ट्रम्पको आदेशको विपक्षमा फैसला
सान फ्रान्सिस्कोः अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना संघीय न्यायाधीशले फैसला गरिदिएका छन्।
क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो सुनुवाइपछि यस्तो निर्णय सुनाएको अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पाँच दिनपछि गत जनवरी २५ मा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने आदेश जारी गरेका थिए । सान फ्रान्सिस्को र सान्टा क्लारा प्रदेशले राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दिएका थिए ।
राष्ट्रपतिको आदेशले प्रदेशको अधिकार क्षेत्र मिचेको, प्रदेशलाई हस्तक्षेप गरेको र व्यावहारिक कठिनाइ नबुझेको अदालतको ठहर छ । यसका साथै न्यायाधीश ओरिकले एउटा अस्थायी निषेधाज्ञा जारी गर्दै अदालतबाट छिनोफानो नभइन्जेल राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका छन् । ‘हामी अमेरिकाको लोकतन्त्र र विधिको शासन र संविधानका लागि संघर्ष गर्यौँ र स्थापित पनि गर्यौँ, तर अहिलेको ट्रम्प प्रशासनले अमेरिकाको संविधान, विधिको शासन र लोकतन्त्रलाई समाप्त पार्न लागिरहेको छ', ट्रम्पको आदेशको विपक्षमा हुुनेको भनाइ छ । उनीहरूले जनता र देशको आवश्यकताअनुसार अदालतले निर्णय गरेको बताउँदै यसले देश र जनताको जित भएको बताएका छन् ।
मेक्सिकोसँगको सीमामा पर्खाल
अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने वचन फेरि दोहोर्याएका छन् । केही दिनअघि आर्थिक कारणले उक्त पर्खाल निर्माण स्थगित गरिने समाचार आइरहेका बेला ट्रम्पको यस्तो प्रतिबद्धता दोहोरिएको छ । उनले मंगलबार राति राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीसँग भने, ‘सिमानामा पर्खाल बन्नेछ ।' सरकारको आर्थिक अवस्था कष्टकर हुने बताउँदै रणनीतिक हिसाबले रिपब्लिकन पार्टीले पर्खाल बनाउने योजनामा पुनर्विचार गरिरहेको बताएको थियो ।
उक्त पर्खाल निर्माण गर्दा अमेरिकी अर्थतन्त्र असहज हुने आर्थिक विश्लेषकहरूको भनाइ छ । केही समयपूर्वसम्म ट्रम्पले पर्खाल लगाउँदा लाग्ने आधी खर्च मेक्सिकोले तिर्नुपर्ने बताएका थिए । मेक्सिकोले भने यस्तो रकम नतिर्ने स्पष्ट पारिसकेको छ । यसै विषयलाई लिएर ट्रम्प र मेक्सिकोका राष्ट्रपतिबीच मनमुटावसमेत भएको थियो ।
ट्रम्पले भने, ‘अझै पनि कसैको मनमा उक्त पर्खाल बन्दैन भन्ने छ भने त्यो विचार हटाइदिए हुन्छ । पर्खाल बनाइनेछ र मेक्सिकोबाट आउने लागू पदार्थ बन्द हुनेछ ।' उनले अमेरिका नआउनुपर्ने मान्छेलाई पनि उक्त पर्खालले रोक्ने बताए । पर्खालले संसारकै भीषण मानव तस्करी रोक्ने उनको कथन थियो । मानव तस्करीका बारेमा सबैले कुरा गर्ने तर त्यसलाई रोक्न कसैले पनि केही काम नगरेको अवस्थामा पर्खाल निर्माणबाट ठूलो उपलब्धि हुने ट्रम्पले बताए । अमेरिकी गृहमन्त्री जोन कैलीले पनि सिमानामा पर्खाल बनाउने काम अघि बढाउने तयारी भइसकेको ट्रम्पले जानकारी दिए ।