बाह्रसय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु

बाह्रसय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु

काठमाडौँ: आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहिता गोमा गुरुङले आठ जना छोराछोरी हुर्काइरहनुभएको छ। उहाँले उनीहरुलाई माया र कर्म दिइराख्नुभएको छ।

त्यतिमात्रै होइन गुरुङले अरु १७ जना छोराछोरीलाई उचित शिक्षादीक्षा दिएर हुर्काइसक्नुभएको छ। शिक्षा र रोजगारी पाएपछि समाजमा पुनःस्थापित भएका छोराछोरीमध्ये केहीका त नातिनातिना पनि भइसकेका छन्।

अविवाहित गुरुङजस्तै लक्ष्मी लिम्बू पनि त्यस्तै आमा हुन् जसले आफू बिहे नै नगरी यतिखेर नौ छोराछोरीको आमा बनेर उनीहरुलाई हुर्काइरहनुभएको छ। गोमा र लक्ष्मीजस्तै अर्की आमा लक्ष्मी घिमिरेको कथा भने अलि फरक छ। बिहेको अर्थ नै नबुझ्ने १३ वर्षे केटाकेटी उमेरमा उहाँको विवाह भयो।

बिहे गरेको एक वर्षमै उहाँले श्रीमान् गुमाउनुभयो। उहाँ अहिले आठ छोराछोरीको आमा बन्नुभएको छ।यसअघि घिमिरेले १७ जना छोराछोरीलाई हुर्काइ, बढाइ र पढाइसक्नुभएको छ।

यस्तै सीता गिरी आफ्नै कोखबाट जन्मेका दुई छोराछोरीको साथै आफ्नो नयाँ कर्मघरका नौ जना छोराछोरीको रेखदेख र स्याहारसुसार गरिरहनुभएको छ।

यतिखेर एसओएस बालग्राम सानोठिमीका १६ वटा घरका १६ जना आमा र आठ जना काकी त्यहाँ आश्रित १६० छोराछोरी स्याहार्न खटिनुभएको छ। उहाँहरु जस्तै मुलुकभरिका १० वटा एसओएस बालग्रामका एक हजार २०० छोराछोरीलाई स्याहार्न, रेखदेख गर्दै उनीहरुलाई सवल र सक्षम बनाउन १२८ जना आमा तथा ७५ जना काकी अहोरात्र खटिइरहनुभएको छ।

 

यसबाहेक बालग्रामबाट विद्यालय शिक्षा सकी डेरामा बसेर पढिरहेका अरु ६०० छोराछोरी पनि तिनै आमाको प्रत्यक्ष निगरानीमा रहेका छन्।कुशल आमाको जिम्मेवारी निर्वाह गरेबापत बालग्रामले उहाँहरुलाई विभिन्न सेवा सुविधा र पारिश्रमिक दिन्छ।ती आमाहरुले आफ्नो जीवनको उत्पादनशील उमेर र वैशालु समय तिनै छोराछोरीका लागि भनेर त्याग गर्दै आउनुभएको छ।

प्राकृतिक प्रकोपलगायत विभिन्न कारणले आफूलाई जन्मदिने बाबुआमा गुमाएका तिनै साना केटाकेटीलाई आमाको माया दिएर स्याहारसुसार र रेखदेख गर्दै दिनरात नभनी आमाहरु खटिनुभएको छ। बालग्रामले विभिन्न जातजाति, धर्म, समुदाय, परिवार र रहनसहनबाट आएका १० जना केटाकेटीलाई एउटा घरमा सँगै राखेर उनीहरुको मनोविज्ञान समेत बुझ्दै हुर्काउँदै आएको छ।

