बुटवल धागो कारखाना लिजमा चलाउने निर्णय

बुटवल धागो कारखाना लिजमा चलाउने निर्णय

बुटवलः बन्द भएको आठ वर्षपछि बुटवल धागो कारखानालाई सरकारले निजीकरण गर्ने निर्णय गरेको छ । ०४८ सालमा सुतीको कपडामा आत्मनिर्भर हुने उद्देश्य सहित सरकारले धागो कारखाना सञ्चालनमा ल्याएको थियो। नेपालगञ्जमा कपास खेति, बुटवलमा धागो र त्यही धागोले हेटौडा कपडा कारखानाबाट कपडा उत्पादन गर्ने योजना सरकारको थियो ।

तर धागो उत्पादन गर्ने कारखाना नोक्सानमा गएपछि ०६६ भदौबाट बन्द भयो । आठ वर्षदेखि उद्योग बन्द हुदा त्यहा रहेको भौतिक संरचना र मेसिनहरु जीर्ण भएका छन् । लामो समय उद्योगको विषयमा सरकारले निर्णय गर्न नसकेपछि उद्योगी व्यवसायीहरुले निजीकरण गर्न माग गरेका थिए ।

उद्योग निजीकरण ऐनमा रहेका विभिन्न मोडलमध्ये लिज मोडल (भाडामा दिने) अपनाएको हो । ‘लिज मोडल अनुसार उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ, अव त्यसै अनुसार प्रक्रिया अघि बढ्छ, उद्योग मन्त्रालयका प्रवक्ता सह-सचिव पुरुषोत्तम नेपालले भन्नुभयो । सरकारले बुटवल धागो कारखानासंगै विरगञ्ज चिनि कारखानालाई पनि लिजमा सञ्चालन गर्ने निर्णय गरेको हो । लिजमा दिनुअघि प्राविधिकहरुले बुटवल धागो कारखानाको अध्ययन गर्नेछन् । ‘प्राविधिकहरुको मुल्यांकनको आधारमा के कति भाडा निर्धारण भन्ने विषयको टुंगो लाग्नेछ, सहसचिव नेपालले भन्नुभयो ।

उद्योग भाडामा सञ्चालनमा लिनेले धागो नै उत्पादन गर्नुपर्नेछ । धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्माका अनुसार बुटवल औद्योगिक क्षेत्रको १ सय ४३ दशमलव ७ रोपनी क्षेत्रमा फैलिएको कारखानाको उत्पादन क्षमता १० मेक्ट्रिकटन रहेको छ । तर कमसल मेसिनका कारण ७ मेक्ट्रिकटनभन्दा बढी उत्पादन हुन सकेको थिएन ।

बुटवलबाट धागो उत्पादन बन्द भएपछि पहाडी क्षेत्रमा हुदै आएको व्यवसायिक कपास खेती समेत मासिएको छ । यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको मन्त्रिपरिषदले सार्बजनिक संस्थानलाई अध्ययन गर्न निर्देश गरेको थियो । समितिले अध्ययन गरी ०७० मा निजी क्षेत्रलाई सञ्चालनका लागि दिन सकिने विकल्पसहितको प्रतिबेदन बुझाएको थियो । तर त्यो प्रतिवेदनको कार्यान्वयन हुन सकेको थिएन ।

०६७ साल यता बनेका उद्योगमन्त्रीहरुले हरेक पटक धागो कारखानाको अवलोकन गर्दै छिट्टै सञ्चालनमा ल्याउने बताएका थिए । पूर्व उद्योगमन्त्रीहरु अनिल झा, कर्णबहादुर थापा, महेश बस्नेत, सोमप्रसाद पाण्डेले कारखानाको अवलोकन गरेका थिए । लामो समय बन्द भएकाले उद्योगको भित्र उज्यालो वत्ती समेत नबल्ने भएको छ । उद्योगहरु समेत जीर्ण भएका छन् । सरकारले निर्णय गरे पनि धागो उत्पादनका लागि अहिलेकै मेसिनले प्रतिष्पर्धा गर्न कठिन हुने उद्योगहरु बताउछन् ।

