अधिकार खोस्ने संशोधन

 अधिकार खोस्ने संशोधन

अहिले राजनीति एउटा बन्द मानसिकताको सिकार बन्न पुगेको छ । विगत ११ वर्षमा संस्थागत रूप लिएको निषेधको राजनीति नै त्यसको मुख्य कारक बन्न पुगेको छ । ०६३ लगत्तै र अझ पहिलो संविधानसभा निर्वाचनपछि त्यो निषेधको राजनीति अघि बढाउन मधेसवादी शक्ति (अहिलेको मोर्चालगायत) को पूर्ण सहभागी भूमिका रह्यो, नेपाली कांग्रेस, एमाले र माओवादीसँग । संविधान जारी हुने अवस्थासम्म आइपुग्दा विभिन्न कारणले मोर्चा पनि निषेधको सिकार बन्न पुग्यो, त्यसअघि राजसंस्था परम्परावादी र अनुदारवादी शक्तिजस्तै । निषेधको राजनीतिबाट अन्ततः सर्वस्वीकार्य राजनीति र संविधान अगाडि बढ्न नसक्दो रहेछ भन्न बुझिने प्रमाण नेपाल बनेको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेपछि पनि निर्वाचन बहिस्कार घोषणा गरेको मोर्चालाई भित्र्ययाउने दलहरू र सत्ता गठबन्धनको प्रयासलाई सराहनीय मान्नैपर्छ, तर त्यो प्रयासबाट अरू जटिलता भित्रिएमा परिस्थिति बढी असहज हैन, अराजक पनि बन्नेछ । अक्सर सहमति निर्माणका नाममा अपारदर्शी चलखेल हुने गरेका छन्, नेताहरूबीच । तर संविधान संशोधनको लागि हुने जतिसुकै अपारदर्शी समझदारी पनि अन्ततः संसद् र सार्वजनिक जानकारीमा आउँछन् नै । त्यसले आम प्रतिक्रिया पनि उब्जाउँछ नै । अहिले त्यही भएको छ ।

मोर्चालाई निर्वाचनमा ल्याउने प्रयासस्वरूप मधेसका ११ जिल्लामा गाउँपालिका र नगरपालिका परिभाषित गर्ने मापदण्ड फेरिएका छन् । सरकारका तर्फबाट संसद्मा यसबारे धारणा राख्दा उपप्रधानमन्त्री कमल थापाले स्वयं पनि यो निर्णयको औचित्यसँग सहमत नभएको तर्क दिएका छन् । यो हचुवा निर्णयले निम्त्याउने प्रतिक्रियालाई सम्बोधन गर्ने उपाय छ कि छैन सत्तासँग । यसभन्दा पनि अर्को गम्भीर गल्ती र संवैधानिक अपराध गर्दैछ सरकारले । संविधानमा स्पष्ट लेखिएअनुसार केन्द्रीय संसद्को उपल्लो सदन अर्थात् राष्ट्रिय सभामा विशेष किसिमका सांसद चुन्न गाउँपालिका र नगरपालिकाका मेयर र उपमेयरलाई दिइएको अधिकार समाप्त गर्नेतर्फ उन्मुख छ यो संशोधन।

संविधानसभा र संविधान २०७२ मार्फत सुनिश्चित गरिएको अधिकारलाई ‘कामचलाउ' हैसियतमा झरिसकेको संसद्ले खोस्ने प्रयास गरेको छ । यसमा कानुनविद्समेतको गम्भीर असहमति छ । कसैले आन्दोलन या अन्य शैलीमार्फत आफ्नो लागि अधिकार माग्नु स्वाभाविक हो, तर स्थानीय तहका निर्वाचित मेयर र उपमेयरको अधिकार कटौती हुँदा आन्दोलन रोकेर निर्वाचनमा जाने मार्गप्रशस्त भएको मान्नु मूर्खता हो । स्थानीय तहबाट निर्वाचित मेयर र उपमेयरको अधिकारसँगै हैसियतमा कटौती प्रजातान्त्रिक मूल्य र मान्यताको हिसाबले प्रतिगमन मानिनुपर्छ ।

संसद्को उपल्लो सदनले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने अधिकार राख्छ, नियमित कानुन निर्माणमा आफ्नो भूमिका निर्वाहसँगै । स्थानीय तहका मेयर तथा उपमेयरले परोक्ष रूपमै भने पनि राष्ट्राध्यक्ष निर्वाचनको ‘इलेक्टोरल कलेज' को हिस्सा भएको अनुभूति गर्ने अवस्था बनेको थियो, उनीहरूलाई राष्ट्रिय सभा निर्माणमा संविधानले भूमिका दिएपछि । त्यो भूमिका र हैसियत खोसेर सरकारले संविधान र संविधानसभासँगै स्थानीय तहको हैसियत पनि ओरालेको छ ।

यो न्यायिक, नैतिक र संवैधानिक हिसाबले त्रुटिपूर्ण सावित हुनेछ र यसले राजनीतिक समस्या समाधानको मार्ग कोर्नुको साटो थप असहज परिस्थिति जन्माउनेछ । यस्तो संशोधनलाई आन्दोलन फिर्ता लिने तथा निर्वाचनमा भाग लिने पूर्वसर्त बनाएकोमा ‘मधेसी मोर्चा' आम जनताका नजरमा ‘खलनायक' बन्न पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.