विगत ४२ वर्षदेखि यस्ता बालबालिकाको लागि काम गर्दै आएको विश्वव्यापी संस्था एसओएस बालग्रामले भक्तपुरको सानोठिमी, काठमाडौँको जोरपाटी, सुनसरीको इटहरी, कास्कीको छोरेपाटन, सुर्खेत, चितवन, लुम्बिनी, काभ्रे र कैलालीस्थित बालग्राममा आश्रित एक हजार २०० बालबालिकालाई तिनै आमाले रेखदेख गर्दै आउनुभएको छ।

“छोराछोरी र आमासहितको परिवार नै एसओएस बालग्रामको सिद्धान्त हो,” एसओएस बालग्राम सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपालले भन्नुभयो।संसारका १३४ मुलुकमा यसै सिद्धान्तमा रही एसओएस बालग्राम स्थापना भएका छन्।“बालग्रामका आमा पहिलो जिम्मेवार अभिभावक हुन्,” नेपालले भन्नुभयो– “आमाको अनुपस्थितिमा काकीले आमाको भूमिका निभाउँछन् ।” आमा, काकी र परिवारका छोराछोरीको सम्पूर्ण आर्थिक पाटो भने सम्बन्धित बालग्रामले व्यहोर्छ।

एसओएस बालग्राममा आमा या काकी बन्न त्यति सजिलो छैन।कम्तीमा १० कक्षासम्म पढेका, अविवाहित, श्रीमान् गुमाएका, एकल या परित्यक्त महिलालाई छनोट गरी उनीहरुलाई दुई वर्षसम्म सैद्धान्तिक र व्यावहारिक तालिम दिइन्छ।सुरुमा काकी (प्रशिक्षार्थी आमा) र उनीहरुले छोराछोरी हुर्काउनसक्ने खुवीका आधारमा आमा नियुक्त गर्ने प्रावधान रहेको निर्देशक नेपाल बताउनुहुन्छ।

केटाकेटी हुर्काउन सक्ने खुवी, बालमनोविज्ञान, सहनशीलतालगायतलाई मध्यनजर गरी आमाको नियुक्ति गरिने व्यवस्था छ।छोराछोरी हुर्काउँदै ६० वर्ष उमेर पुगेका या आमा भएर सेवा गरेका ३० वर्ष पूरा भएर सेवा निवृत्त भएका ती आमालाई बाँचुञ्जेलसम्म बस्नका लागि एसओएस बालग्रामले अलग्गै घर बनाइदिएको छ।यसलाई सेवानिवृत्त आमाको घर (रिटायर्ड मदर्स हाउस) भनिन्छ।

नेपालको पहिलो एसओएस बालग्राम सानोठिमीको स्थापनाको ४२ वर्षअवधिमा त्यस्ता सयाँैं छोराछोरी हुर्काएर सेवा निवृत्त भएका १६ जना आमा त्यस्ता घरमा बस्दै आउनुभएको छ भने सेवानिवृत्त भएपछि केही आमाहरु आफ्नै पुख्र्यौली घर फर्कनुभएको छ।अन्य बालग्रामबाट समेत सेवानिवृत्त भएका ५२ जना आमालाई बालग्रामले बाँचुञ्जेल आवास, सम्पूर्ण औषधि उपचार खर्च र निवृत्तिभरणको व्यवस्था गर्दै आएको निर्देशक नेपालले बताउनुभयो।

आमाहरुले आफ्नो जीवनभरि छोराछोरीलाई गरेको माया, रेखदेख, हेरचाह र निभाएको जिम्मेवारीलाई पैसामा तुलना गर्न नसकिने एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्ग बताउनुहुन्छ।दोस्रो विश्वयुद्धमा आमाबाबु गुमाएका सयौँं बालबालिकाको उद्धार गर्दै अस्ट्रियाका प्रा डा हर्मन माइनरले एसओएस बालग्रामको अवधारणा अघि सार्नुभएको हो।हाल संसारभरि हजारौं बालबालिकाले एसओएस बालग्राममार्फत स्याहार, सम्मान र शिक्षादीक्षा पाइरहनुभएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.