यसअघि कारखाना बन्द भएपछि सर्वपक्षीय व्यवस्थापन समितिले पाँच महिना उद्योग सञ्चालन गरेको थियो । तत्कालीन समितिका संयोजक नवराज श्रेष्ठले मेसिनहरु परिवर्तन गरी क्षमता विस्तार गर्ने विकल्पमा उद्योग सञ्चालन गर्न दिए उत्पादन गर्न सक्ने बताउनुभयो । ‘यथास्थितिमै सञ्चालनका लागि पनि १२ करोड पुजी लगानी गर्ने उद्योगी आउनुपर्छ, उहाले भन्नुभयो-‘मेसिन मर्मत र परिवर्तन गर्ने विकल्प सरकारले दिए उद्योग सञ्चालन गर्न सकिन्छ ।'

पाँच महिना उद्योग चलाउदा नेपालको रिलायन्स कम्पनी र गोरखपुरका उद्योगीले हात हालेका थिए । तर सरकारले पुजी लगानी गर्न नसकेपछि बन्द गरेको श्रेष्ठले बताउनुभयो । सर्वपक्षीय समितिमा उद्योगीका संस्थाका प्रतिनिधी, मजदुर, प्रवन्धक, राजनीतिक दल र प्रशासनका व्यक्तिहरु सदस्य थिए । पाच महिना उद्योग चल्दा ३ सय जनाले रोजगारी पाएका थिए ।

उद्योग सञ्चालनका लागि मर्मतमा ४ करोड र ८ करोड पुँजीगत लगानी आवश्यक हुने बताइएको छ । नेपालमा कपास उत्पादन नभएकाले सुतिको धागो नै उत्पादन हुने सम्भावना भने कम रहेको छ । तत्कालीन समयमा नेपालगञ्जको खजुरामा कपास उत्पादन हुदै आएको थियो । तत्कालीन माओवादीद्वन्द्वका बेला कपास उत्पादन बन्द भएको थियो । अहिले धागो उत्पादन गर्न भारतबाट पोष्टिटर र फाइबर ल्याउने र भारतमा नै बिक्री गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले आयातित धागोसंग प्रतिष्पर्धा गर्नका लागि मेसिनहरु परिवर्तन गर्ने पर्ने बताउनुभयो । ‘भाडामा दिने निर्णय उद्योगीहरुको माग अनुसार नै भएको छ, उहाले भन्नुभयो-‘उद्योगका मेसिनहरुको परिर्वतन गरी नया स्वरुपबाट काम गर्नुपर्छ ।' उद्योगका मेसिनहरु परिवर्तन गर्ने नगर्ने भन्ने विषय भने विज्ञहरुको टोलीले छिनोफानो गर्ने छ । उद्योग मन्त्रालयका सहसचिव नेपालले विज्ञहरुको सुझावको आधारमा अन्य प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उद्योगलाई निजीकरण गर्ने निर्णय यस क्षेत्रका उद्योगीहरु उत्साहित भएका छन् । ५९ दशमलव ५ प्रतिशत सरकारको लगानी रहेको कारखानामा करिव ७ प्रतिशत सर्वसाधारणको शेयर छ । जनकपुर चुरोट कारखाना, साल्ट ट्रेडिङको पनि शेयर रहेको छ । यसअघि कारखाना निजी क्षेत्रलाई सञ्चालनका लागि दिइने फाइल मन्त्रालयमा थन्किए पछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्वामित्वमा दिन माग गरेको थियो । धागो कारखाना नै चलाउन सके चलाउने र नसके सो जग्गामा अन्य उद्योग चलाउन स्विकृति दिने योजना लिमिटेडको छ । अहिले धागो कारखानामा आवश्यक पर्दाका दिन छोड्ने सर्तमा नेपाल प्रहरीको दंगा नियन्त्रण गण बसिरहेको छ ।
बुटवल धागो कारखानाको जीर्ण बनेका मेसिनहरु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.