सामूहिक बलात्कारमा संलग्न तीन थुनामा
विराटनगर : मोरङको केरावारी ६ मा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत मोरङले तीन जनालाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर घटनाको अनुसन्धान अघि बढाउन आदेश दिएको स्रेस्तेदार नवराज दुलालले बताउनु भयो।
अदालतले केरावारी गाउँपालिका ६ का २१ वर्षीय कञ्चन तामाङ, २३ वर्षीय राजु तामाङ र २६ वर्षीया कालु भनिने हिमा दोर्जे तामाङलाई थुनामा राख्न आदेश दिएको हो।
तीन जना मिलेर गत चैत १९ गते १५ वर्षीया किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि घटनामा संलग्नलाई पक्राउ गरेर प्रहरीले जबरजस्ती करणी सम्बन्धी मुद्धा चलाएको थियो।