अब अष्ट्रेलिया जाँदा सबै बैंकबाट कागज बनाउन सकिने
काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले भिषा प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकबाट इजाजा प्राप्त ‘क’ वर्गका सबै बैंकबाट आवश्यक कागजपत्र बनाउन पाउने भएका छन्।
नयाँ दिल्लीस्थित हाइ कमिसनले हालै ‘क’ वर्गको सबै बैंकबाट बनाइएको कागजपत्रलाई मान्यता दिने निर्णय गरेको हो। यसअघि नबिल बैंक र नेपाल एसबीआई बैंकबाट बनाइएको कागजपत्रलाई मात्र हाइ कमिसनले मान्यता दिँदै आएको थियो।
सीमित बैंकलाई मात्र यस्तो अनुमति दिँदा विद्यार्थीहरु समस्यामा पर्ने गरेको गुनासाहरु आउन थालेपछि विद्यार्थीको सहजताका लागि यस्तो निर्णय गरिएको दूतावासले बताएको छ।
नेपालमा अष्ट्रेलियन दूतावास रहेपनि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले भिषा प्रक्रियाका लागि आवश्यक कागज दिल्ली पठाउनुपर्ने बाध्यता छ।
हाइ कमिसनको निर्णयलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले स्वागत गरेको छ। संघले बिहीबार पत्रकार सम्मेलन गरेर नेपाली विद्यार्थी र अभिभावकले सुविधा प्राप्त गर्नुको साथै बैंकहरुले पनि गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा दिनेमा आफूहरु विश्वस्त रहेको संघ अध्यक्ष प्रकाश पाण्डेले बताए।
संघका तृतीय उपाध्यक्ष विष्णुहरि पाण्डेले नयाँ व्यवस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सहज हुने विश्वास व्यक्त गरे।