प्रान्तीय सीमा

प्रान्तीय सीमा

सम्भवतः निर्वाचनको सम्भावना अब धेरै हदसम्म घटेको छ । सबै पक्षलाई रिझाउने क्रममा सरकारले धेरैलाई चिढाएको छ, जसले निर्वाचनको लागि अनिवार्य मानिने माहोल खल्बलाउनेछ । मधेसी मोर्चालाई लिखित सहमतिमा नल्याईकनै ११ जिल्लामा स्थानीय निकायहरुको संख्यामा घटबढ गर्ने र त्यसलाई परिभाषित गर्ने मापदण्डसमेत सरकारले प्रस्तावित गर्‍यो र २४ घन्टापछि फिर्ता गर्‍यो । यो प्रवृत्तिले सरकार समस्याको वास्तविक स्वरुपसँग परिचित नरहेको देखाउँछ ।

वास्तविक स्वरुपसँग अपरिचित सरकार या राजनीतिक शक्तिले समाधान फेला पार्न सक्दैनन् । त्योसँगै स्थानीय तहका जनता र उनीहरुद्वारा निर्वाचित मेयर र डेपुटी मेयरको संविधानप्रदत्त अधिकारमा घटुवा गरी जनता र प्रतिनिधि दुवैलाई अपमानित गर्ने काम गरेको छ, अर्को संशोधन प्रस्तावद्वारा । त्यसले निम्त्याउने प्रतिक्रियाबारे नसोची संशोधन ल्याएर निर्वाचनको वातावरण खल्बलिने सम्भावना सरकार स्वयंले बढाएको छ ।

यसैबीच मन्त्रिपरिषद्ले अरिंगालको गोलोरुपी प्रान्तीय सीमा विवादमा हात हालेको छ कुसमयमा । प्रस्तावित प्रदेश सीमांकन फेरबदल गरी मन्त्रिपरिषद्ले बुधबार नवलपरासीको दाउन्नेभन्दा माथिको भागलाई प्रदेश नम्बर ४ मा राखेको छ । अहिले स्थानीय निर्वाचनको तयारीकै बीच त्यसमा आइपरेका व्यवधानलाई आपसी समझदारी तथा सहमतिद्वारा सुल्झाउने प्रयासको साटो प्रान्तीय सीमा हेरफेरमा समेत प्रवेश गर्दा त्यसले परिस्थिति झन् जटिल बनाउनेछ । त्यति मात्र हैन, यसले केही दिन प्रदेश नम्बर ४ र प्रदेश नम्बर ५ को सीमा विवादलाई लिएर चलेको हिंसात्मक आन्दोलन अहिले निलिम्बत अवस्थामा छ ।

कुनै पनि उक्साउने खालको गतिविधिले त्यसमा आगोको काम गर्न सक्छ । प्रान्तहरुको सीमासम्बन्धी विवादलाई दाउन्नेभन्दा माथिको क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेर मात्र समाधान हुन सक्दैन । त्यसमा अन्य क्षेत्र र विषय पनि विवादित छन् । व्यापक बहस, प्रशासनिक, आर्थिक, भौगोलिक र सामाजिक आयामसँग जनताको चाहनालाई बेवास्ता गरेर समाधान पाउन सकिन्न ।

चाहे संविधान लेखन र अन्तिम निर्णयको विषय होस् या महत्वपूर्ण मुद्दामा निर्णय होस्, ठूला तीनचार पार्टीका ठूला नेताहरुले आआफ्नो स्वार्थलाई केन्द्रमा राखी फैसला गरेका छन् । त्यो फैसलालाई संसद्मार्फत जनतामा लादिएको छ । संघीयताको औचित्यबारे सिद्धान्ततः कहिल्यै बहस नभएकाले नै त्यसबारे र प्रान्तको सीमाबारे स्वीकार्य सहमति बन्न नसकेको हो ।

हालै मात्र प्रान्तीय सीमा तथा क्षेत्रमा हेरफेरसम्बन्धी प्रावधानलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने तयारी भइरहँदा बीचैमा प्रदेश नम्बर ४ सम्बन्धी निर्णय सरकारले लिनुलाई पक्कै पनि केही नेता या दलको स्वार्थसँग जोडेर हेरिनेछ भोलि ।

अहिलेको प्राथमिकता र सरकारको अनिवार्य दायित्व स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो । त्यसपछि दीर्घकालीन महत्वका विषयलाई चलाएर निर्वाचनप्रतिकूल वातावरण बनाउने कुनै पनि काममा सरकारले अग्रसरता देखाउनु प्रत्युत्पादक बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.