जीवनको रङ पर्खंदै छु : नविता पौड्याल
अमेरिका बस्दै आएकी नविता पौड्याल नेपाली संगीतमा आफ्नो अस्तित्व खोज्न थालेकी छन् । उनको पहिलो एल्बम चाँडै बजारमा आउँदैछ । एल्बमका केही गीत रिलिज भइसकेका छन् । केहीको भिडियो पनि बनिसकेको छ । न्ह्यु वज्राचार्यको संगीतमा आफूले गाएका गीतले नेपाली संगीतमा परिचय बनाउने विश्वास उनको छ । नवगायिका नवितासँग विनीता मरहट्टाले गरेको कुराकानी
१. गायनमा लाग्ने सोच कसरी आयो ?
संगीतमा आउने पहिलादेखिकै इच्छा थियो । यो जन्ममा संगीतमा लाग्न सक्ने जस्तो परिस्थिति थिएन तर स्थिति सुध्रिएर आयो त्यसैले यो मौका पाएँ ।
२. पैसा कमाएपछि गीतसंगीतको सोख पूरा गर्नेहरू थुप्रै छन्, तपाईंलाई पनि त्यस्तै भएको हो ?
सोख पूरा गर्छु भनेरै सुरु गरेकी हुँ तर जब एउटा गीत सकिन्थ्यो फेरि अर्को गाउन मन लाग्थ्यो अनि आफूलाई सदाको भन्दा शान्त महसुस गर्न थालेँ । त्यसपछि संगीतमै लाग्ने निधो गरँे । सोख पूरा गर्न त एउटामात्र गीत गरेपछि पुग्थ्यो । तर मेहनत गरेर छोटो समयमा आठवटा गीत रेकर्ड गरेँ ।
३. कस्तो गीत गाउन मनपर्छ ?
मलाई जस्तो गीत पनि मनपर्छ, खाली कुन समयमा कस्तो गीत गाउने भन्ने मात्र हो ।
४. तपाईंको आगमनबाट नेपाली संगीतले के पाउँला ?
एउटा यस्तो धन जुन नासिने छैन ।
५. संगीत उद्योगमा कस्तो योगदान गर्न चाहनुहुन्छ ?
म निरन्तरतामा विश्वास गर्छु । त्यसैले नेपाली संगीतमा निरन्तर लाग्ने, गीत रेकर्ड गर्ने चाहना छ । म नयाँ र मीठामीठा गीतमा स्वर दिएर श्रोतालाई शान्त र आनन्दको अनुभूति गराउने प्रयास गर्छु ।
६. अमेरिकामा नेपाली गीत संगीतको स्कोप ?
नेपालीको जनसंख्या कम छ तर समयसमयमा कुनै प्रान्तमा कार्यक्रम हुँदा नेपाली गायकगायिका आउनुहुन्छ । त्यो हिसाबले हेर्दा ठीकै छ ।
७. अमेरिकामा बसेर नेपाली संगीतमा स्थापित हुन सकिएला त ?
देश बाहिर बसेर धेरै गारो रहेछ । किनभने गीत रेकर्ड गर्नदेखि भिडियो बनाउन, सञ्चारमाध्यममा प्रसारण एवं अन्य कार्यक्रमका लागि आउने जाने खर्च बढी हुन्छ । यहाँका कार्यक्रममा सहभागी हुन नपाउँदा श्रोताको नजिक हुन पनि पाइँदैन ।
८. अविवाहित गायिकाले त विवाह गरेपछि आफ्नो करियर छोड्नुपर्ने अवस्था आउँछ । तपाईं विवाहपछि संगीतमा करियर खोज्दै हुनुहुन्छ कत्तिको सजिलो छ ?
यो धेरै गम्भीर प्रस्न हो तर उत्तर सजिलो छ । विवाहपछि अप्ठ्यारो भनेकै पारिवारिक जीवनशैलीमा बाँधिनु हो । जसले आफ्नो इच्छामा ध्यान दिने समय हुँदैन । सम्बन्ध त दुवैजनाले गाँसेको हो । आफ्नो जीवनसाथीले साथ दिन्छ भने जस्तो अप्ठ्यारो परिस्थिति आइपर्दा पनि जाइलाग्न सकिन्छ ।
९. संगीतकर्ममा पतिले के भन्नुहुन्छ ?
श्रीमानले मलाई धेरै सहयोग गर्नुहुन्छ । 'तिमीले हाम्रो संसार बनाउन यति मेहनत गरेकी छौं म पनि तिम्रो सपना पूरा गर्नलाई पछि पर्दिन भन्नुहुन्छ । त्यसैले मलाई विवाहपछि संगीतमा प्रवेश गर्दा कुनै अप्ठ्यारो परेको छैन । हेर्दै जाउँ जीवनले कस्तो कस्तो रङ देखाउँछ ।