मिस पिंक हुनुको गर्व

मिस पिंक हुनुको गर्व

थाइल्यान्डमा आयोजना गरिएको 'मिस पिंक क्विन इन्टरनेसनल २०१६'मा आफ्नो प्रतिभा देखाएर भर्खरै नेपाल फर्किएकी छन् एनी लामा । नेपालमा आयोजना भएको 'मिस पिंक २०१६'मा अठारजना तेस्रोलिंगी प्रतिस्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेर उनले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डका लागि बाटो खोलेकी थिइन् ।

प्रतियोगितामा सहभागी भई थाइल्यान्डमा बिताएका १० दिन अविस्मरणीय भएको उनको भनाइ छ । '२६ मुलुकका ३० जना तेस्रोलिंगी सुन्दरीसँग बिताएका १० दिन अविस्मरणीय रह्यो । धेरै कुरा सिक्ने र बुझ्ने मौका मिल्यो', एनीले भनिन्, 'मेरो रुम पार्टनर म्यानमारकी थिइन् । हामी एकअर्काको भाषा नबुझ्ने भएकाले इशारामा कुरा गथ्र्यौं । तर उनी एकदमै सहयोगी थिइन् ।'

MISS_pink

एनीका अनुसार भारतकी प्रतियोगी पनि मिलनसार थिइन् । आफ्नो मुलुकमा तेस्रोलिंगीलाई कसरी हेरिन्छ भन्ने उनीहरू सुनाउँथे । थाइल्यान्ड, फिलिपिन्स, म्यानमारजस्ता मुलुकमा तेस्रोलिंगीहरू समाजमा घुलमिल भइसकेका छन् । सरकारले जेजस्तो गरे पनि समाजले स्वीकार गरिसकेको सहभागीहरूको भनाइ थियो । तर मलेसिया, इन्डोनेसिया लगायतका केही मुलुकमा भने नेपालको जस्तै अवस्था रहेछ । सरकारी तवरबाट तेस्रोलिंगीलाई स्वीकारे पनि समाजले अझै स्थान दिएको छैन ।

 

प्रतियोगितामा अन्य प्रतिस्पर्धीको भन्दा फरक तर उत्कृष्ट खाले परिचयात्मक भिडियो थियो उनको । उक्त भिडियो देखाउँदा हलमा तालीको गडगडाहट छाएको थियो । भिडियो नेपालमा तेस्रोलिंगीलाई कसरी हेरिन्छ भन्ने विषयमा आधारित थियो । 'मेरो भिडियोलाई अवार्ड दिने भनिएको थियो तर त्यो टाइटल आयोजकले अन्त्यमा झिके', एनीले भनिन्, 'किन त्यसो गरियो मलाई थाहा भएन ।'

अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्रिनु उनका लागि उपलब्धिमुलक भयो । 'मैले त्यहाँ मिस वल्र्ड, मिस युनिभर्सलाई सिकाउने कोरियोग्राफरबाट क्याटवाक गर्ने, बस्ने, बोल्ने, खानेलगायतका धेरै कुरा सिक्ने मौका पाएँ । त्यो मेरो लागि महत्वपूर्ण भयो ।'

प्रतियोगितामा समावेश गरिएको मिस ट्यालेन्ट उपाधिको उत्कृष्ट चारमा परेकी एनीले आफ्नो मुलुकलाई कसरी चिनाउन सकिन्छ भन्नेमा केन्द्रित भएर प्रस्तुति दिएको बताइन् । उनले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले 'माइतीघर' बोलको गीतमा सांस्कृतिक नृत्य देखाएकी थिइन् । तर, 'मिस ट्यालेन्ट'को उपाधि इटालीकी प्रतियोगीले जितिन् जो त्यहाँकी चर्चित गायिका पनि हुन् । 'मिस पिंक क्विन इन्टरनेसनल २०१६ को उपाधि भने थाइल्यान्डकै प्रतियोगीले जितिन् ।

संयोग पनि उस्तै, मुलुकलाई चिनाउन इच्छुक एनीको भागमा प्रश्न पनि त्यस्तै पर्‍यो । एनीलाई नेपालमा तेस्रोलिंगीको अवस्था कस्तो छ भन्ने प्रश्न निर्णायकले सोधेका थिए । उत्तरमा उनले नेपाल सरकार तेस्रोलिंगीको पक्षमा उदार बने पनि समाजमा चाहे जति खुल्न नसकेको र समाजले पनि स्विकारी नसकेको बताएकी थिइन् । उनले नेपाललाई धनी देशको सूचीमा हेर्न चाहेको र धेरै संख्यामा रहेका तेस्रोलिंगी जनशक्ति खेर गइरहेको बताएकी थिइन् ।

तेस्रोलिंगीले रोजगारीका लागि सरकार र नीलहीरा समाजको मुख ताक्नुभन्दा आफंैले केही गर्नुपर्छ भन्ने लागेको उनको भनाई छ । खासगरी मोडलिङ, डिजाइनिङ, मेकअप आर्टिस्टका रूपमा आफूले केही गर्न चाहेको उनले खुलाइन् । 'नेपाल फेसन इन्स्टिच्युट'मा दोस्रो सेमेस्टर अध्ययन गरिरहेकी एनी भन्छिन्, 'आफूले सिकेको सीप तेस्रोलिंगीलाई सिकाउन चाहन्छु ।' उनको बुझाइमा तेस्रोलिंगीमा केही न केही क्षमता हुन्छ, मेकअप गर्न उनीहरू बच्चादेखि माहिर हुन्छन् । उनले मेकअप आर्टिस्टको कोर्स चार वर्षअगाडि नै लिएकी थिइन् ।

खाना बनाउन समेत सिपालु एनीले मिस पिंक क्विन इन्टरनेसनलको रिहर्सलमा आफैंले बनाएको पिंक रङको गाउन लगाएकी थिइन् । प्रतियोगिताको फाइनलमा भने डिजाइनर यूबी थापाले बनाएको पहिरनमा उनी स्टेजमा देखा परेकी थिइन् । एनी आफ्नो उत्प्रेरणाको स्रोत तेस्रोलिंगी मोडल अञ्जली लामालाई मान्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.