिरहेको छ । मंगलबार मात्रै अमेरिकाले सेना र हातहतियारले सुसज्जित पण्डुवी जहाज कोरियाली प्रायद्वीपमा पठाएको थियो । यसै अप्रिल ९ मा अमेरिकाले उत्तर कोरियाको सिमाना नजिकै आफ्नो युद्धपोत तैनाथ गरेको थियो ।